कोही पनि धनी छैनन् यो देशमा

कोही पनि धनी छैनन् यो देशमा


-वसन्तराज कुँवर
मेरो गाउँमा एउटा कुवा थियो । मेरी ठूली आमाले त्यो कुवाको पानी संसारकै मीठो हो भन्नुहुन्थ्यो । त्यसैले बाल्यावस्थामा त्यो कुवाको पानी नै संसारको सबैभन्दा मीठो पानी हो भन्ने मलाई लागेको थियो । भ्यागुताका बच्चा र लेउले ढाकिएको त्यो कुवाको पानी संसारकै मीठो नभई बरु पिउनयोग्य नै नभएको कुरा मैले संसार घुमेर देखे-जानेपछि मात्रै बुझेँ । मेरी ठूली आमाको जीवन त्यही गाउँमै बित्यो र उहाँका लागि त्यही कुवाको सेरोफेरोमा मात्र संसार सीमित थियो ।
गाउँमा हाम्रो घर झिँगटीको थियो । अन्य केही घरहरू छ्वालीले छाएका थिए । ती घर झिँगटीले छाएकाको तुलनामा गरिब मानिन्थे । झिँगटीवालाहरूले चाहिँ जस्ताको छानो लगाएकालाई धनी मान्थे । ढलान गरिएको घरलाई मुण्डा घर भनिन्थ्यो । मेरा बुबाले विदेशबाट फर्किएपछि बाँसको दलिन हालेर एक कोठाको मुण्डा (ढलान गरिएको) घर बनाउनुभयो । त्यतिबेला हाम्रो सान नै बेग्लै भयो । मलाई लाग्यो हामी निक्कै धनी रहेछौँ । जब मैले सहर आएर ठूला घरहरू देखेँ, अनि मलाई लाग्न थाल्यो- हामी त गरिब नै रहेछौँ ।
पछि आएर संसार घुम्ने क्रममा न्युयोर्कको टाइम्स स्क्वायरका घरहरूदेखि मलेसियाका टावरसम्म हेरेपछि मैले आफ्नो मुण्डा घर सम्झेँ । संसारले गरेको विकास र प्रगतिको दाँजोमा त्यो त शौचालय बनाउन पनि लायक रहेनछ । त्यही मेरो मुण्डा घरको कत्रो सान थियो । गाउँ तल घट्टमा बस्ने बाउचा, पाकामाइलाहरूका नजरमा मेरा बुबाले बनाउनुभएको घर सम्पन्नताको प्रतीक थियो तर टाइम्स स्क्वाएरका मान्छेले हेर्दा त त्यो शौचालयका लागिसमेत लायक रहेनछ । संसारका अनगिन्ती मुलुक र त्यहाँको जीवनस्तर, बाटाघाटा र विशाल-विशाल भवन देखेर फर्केपछि मैले यही निष्कर्ष निकालेँ- नेपालमा कोही धनी छैनन् । सुकुम्बासी भएर खोलाका बगरमा गिट्टी कुट्नेहरूले घट्टो थापेर छाप्रामा बसेको कसैलाई धनी देखेका छन् । खेत नहुनेले खेत हुनेलाई धनी देखेका छन्, छाप्रोले झिँगटी र टायललाई, टायलले एकतले पक्की घरलाई, पक्कीले अलि बढी तल्ला भएको पक्की घरलाई । खेत हुनेले आफूले खाएर थोरै अन्न बेच्न पुग्नेलाई धनी देखेका छन् । अन्न बेच्नेले धान कुट्ने मिल राख्नेलाई धनी देखेका छन् । धान कुट्ने मिलले चाउचाउ बनाउनेलाई धनी देखेका छन् । साइकल नहुनेले साइकलवालालाई धनी देखेका छन् । साइकलले मोटरसाइकललाई र मोटरसाइकलवालाले मोटर हुनेलाई धनी देखेका छन् ।
हुन त कम्युनिस्टहरू वर्गका कुरा गरेर धनी र गरिब छुट्याउँछन् । आफू गरिबको पार्टी भएको दलिल दिन्छन् र नेताहरू धनी जीवनशैली अपनाउँछन् । तर, मेरो बुझाइमा भने नेपालमा धनी र गरिब भन्ने नै छैनन् ।
पछिल्लोपटक अमेरिका पुग्दा त्यहाँको ग्रामीण क्षेत्रका किसानहरूले आफ्नै हवाईजहाज राखेको मैले देखेँ । उनीहरू हवाईजहाज उडाएर खेतमा कीटनाषक औषधि छर्दा रहेछन् । म भने मेरो गाउँ साङ्लेखोलास्थित घरको सानो आँगनमा झुसी पारी राखिएको ५० मुरी धान हेरेर नै आफूलाई धनी ठानिरहेको रहेछु । यो सम्झँदा मलाई आफंैमाथि टीठ लाग्यो ।
