भेनेजुएला नजिकै अमेरिकी नौसैनिक आधार शिविर निर्माण गरिनु चिन्ताको विषय : ब्राजिल

भेनेजुएला नजिकै अमेरिकी नौसैनिक आधार शिविर निर्माण गरिनु चिन्ताको विषय : ब्राजिल


ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले भेनेजुएलानजिकै अमेरिकी सैन्य आधार शिविर निर्माण हुन लागेको रयसबाट ब्राजिल ‘निकै चिन्तित’ भएको बताएका छन् ।

लुलाले जोहानेसबर्गमा जी-२० शिखर सम्मेलनमा भाग लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘अमेरिकाले क्यारेबियाली सागरमा राखेको सैन्य संयन्त्रलाई लिएर म निकै चिन्तित छु । म राष्ट्रपति ट्रम्पसँग यस विषयमा छलफल गर्न चाहन्छु किनभने यो यस क्षेत्रका सबैको चासोको विषय हो ।’

‘मलाई लाग्छ कि अब यहाँ युद्ध हुनुको कुनै कारण छैन’, उनले भने- ‘रुस र युक्रेनबीचको युद्धमा भएको गल्ती नदोहोऱ्याऔँ । यसो भन्नुको तात्पर्य के हो भने, एक पटक युद्ध चलेपछि यसको अन्त्य कसरी गर्ने यो अनुमान गर्न गाह्रो विषय हो ।’

अमेरिकाले भेनेजुएला नजिकैको क्षेत्रमा विमानवाहक आक्रमण समूह, अन्य नौसेनाका युद्धपोत र ‘स्टेल्थ विमान’हरू पठाएको छ । अमेरिकाले शुक्रबार भेनेजुएलाको हवाई क्षेत्रमा रहेका नागरिक विमानलाई ‘सावधानी अपनाउन’ चेतावनी दिएको थियो ।

अमेरिकी सेनाले सेप्टेम्बरदेखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा २० भन्दा बढी पानीजहाजमा आक्रमण गरेको छ, जसमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले उनीहरू लागुऔषध सेवन गर्ने व्यक्ति भएको आरोप लगाएका छन् तर यसलाई पुष्टि गर्ने कुनै प्रमाण पेश गरेका छैनन् ।

वासिङ्टनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ‘आतङ्ककारी’ लागूऔषध तस्करीको नेतृत्व गरेको आरोप लगाएको छ तर ट्रम्पले अमेरिकी सैनिक पठाउने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।

लुलाले ब्राजिलको भेनेजुयलासँग सीमा जोडिएको औँल्याउँदै भने, ‘यो (सम्भावित द्वन्द्व) सुरु हुनुभन्दा पहिले हामीले समाधान खोज्ने प्रयास गर्नु महत्त्वपूर्ण छ ।’

विश्व व्यापार र जलवायु परिवर्तनमा सहयोग बढाउने जी-२० शिखर सम्मेलन अमेरिकी नीतिविपरीत रहेको भन्दै ट्रम्प प्रशासनले दक्षिण अफ्रिकामा भएको जी-२० शिखर सम्मेलनमा भाग लिएको छैन । यसबाहेक, अमेरिकाले दक्षिण अफ्रिकामा अश्वेत समुदायले आदिवासी श्वेत समुदायमाथिको उत्पीडनलाई प्रोत्साहन गरेको आरो राष्ट्रपति ट्रम्पको रहेको छ।