ज्ञात अज्ञात !

ज्ञात अज्ञात !


डिजिटल पुस्ताको नजरमा ‘पश्चिमा लोकतन्त्र’ र वामपन्थीप्रति पहिलेको जस्तो ‘आकर्षण र पवित्रता’मा कमी आएको छ । एक समय थियो, निकिता ख्रुश्चेभले राष्ट्रपति केनेडीसँग मित्रता र सहकार्यको सम्भावना देख्न सक्थे । विशेषगरी सङ्कट निम्त्याएपछि उनीहरू चतुरता र साहसका साथ पछाडि फर्किन सक्थे । संसारलाई आणविक प्रलयको मुखमा पुऱ्याएर फिर्ता ल्याउन सक्थे । केनेडीले साम्यवादसँग सहकार्य खोज्दै गर्दा अमेरिकी मामिलामा इजरायली प्रभावको कट्टर आलोचक बन्न सक्थे ।

कम्युनिस्ट सम्भावनालाई अवरोध गर्ने बुर्जुवा जोस कहिलेकाहीँ गडबड भएको छ । ‘मार्क्सवादी भूत’ले मोदीदेखि ट्रम्पलाई तर्साउँदै आएको छ । यद्यपि यसको प्रभाव रुस, चीन, भियतनाम, क्युबामा वा अन्यत्र सान्दर्भिक उपस्थिति भेटिँदैन । चार्ली कर्कको हत्यापछि राष्ट्रपति ट्रम्प अमेरिकी दक्षिणपन्थीको नेता बन्न हौसिए । जसले गर्दा अमेरिकी दक्षिणपन्थी र जियोनिज्म ममदानीको निशानामा थिए । यद्यपि जियोनिज्म र अमेरिकी दक्षिणपन्थी गठबन्धन लगभग ध्वस्त भइसकेको ट्रम्पले बुझ्नै सकेनन् । सम्भवतः गाजा नरसंहारले ममदानीको चुनावी दौडलाई सफलतासम्म पुऱ्यायो । जसलाई स्विकार्न ट्रम्प राजी भइसकेका छैनन् ।

मुलुक विकृत प्रवृत्तिहरूको क्लासिक उदाहरण बन्दै छ । हाइब्रिड शासनअन्तर्गत मुलुक असामान्य गहिराइमा पुगेको छ । नेतृत्वको विशाल केन्द्रीकरणले डिजिटल पुस्ताका मुद्धाहरू प्राथमिकतामा नपरेको फाइदा दक्षिण र पश्चिमले उठाउँदैछ । हाइब्रिड उपलब्धिको आगमनपश्चात्, कथित नेतृत्वको खतरनाक बाह्य सम्पर्क, पश्चिमतिर अनावश्यक सम्बन्ध, सार्वजनिक बहसबिनाको रणनीतिक पुरस्कार ग्रहणको नकारात्मक प्रतिफल मुलुकले भोग्दैछ । इतिहासमा वामपन्थी र दक्षिणपन्थीहरू धेरै पटक एकसाथ आएका छन्, यद्यपि सधैँ जानाजानी होइनन् । उदाहरणका लागि, राजा ज्ञानेन्द्र र २४० वर्षे राजसंस्थालाई षडयन्त्रपूर्वक सत्ताच्युत गर्न उनीहरू एकै ठाउँमा जम्मा भएका थिए । सार्वजनिक हितबिनाको लोकतन्त्रले मुलुकलाई गम्भीर रूपमा हानि पुऱ्याएको समयमा डाक्टर सिके राउत र नेता ओली एकसाथ देखिएका छन् ।

आयातित उपलब्धिले मुलुकलाई कमजोर बनाएको छ । छोटो समयमा मुलुक धनी र शक्तिशाली भूराजनीतिक व्यवसायमा फर्किएको छ । यसले आयातित लोकतन्त्र र संविधानलाई थप विकृत बनाएको छ । दक्षिण एसियामा निरङ्कुशहरूको पतन भएको छ । नार्सिसिस्टको घमन्ड चकनाचुर भएको छ । यतिबेला विश्व-राजनीति विचित्रको जगमा बाँचेको छ । ममदानीदेखि डाक्टर सिके राउतसम्म राजनीतिमा छन् तर उनीहरूको विचार-कुविचारप्रति समय खर्चिने अवस्था छैन । अझ रोचक कुरा उनीहरूको विचारप्रति ‘विमति नराख्ने’हरू प्रशस्त भेटिन्छन् । ज्ञात-अज्ञात खेलमाथि साँच्चै विश्वास गर्नेहरूको शिक्षामा राम्रो पकड छ । विशेषगरी डिग्री होल्डरहरूको अवसरवादी सोचलाई चिनेको/बुझेको शक्तिले ‘मिसन’को निम्ति उनीहरूको प्रयोग गर्दै आएको छ ।

