अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोज : सिङ भएको नयाँ प्रजातिले वैज्ञानिकहरू चकित !

अस्ट्रेलियामा ‘लुसिफर’ मौरीको खोज : सिङ भएको नयाँ प्रजातिले वैज्ञानिकहरू चकित !


घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ- सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकहरूले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ ।

यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले मङ्गलबार सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’की वैज्ञानिक डा. किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जङ्गली फूलहरूको सर्वेक्षणका क्रममा यस विशेष मौरीलाई पत्ता लगाएकी थिइन् ।

डा. प्रिन्डरगास्टका अनुसार उक्त मौरीको महिलाको अनुहारमा देखिने साना र तीखा सिँगहरू अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । ‘महिलाको अनुहारमा यी अविश्वसनीय सिँगहरू थिए, जुन मैले पहिले कहिल्यै देखेकी थिइनँ’, उनले भनेकी छन् ।

नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’की प्रशंसकसमेत रहेकी उनले मौरीको अनौठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठानेकी हुन् । डा. प्रिन्डरगास्टले यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक करार गर्दै भनेकी छन्, ‘यो मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूपहरू पत्ता लगाउन बाँकी छ भन्ने कुराको सङ्केत दिन्छ ।’

विशेषगरी खानी उद्योगका गतिविधिहरूका कारण देशी प्रजातिहरू गुम्ने जोखिम बढ्दै गएका क्षेत्रहरूमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवहरूको संरक्षणका लागि चेतना जगाउने उनले आशा व्यक्त गरेकी छन् ।

‘धेरै खानी कम्पनीले अझै देशी मौरीहरूको अध्ययन गर्दैनन्, त्यसैले हामीले केही प्रजातिहरूलाई आधिकारिक रूपमा वर्णन गर्नुअघि नै गुमाइरहेका हुन सक्छौँ । यी मौरीहरूले खतरामा परेका बोटबिरुवाहरू र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन्’, डा. प्रिन्डरगास्टको भनाइ छ । ‘यदि हामीलाई कुन मौरीहरू कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवाहरूमा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुवै गुमाउने खतरा ब्यहोर्न सक्छौँ ।’

वैज्ञानिकहरूका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवाहरू परागणकर्ताहरूमा, विशेष गरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको विनाश, खानी उत्खनन र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजातिहरू हाल लोप हुने सङ्कटमा छन् ।

नयाँ ‘लुसिफर मौरी’ को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूपहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकहरूले यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन् ।