tAlK oF tOwN-3

tAlK oF tOwN-3


भीसी पदक र बाहकको सम्मान

गेसोका वर्तमान अध्यक्ष पदम बहादुर गुरुङ, निक्कै नै जोशमा आएका थिए । भीसीबाहक स्वर्गीय लछिमन गुरुङको अन्त्यष्टिलाई सम्मानित गर्नुका साथै हाइलाइट गर्नबाट गेसो किन चुक्यो भन्ने जिज्ञाशामा ! गेसो एउटै भएको र गेसोको लडाइँ अब ब्रिटिश अनि नेपाल नभई संसारसँग हुने ठोकुवा गर्ने अध्यक्ष गुरुङ, उही उत्तेजित अवस्थामा रहस्य खोल्न पछि परेनन् -‘ल ! म आफै गईनँ, लछिमनको अन्त्यष्टिमा । किन जाने ? अहिले लछिमनको अन्त्यष्टिलाई राजनीति गर्नेहरुलाई साथ किन दिने ?’ दुई-तीनजनाका साथमा वियरको चुस्की लिँदै गरेका अध्यक्ष गुरुङ, प्ये ल्हू संघको ल्होसारमा भेटिएका थिए । अर्कोलाई लगभग बोल्नै नदिन खोज्ने अध्यक्ष गुरुङको आसयलाई बुझ्न सकिएन पनि ।…..’वियर पिएको बेला, किन यस्तो सिरियस गफ गर्ने ?’ म तर्किएको थिएँ त्यसपछि ।

राजनीति कति र के के मा ?

मेरो यूके डट कमका फोटोग्राफरले शुभ चिन्ता गर्दै अनि ततअनुसार आशा गर्दै तत्कालीन समयसम्मका तमू धिं अध्यक्ष सुवास गुरुङ र तमू प्ये ल्हू अध्यक्ष जगत गुरुङका सँगसँगै हाँस्दै गरेको अवस्थालाई तस्वीरमा कैद गरेका थिए । श्रीमतीसँगै आएका सुवास गुरुङ, यसै त प्रशन्न देखिने आफ्नो आभा मण्डलमा केही थप प्रशन्नतालाई घोलेर आएका लाग्दथे । तमू धिंको भर्खरैको चुनावमा उनी नराम्ररी पराजीत भएका थिए । यसलाई अझ हाइलाइट गरेर भन्ने भए उनी सत्याच्यूत गरिएक थिए । यसलाई समाचारहरुमा त्यसरी नै खुलाइएको थियो । सन्दर्भ आलो नै थियो, त्यसैले – ‘हैन, सुवासजी, तपाईँलाई त यो पालिको अधिवेशनमा राजनीति गरियो रे भन्ने हल्ला छ त ? यसबारे केही भन्नुहुन्छ कि ?’-सोधेको थिएँ । केही टेम्टेड देखिएका उनी बोल्नुभन्दा अघि नै उनकी श्रीमती अगाडि बोल्न भ्याएकिथिईन् -‘नभन्नुस्, है ? पत्रकारहरुले त तपाईँको भनाइमा थपिदिन्छन्, अनि अर्थको अनर्थ भइहाल्छ ।’ श्रीमतीको विचारसँगै सहमत भए या डिप्लोमेटिक बने, उनले अगाडि भन्न भ्याएका थिए -‘तपाईँलाई थाहा छ नै, मैले नै किन भन्नुपर्छ र ? मेरो कार्यकालतिर यसो हेरे भइहाल्छ नि !’ हाँस्दै प्ये ल्हू संघको ल्होसार हलबाट दम्पती बाहिरिएपछि सोँच्दैथिएँ -कसको पो एङ्गलबाट हेर्ने हो, वर्तमान संस्थागत राजनीति बुझ्नको लागि !

ल्होसारमा कभरेजको तरिका

चौध पन्ध्र सय जति मानिसहरु भेला भएको ठाउँलाई पत्रकारिताको सन्दर्भमा अण्डरस्टिमेट गर्नै नमिल्ने इभेन्ट मानिन्छ र त्यसैलाई कभर गर्न भनेर नै स्थानीय नेपाली मिडियाको बाटो प्रशस्ती त्यस्ता इभेन्टहरुमा गक्ष अनुसार गरिएको हुन्छ । रिडिङको तमू धिं ल्होसार भेलामा खेमराज गुरुङको लोकप्रियतालाई क्यास गरिएको थियो, त्यही इभेन्टलाई कभर गर्न गएका पत्रकारहरुलाई सशुल्क प्रवेश दिलाइएको थियो । अब तिनले तस्वीरहरु खिँच्दै खेमराजका प्रदर्शनीको मज्जा कत्तिको लिए या लिएनन्, तिनै जानून्, आयोजक कत्तिको फण्ड-राइज गर्न समर्थ भयो, तिनै जानून्, यता वकिङमा भएको तमू प्ये ल्हू ल्होसारमा भने अगाडिबाट अनि नजिकबाट तस्वीरहरु खिँच्न मनाही कार्यक्रम सञ्चालक तथा सो संघका सचिवले स्टेजबाट गरेका थिए । दायाँ अनि वाँया कुनाबाट मात्र मिडियालाई तस्वीर खिँच्न लगाउने सचिवले भने स्टेजको ठीक सम्मुख एक भीडीयोवालालाई भने बाटो पो प्रशस्त गरिरहेका थिए । पछि ल्होसारको डीभीडी जो बेचाउनुथियो, वरपर गाइँगुइ चल्दैथियो । होला पनि, किनकि, भीडीयो क्यामेरा बोकेर हिँड्ने अरुहरुलाई आयोजकहरुले प्रकारविशेषका प्रश्नहरु सोध्दै जो थिए ।

कसको बारेका लेखमा बोल्ने ?

यती त धरासायी नै भइसकेको छ भने राजनीतिक भ्रातृसंस्था जन सम्पर्क समितिभित्र उही नेपाली भूराजनीति व्याप्त छ, समिति नै प्रदूषित लाग्ने भएको खबर आम छ । त्यस्तोमा, एनआरएन यूकेलाई समस्टीगत रुपमा लेख्न मिल्ने मान्न मुश्किल पर्दै गएको संस्था भन्ने गरिन्छ । एनआरएन यूके गुरुङ जातिमय हुँदै गएको आम चर्चा छ, हुनसक्छ, अध्यक्ष सूर्य गुरुङको अध्यक्षताको जातिगत प्रभाव, नेपाली समाजमा व्याप्त भएको होस् । पूर्वीय या राई लिम्बूहरुका संस्थागत कृयाकलाप अति नै मलीन लाग्दछ । त्यस्तोमा, जातीय संस्थाहरुको बारेमा, बजारमा चलेका हल्लाहरुलाई पनि नलेखूँ भन्दा पनि यूकेबासी नेपालीहरुको प्रतिनिधित्व गर्ने हाँक दिनसक्ने क्षमता भएको तमू धिं, टक अफ टाउनका प्रसङ्गहरुमा आउने नै गर्दछ । त्यसैले पनि तमू धिंलाई मेरा गफहरुबाट अलग्याउन सकिएन, जबसम्म नेपालीहरुको साझा संस्था भन्दै कुनै संस्था सतहीकरण हुँदैन, यो क्रम पक्कै नै जारी रहने छ, यो स्तम्भमा । यसलाई तमू धिंले आफ्नो संस्थाको प्रभाव भनेर बुझुन् भन्ने मेरो आसय हो । भनिहाल्छु अन्त्यमा ।
-नीर खड्का