मुलुकभित्र मौलाएका धेरै प्रवृत्ति र विचारहरू पश्चिमबाट आयात गरिएको हो । दुर्भाग्यवश गरिब मुलुकका जेहेन्दार र प्रतिभाहरूलाई अनेक प्रलोभन दिँदै तिनै शक्तिले आफ्नो रणनीतिक खेताला बनाउँछन् । तथ्याङ्कको विरुद्धमा बहस गर्न गाह्रो हुन्छ । कलेज छोड्ने अर्बपतिहरू; ‘बिल गेट्स, स्टीव जब्स र मार्क जुकरबर्ग’लाई हेर्दा सफलताको लागि कलेज डिग्री आवश्यक छैन भन्ने तर्कलाई समर्थन गर्न सकिन्छ । यस अर्थमा मुलुकको डिजिटल पुस्ता रनभुल्लमा परेको छ । केपी ओली, विष्णु पौडेल, प्रदीप ज्ञवाली जस्ता पात्र प्रधानमन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्री भएको राजनीति र मुलुक कहाँ पुग्यो भन्ने गतिलो उदाहरण र बहसको विषय हुनुपर्छ । अझ रोचक कुरा कम्पनीमा सिइओ हुन कलेज डिग्री चाहिने तर मुलुक हाँक्नेहरू डिग्रीविहीन भए पनि हुने सोचले परिणामको ग्यारेन्टी गर्दैन/गरेन । यद्यपि, डिग्री भएका डाक्टर सिके राउत, डाक्टर बाबुराम भट्टराई भन्दा डिग्री नभएकाहरू मुलुकको निम्ति कम हानिकारक भएको तथ्यहरूले देखाएको छ ।

जरा गाडेको असमानता, राजनीतिक अस्थिरता, स्रोत र साधनमाथि अभिजात वर्गको कब्जा र जलवायु जोखिमको जोखिम’ले डिजिटल पुस्तालाई शान्त बस्न दिएन । शासकको वाक्कलाग्दो प्रस्तुति, दिक्कलाग्दो उदारवाद र अर्थतन्त्र, जनसङ्ख्याको लचिलोपन, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन र कृषकलाई गरिबीबाट बाहिर निकाल्न नसक्ने सत्ताको चरित्र, बेरोजगारी र कुशासनले डिजिटल पुस्तालाई क्रान्तिकारी बन्न विवश बनायो । पुँजीवादलाई कसैगरी जीवित राख्ने एकल चाहनामा ‘आईएमएफ’ले जोगाएको आर्थिक गतिविधि र सुधार कार्यक्रमबाट गुज्रिरहेको अर्थतन्त्रले गरिबीमा गिरावट आउने सम्भावना थिएन । चुनावी मुद्दा पाएकोमा कथित कम्युनिस्टहरूले खुसी मनाइरहे ।

सिद्धान्त त लोकतान्त्रिक गणतन्त्र विश्वको उत्कृष्ट राजनैतिक व्यवस्था हो । यस्तो व्यवस्थालाई स्वीकार गर्न आनाकानी गर्न जरुरी छैन । तर विश्वले अपनाएका विभिन्न राजनीतिक प्रणालीहरूको अध्ययन गर्दा के फेला पर्छ भने नागरिकको चेतनास्तर, आर्थिक सम्पन्नता, जीवनशैली, शैक्षिक गतिविधि, जातीय अवस्था, उत्पादन प्रणाली, भूगोल र भौगोलिक उपस्थितिले ठुलो भूमिका राख्ने गर्दछ । यस अर्थमा नेपालको भौगोलिक उपस्थिति, छिमेकीहरूको भूगोल, सोच, राजनीतिक प्रणाली, जनसङ्ख्या र आर्थिक हैसियतले गम्भीर प्रभाव पार्दै आएको छ ।

नेपालको धार्मिक, भाषिक, सांस्कृतिक विविधता र नागरिकको जीवन पद्धतिले लोकतान्त्रिक गणतन्त्रलाई न्याय गर्न नसक्ने प्रमाणित भइसकेको छ । पृथ्वीनारायण शासनको प्रत्यक्ष नेतृत्वमा फैलिएको आधुनिक नेपालमा षडयन्त्रमूलक ढङ्गले लादिएको आयातित उपलब्धिको कारण उत्पन्न अस्थिर परराष्ट्र नीतिले छिमेकीहरूलाई तनाव दिएको छ । दलीय नेतृत्वको कुर्सीमोह, पश्चिमा शक्तिको निरन्तर दबाब र आन्तरिक कमजोरी छताछुल्ल भएको अवस्थामा राजनीतिक विश्लेषक ‘सौरभ’ले भनेजस्तै दलहरूले सन्तुलित परराष्ट्र नीति र वैदेशिक सम्बन्ध कायम गर्न नसक्ने पुष्टि भएको छ ।

