✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक २८ गते तद्अनुसार सन् २०२५ नोभेम्बर १४ तारिख शुक्रबार मार्गशीर्ष कृष्ण पक्षको दशमी तिथि पूर्वाफाल्गुणी नक्षत्र ऐन्द्र योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा र सूर्यास्त साँझ १७ः१० बजे हुनेछ । गुह्येश्वरीयात्रा, विश्व मधुमेह दिवस ।
आजको राशिफल
मेष – रोकिएका काम पुनः अघि बढ्ने र सफलता पनि मिल्ने समय छ । नियमित कामबाट फुर्सद मिलेको अनुभूति होला । आजको दिन कतै अतिथिका रूपमा सत्कार मिल्ने देखिन्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा पनि खर्च बढ्नेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त होला । रसरागको भाव बढ्नेछ ।
वृष – चिताएका काम बिस्तारै भए पनि सम्पादन हुने समय छ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । तर, अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्नसक्ने योग छ । पारिवारिक असमझदारी पनि बढ्न सक्छ । आरोग्यता रहनेछ ।
मिथुन – सेवामूलक कामबाट धनप्राप्ति हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । पढाइलेखाइमा सामान्य प्रगति होला । रमाइलो यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापारमा आकस्मिक फाइदा हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
कर्कट – आजको दिन पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ भने सहयोगीहरूले विशेष फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । तर, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
सिंह – सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आयआर्जन पनि राम्रै होला । तथापि, विभिन्न अवसर प्राप्तिका बाबजुद अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोला । सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुने सम्भावना छ । अप्रिय समाचारले निराश तुल्याउन सक्छ ।
कन्या – प्रतिभाको कदर हुने र बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । भूमि तथा कृषि कर्मबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । पराक्रम वृद्धि हुनेछ भने सुख–सुविधाको बस्तु बढ्नेछ ।
तुला – नियमित कार्यमा सहजत आउने र व्यवसायमा आम्दानी बढ्ने समय छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यस्तता बढ्नेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी बढ्ने देखिन्छ । इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । तथापि, शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
वृश्चिक – मिश्रित फलदायी दिन छ । केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, सजग रही ब्यवहार गर्नुहोला । अरूको सुझावमा पूरै भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्नसक्ने योग छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।
धनु – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । तर, महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । लगनशीलताले सम्मान दिलाउने योग छ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति होला । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । बौद्धिकताले शत्रुमाथि विजय दिलाउनेछ ।
मकर – नयाँ काममा हात हाल्ने समय आएको छ, तर सफलताप्राप्तिका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । ब्यस्तता बढेपनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । साहसिक कार्यमा आकर्षण रहनेछ ।
कुम्भ – नियमित कार्यमा जाँगर बढ्ने तथा व्यापार–व्यवसायमा विशेष लाभ हुने समय छ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्न सक्छ । मान-विद्या प्राप्तिको योग छ । आकस्मिक धनलाभ हुने तर आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ, सजग रहनुहोला । जग्गा जमिनको कारोबारबाट राम्रै लाभ मिल्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मीन – आजको दिन केही चुनौतीयुक्त रहला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउमा धननाश हुने योग रहेकोले विशेष सजगताको दरकार छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । यात्रागत कार्यमा भने आंशिक भएपनि सफलता मिल्नेछ ।
प्रतिक्रिया