अस्ट्रेलियाको एक कारखानाको जनसम्पर्क अधिकृतसँग इन्डोनेसियामा मेरो भेट भयो । उनले भने, ‘हाम्रो कारखाना सामाजिक दायित्वको क्षेत्रमा दक्षिण एसियामा केही सहयोग गर्न चाहन्छ ।’ मैले सोधेँ, ‘कारखानासँग यसरी सहयोग गर्ने रकम हुन्छ र ?’ उनले भने, ‘हामीले कमाएको नाफाबाट ६ प्रतिशत सामाजिक हितमा खर्च गर्नुपर्ने नियम छ । यही रकम हामी नेपालका सामाजिक संस्थालाई दिन चाहन्छौँ ।’ मलाई थप जिज्ञासा भयो र सोधेँ, ‘६ प्रतिशतले कति रकम हुन्छ र त्यसरी खर्च गर्ने ?’ उनले भने, ‘हाम्रो कारखाना ज्यादै ठूलो त होइन तर पनि ३० लाख अस्ट्रेलियन डलरबराबर रकम बाँड्न सक्छौँ ।’ यो सुन्दा झन्डै मेरो सातो नै गयो । त्यो रकम नेपाली रकममा लगभग २० करोड हुन आउँछ । एउटा साधारण भनिने कारखानाले सामाजिक दायित्वमा छुट्याएको रकम मेरा लागि अकल्पनीय परिमाणको थियो । त्यस दिन मैले नेपालका चाउचाउ, फ्रुटी वा फलाम कारखानाहरूलाई सम्झेँ । बैंकका ऋणबाट चलेका अनि मजदुर युनियनको मारमा परेका, उद्योग मन्त्रालय र कर कार्यालयबाट सताइएका अनि राजनीतिक हडताल र बन्दका कार्यक्रमबीच उत्पादन नभए पनि कर्मचारी पाल्दै आएका ती निरीह उद्योगपतिहरू सम्झेर मलाई त्यसै क्षणबाट दया जाग्यो । अझ बिचराहरूलाई लाखौंलाख चन्दा पठाएर पनि उद्योग बन्द गरी फिस्स हाँस्नुपर्ने बाध्यता त छँदै थियो । मैले त यिनै उद्योगपतिहरूलाई नै नेपालका ठूला धनी व्यक्ति ठानिरहेको थिएँ । तर, त्यस दिन इन्डोनेसियामा भेट भएको साथीले मेरो यो सोचाइमा परिवर्तन ल्याइदियो । हवाईजहाज बनाउने कम्पनीदेखि तेलका कुवाहरू र विशाल कलकारखानाहरू तथा व्यापारिक महहरू देखेपछि मैले बुँझे- नेपालमा व्यापारीहरू धनी छन् भन्नु पनि मैले परालको घरछेउ टायलको घरलाई धनी मानेझैं मात्र रहेछ ।
आजको संसारमा मान्छेको जन्म राज्यका लागि खुसीको विषय हुने गर्छ । बच्चा जन्माउने आमाबाबुले नै बच्चालाई गाली गर्न नपाउने व्यवस्थासमेत राज्यले मिलाएको छ । बच्चा जन्मनेबित्तिकै युरोप-अमेरिकामा उसको नाममा भत्ता दिइने गरिन्छ । म जन्मेको देशमा राज्यले सिटामोलसमेत दिँदैन । त्यही नेपालका सरकारी अस्पताललाई नै मैले भयङ्कर अस्पताल ठानिरहेको रहेछु । यसपटक बेलायतमा रहँदा स्वास्थ्य परीक्षणको सिलसिलामा चर्चिल भन्ने अस्पताल पुगेँ । त्यहाँ होटलको जस्तै रिसेप्सन हुँदोरहेछ । पालो आएपछि डाक्टर आफैं मलाई लिन आए । कोठामा लगी खुब राम्ररी सोधे । आफैंले विभिन्न परीक्षण गरे । तत्कालै रोग पत्ता लगाई आफ्नै कोठाको दराज खोलेर चाहिने औषधिहरू नि:शुल्क दिए । त्यतिबेला बुझेँ कि मैले विशाल मानेको मेरो देशका अस्पताल त वास्तवमा विशाल होइन रहेछन् । आजभोलि म विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित भएका पत्रिका हेर्छु, त्यहाँ ‘धनी १०’ का नाम हुन्छन् । ती नाममा कुनै नेपाली हुँदैनन् । सय नाम हुन्छन् । त्यहाँ पनि नेपाली हुँदैनन् । हजारको नाम हेर्दा पनि नेपाली हुँदैनन् । अब त लाग्छ- लाख धनीहरूको नाम भए पनि त्यहाँ नेपाली हुने छैनन् ।
