सहर सम्झने रहर– सुरेश सुवेदी

सहर सम्झने रहर– सुरेश सुवेदी


साथी यो सहरमा सबथोक छ
जताततै रोड छ
रोड नै छेकिने मोड छ
हरेक मोडमा अवरोध छ
अवरोध पन्छाइनसक्नुको गञ्जागोल छ
गञ्जागोलमा के छैन सबथोक छ ।

सहरमा लहरै घर छन्
घरभन्दा धेरै धारा छन्
तर धारामा घाँटी चिस्याउने आहारा पो छैन
यो सहरमा अरू के छैन ?

बिजुलीबत्तीको के कुरा
इलेक्ट्रोनिक गोदामका डिलर छन्
सयौंथरीका तार, पोल र पिलर छन्
टाँगिएका छन्, गाडिएका छन्
ठाउँठाउँमा ठडिएका मात्र होइन
एक–आपसमा ठेलिएका छन्
नभएको त जाबो करेन्ट न हो †
हेर्नोस् त तार कति जेलिएका छन् ?

फूल होइन तुलले सजिएका स्कुल छन्
सस्तो या महँगो जस्तो भए पनि नलेज बेच्ने
अन्तर्राष्ट्रिय नामका कलेज छन् ।
यहाँ खाने मात्र होइन
हेर्ने चिज पनि भेज र नन्भेज छन् ।

यहाँ त देशभरिका मान्छे छन्
संविधानलाई पानझैँ
काँचै पचाउन सक्ने मान्छे छन्
यहाँ को छैन ?
एक्लै करोडौँ पिएर पनि रुने पिन्चे छन् ।

रोग र रोगीका के कुरा
टोलटोलमा नर्सिङ होम छ
होमभित्र सम्पत्ति सोर्ने सोम छ
एसिलकले काम गर्न छोडेर के भो र ?
झन् मेट्रोनिनाजोल छ
यो सहरमा केको औषधि छैन ?
रक्सी छोड्ने कि स्वास्नी छोड्ने ?
सबका लागि झोल छ ।

गाउँमा बाले चारमा बेचेको गाँजर
छोराले चालीसमा किन्नुपर्ने बजार छ
हजुर † यो सहर पो एक हो
सुविधा त हजार छ ।

आफ्नै छाल आफ्नै किनारा– मुक्तिनाथ शर्मा
ऐले नेपाली साहित्य भण्डारमा चिहाउँदा
एउटा कृति भेटिन्छ पढ्दा आनन्द आउँछ
कृतिको नाम हो आफ्नै छाल आफ्नै किनार, जो
खगेन्द्र कोपिलाजीको मीठा मुक्तकको बिटो ।।

खगेन्द्र गिरीजी स्रष्टा कोपिला उपनाम रे
नेपालगञ्ज धम्बोजी आदर्शमार्गका परे
उनै गजलका स्रष्टा तथा मुक्तककार हुन्
सम्पादक पनि हुन् उनी योग्य साहित्यकार हुन् ।।

मैले चिनेँ किताबैले फोटै हेर्दा छ फुर्तिलो
अनुहारअनुसारै सिर्जना झन् रमाइलो
स्रष्टाको मान–सम्मान गर्ने स्वभावका गिरी
शुभेच्छा दिन मन लाग्ने कोपिला फक्रियोस् भनी ।।

पढियो स्वाद मानेर मुक्तक श्रेष्ठ मानियो
अझै लेखिरहून् स्रष्टा शुभेच्छा मनले दियो
प्रकाशकीय भव्यै छ लेख्यवस्तु धितालको
भूमिका छ उषाजीको त्यो अझै उच्चखालको ।।

ज्ञानुवाकर पौडेल प्रेमप्रकाश मल्लजी
प्रकाश राजापुरीका नि हेरेँ भाव सरासरी
सारांशमा भनिदिन्छु देखियो कृति उत्तम
कोपिला अब फक्रन्छन् सक्नेछन् टाकुरी छुन ।।
शुभेच्छा प्रार्थना यो छ सक्नेछन् टाकुरी छुन
अझै थप गरे हुन्छ पुग्नु छ टाकुरी छुन ।।

–बानेश्वर, काठमाडौं