रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्य
‘विश्व रेडियोग्राफी दिवस’ तथा ’अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ आज (नोभेम्बर ८) विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष ८ नोभेम्बरमा विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ । यसवर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर १३०औँ विश्व रेडियोग्राफी तथा अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाउन लागिएको हो ।
सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोइन्टजेनले रेडियोग्राफीको आविष्कार गरेका थिए । वैज्ञानिक रोइन्टजेनले गरेको विकिरण एक्स-रे को आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ ।
एक्सरेले मानव शरीरभित्रका हड्डीका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ भने अल्ट्रासाउण्ड, सिटि स्क्यान एमआरआइले शरीरभित्रका अङ्गमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गरेको चिकित्सक बताउँछन् । बिरामीको समस्या निदान र उपचारमा रेडियोलोजीको महत्वपूर्ण भूमिका रहेको विज्ञजनको भनाइ छ ।
रेडियोलोजीमा विकिरण प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन, मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउण्ड अर्थात् भिडियो एक्सरे, एमआरआईलगायत पर्ने गरेका छन् ।
प्रतिक्रिया