महाकविको ११७औं जन्मजयन्तीमा कवि एवं पत्रकार राजेश पुरस्कृत

महाकविको ११७औं जन्मजयन्तीमा कवि एवं पत्रकार राजेश पुरस्कृत


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती चन्द्रगढी (झापा)मा कार्तिक ४ गते विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

देवकोटा स्मारक संरक्षण समिति, चन्द्रगढी (भद्रपुर–९) को आयोजनामा बाल कविताका प्रतियोगी, उत्कृष्ट विद्यार्थी सम्मान र मनोरथ दाहाल स्मृति काव्य पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गरिएको हो ।

भद्रपुरका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य र समितिका अध्यक्ष राजु बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि, स्तम्भकार एवं वरिष्ठ पत्रकार राजेश ढुंगानालाई २० हजार नगदसहित मनोरथ दाहाल स्मृति काव्य पुरस्कारबाट तथा प्रौढ कवि गणेशप्रसाद नेपाललाई स्रष्टा सम्मानबाट सम्मानित गरिएको थियो ।

साथै, कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने सुप्रभा नेपाललाई एआई वैज्ञानिक डा. परशुराम दाहालद्वारा स्थापित जेहेन्दार छात्रबृत्ति रकम हस्तान्तरण गरिएको थियो ।

महाकवि देवकोटाको कृतित्व बारे सेवानिवृत्त सहप्राध्यापक होम सुवेदीले पुरस्कृत प्रतिभा ढुंगानाका बारेमा प्रेस क्लब–भद्रपुरका अध्यक्ष एवं साप्ताहिक समाचारका सम्पादक राजबाबु शंकरले र सम्मानित स्रष्टा नेपालका बारेमा कवयित्री लता खरेलले प्रकाश पारेको कार्यक्रममा बाल कविता प्रतियोगितामा श्रद्धा रेग्मी – प्रथम, सुमन रेग्मी – द्वितीय, पूर्णिमा रिमाल – तृतीय भएका थिए भने रीमा सापकोटालाई सान्त्वना पुरस्कार दिइएको थियो ।

समितिका उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत र सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा काव्य पुरस्कार–संस्थापक परिवारका तर्फबाट नेपाल सरकारका सहसचिव समेत रहेका भद्रपुर–९ निवासी कुमार दाहालले मन्तव्य राखेका थिए ।