चीनको बेइजिङ सहरले अमेरिकी सहर न्युयोर्कलाई चुनौती दिँदै छ । आज संसारका उद्योगपतिहरूको आफ्नै जेट हवाईजहाज छन् । कृषकहरू हवाईजहाजबाट मल छर्छन् । यही संसारको अर्को कुनामा धनीको परिभाषा यस्तो छ । यो सम्झँदा खेद लाग्छ कि नेपालमा अझै हामी काठको घरमा बस्नेलाई धनी या सामन्ती भनेर घाँटी रेट्दै हत्या गर्न लागिपरेका छौँ । बामे सर्ने उद्योगहरूलाई चन्दा, कमिसन र मजदुरआतङ्क सिर्जना गरी समाप्त वा विस्थापित गराउन व्यस्त छौँ । किसानको धान लुट्ने वा सर्वसाधारणको अपहरण गरी अशोभनीय किसिमबाट फिरौती माग्नै व्यस्त छौँ । अझै हामी गरिबको पार्टी भनेर धनी भनिएका गरिबहरूसँग मुठभेड गराउन हातहतियारधारी समूहलाई प्रशिक्षण दिँदै छौँ ।
अब हामीले यो भ्रम बन्द गर्नुपर्छ । हामीले बुझ्नुपर्छ कि यो देशमा कोही धनी छैनन्, गरिब मात्र छन् । फरक यत्ति हो, ऊ अति गरिब हो कि ठिक्क गरिब हो ? वा माथिल्लो स्तरको गरिब हो ? के हाम्रा राष्ट्रप्रमुखहरू आफ्नै विमान लिएर विदेश भ्रमणमा जाने सकेका छन् ? के हाम्रा नेताहरूले आफ्नै हेलिकप्टर लिएर जनसभामा जान सकेका छन् ? के हाम्रा नेपाली कलकारखानाहरू सामाजिक हितमा करोडौँ दान दिन सक्ने हालतमा छन् ? छैनन् । उनीहरू केवल बाँचेका छन् । हामीले सायद विश्वका अरू देशका धनीहरू नहेरी वरिपरिकालाई हेरेर नै यो धनी मान्छे हो भन्दै छौँ, जसरी मेरी ठूली आमाले अरू कुवाहरू नहेरी आफ्नै गाउँको कुवालाई हेरेर संसारको राम्रो कुवा मानिरहनुभएको थियो । म आह्वान गर्छु कि माथि उठेर अब हामीहरूले पनि धनी खोजौँ । भारतमा अम्बानी परिवारको जन्मदिनमा श्रीमतीलाई हवाईजहाज उपहार दिइन्छ भने नेपालमा चाहिँ ‘धनी’को आरोपमा अझै साधारण किराना पसलेसमेत लुटिन्छन्, मारिन्छन् । त्यसैले बन्द गरौँ, एक-अर्कालाई धनी भन्न र लागौँ सबै मिलेर विश्वका धनीहरूसँग प्रतिस्पर्धा गर्न । धनीहरू मासेर देश धनी हुँदैन बल्की धनीहरूलाई अझै धनी तुल्याउँदै गरिबलाई पनि धनी बनाएपछि मात्र देश पनि धनी हुन्छ । नेपाली-नेपालीबीचमा धनी-गरिबको जुहारी खेल्न जरुरी छैन, किनकि ठोकुवाका साथ भन्न सकिन्छ, ‘यो देशमा कोही धनी छैनन् ।’ धनी भए खोइ त आफ्नै जहाजले कीटनासक औषधि छर्ने किसानहरू ? खोइ त गगनचुम्बी भवनहरू ? खोइ त विश्वयात्रामा पर्यटक भएर निस्कन सक्ने मजदुरहरू ? खोइ त लाखौँ मान्छेहरूलाई रोजगार दिन सक्ने उद्योगपतिहरू ? खोइ त रोल्सरायल्समा यात्रा गर्ने नागरिकहरू ? वास्तवमै यहाँ कोही धनी छैनन् त्यसैले यो देशमा धनीको नाममा निरीह शिक्षक, गाउँको मुखिया, डाक्टर वा किराना व्यापारीका साथै ऋण खोजेर उद्योग चलाई नेपालीलाई रोजगार दिने उद्यागपतिहरूलाई निरुत्साहित पार्ने र रुवाउने काम नगरौँ । बरु सबैले सबैलाई कसरी धनी बनाउने हो ? त्यसतर्फ लागौँ । त्यो दिशातिर लाग्न पहिला हामीले यसमा विश्वास गर्नु जरुरी छ कि यो देशमा अहिलेसम्म कोही पनि धनी छैनन् ।