सभ्य राजनीतिमा अयोग्यहरूलाई योग्यले प्रतिस्थापन गर्दछ । दुर्भाग्यवश मिसन खरानीपश्चात मुलुकले योग्यहरू देख्न पाएन । वर्तमान संविधान, नालायक नेतृत्व, असफल आर्थिक र परराष्ट्र नीतिले मुलुक खरानी बनेको/बनाइएको अवस्थामा मुलुकले सङ्घीयताको असली अनुहार देख्न पाएको छ । सेनाको ब्यारेकबाट फर्किएका नेता ओलीलाई दशैँको अवसरमा भेट्न डाक्टर सिके राउतलाई कसले गुण्डु पठायो ? उनीहरूको भेटघाटमा भएको कुराकानी कतै मुलुक असफल बनाउनमा केन्द्रित त थिएन ? नेपाल आमालाई ‘बेश्या’ भन्ने डाक्टर राउतलाई बचाउन नेता ओली किन तयार भए ? झण्डै सुरक्षा निकायको इन्काउन्टरमा परेका राउतलाई कसको इच्छा, चाहना र आदेशमा केपी ओलीले बचाए ? आफ्नो कथित निर्देशनमा प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीमार्फत मधेस प्रदेशमा सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गर्न लगाउने, होटेलमा शपथ खुवाउने र यसको सेरोफेरोमा डाक्टर राउतले स्वायत्त मधेस प्रदेशको कथित आवाज घन्काउने रणनीतिक चालबाजी गुण्डुमा बनेको त थिएन ? नेपालको अस्थिरता, विग्रह या विघटनमा आफ्नो फाइदा देख्ने शक्तिले एकसाथ ओली, डाक्टर राउत र डिजिटल पुस्ताको प्रयोग गरिरहेको उत्तर-दक्षिणको बुझाइले आगामी दिन थप भयावह हुँदै गरेको बुझ्न सकिन्छ ।

विगतमा भारतकै सहयोगमा प्रचण्डमार्फत गराइएको इसाइकरण र पहिचानको राजनीतिको पछिल्लो एपिसोडमा कुलमान, हर्क, बालेन, सुधन, डाक्टर राउत र ओलीसमेत देखिनुले मुलुकको ज्ञात-अज्ञात सङ्कट दैलोमा आइपुगेको सेनाले महसूस गरिसकेको छ । भाद्र २४ मा लुटिएको हात हतियार कहाँ छ ? कोशी प्रदेशका केही जिल्लामा मङगोल नेशनल अर्गनाइजेसनको कथित सक्रियता, डाक्टर राउतको उत्ताउलो गतिविधिलाई नजिकबाट नियालेको भारत शान्त नबस्ने र विगतमा स्थगित गरिएको अपरेसन सिन्दूरको भाग दुई अन्तर्गत नेपालसमेत पर्न सक्ने छ ।

टिठलाग्दो सुरक्षा अवस्था, पूर्वाधारको गुणस्तर, कुशासन, संस्थागत भ्रष्टाचार र बारम्बार गराइने राजनीतिक अशान्तिले डिजिटल पुस्ताको वर्तमान र भविष्य चकनाचुर बनाएको छ । समाजवाद/पुँजीवादको लक्ष्मण रेखामा नबाँधिएको डिजिटल पुस्ताले प्रविधिको नकारात्मक पक्षलाई नजरअन्दाज गरेको सजाय बिस्तारै भोग्नेछ । सुशासन र प्रगति मात्र देख्न, सुन्न र भोग्न चाहने डिजिटल पुस्ताले अकस्मात् सुधन गुरुङ र टिओबी देख्नुपर्ने अवस्था कसरी आयो ? आधुनिक लोकतन्त्र र मेरिटमा आधारित राजनीति चाहने पुस्ताले ओमप्रकाश अर्याल, मदन परियार, बब्लु गुप्ता, महावीर पुन, जगदीश खरेल, अनिलकुमार सिन्हा, रामेश्वर खनाललाई कुन आधारमा स्वीकार गर्न बाध्य भयो ? ज्ञात-अज्ञात थोप्लाहरू जोड्दा डिजिटल पुस्ताको आगामी दिन थप अन्धकारतर्फ मोडिएको छ ।

अन्तमा, सुवास नेम्बाङ हामीबीच छैनन् । तर बाबुराम, विमलेन्द्र निधि, सिके राउत, प्रचण्ड, गगन थापा, उपेन्द्र यादवले उठाएको मुलुक विघटनको कथित अभिभारालाई साथ-सहयोग गर्न कुलमान, रवि, हर्क, बालेन, सुमनाहरू खटाइएका छन् । अझ रोचक विभिन्न शक्ति केन्द्रले घरघर जन्माएको च्याउ पार्टीहरूले परम्परागत दलहरूको भोट बैङ्क रित्तिँदै छ । नागरिकले जोगाएको मुलुक परिचालित पात्रमार्फत् दुर्बल बनाइएको छ । दागी, प्लान्टेड, ‘आइएनजिओ’द्वारा पालितपोसित तथाकथितहरूले मुलुकमा बिगार्न केही बाँकी छैन । सौभाग्यवश डिजिटल पुस्ताले आफ्नो शक्ति र कमजोरी मुलुक जलेपछि थाहा पाएको छ । जसले उनीहरूलाई राष्ट्रिय मुक्तिको लडाइँ लड्नुपर्ने अवस्थामा पुऱ्याएको छ ।