‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क छैन कर्णाली’

‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क छैन कर्णाली’


कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क नभएको बताएका छन् ।

कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले आइतबार (७ मंसिर) सुर्खेत वीरेन्द्रनगरमा गरेको सरकारसँगको छलफलमा मन्त्री भण्डारीले निर्वाचन मिति र प्रतियोगिता सञ्चालनको हुने अवधि एउटै भएकाले अझै आशंका उब्जिएको बताए । सङ्घीय सरकारले पटकपटक प्रतियोगिताको मिति घोषणा गर्ने र सार्ने गरेका कारणले प्रतियोगिता सञ्चालनको सुनिश्चितता नरहेको उनको भनाइ छ ।

मन्त्री भण्डारीले केन्द्रीय सरकारबाटै फागुन १ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेगरी मिति तय गरे पनि त्यसका लागि गर्नुपर्ने कामका लागि अहिलेसम्म प्रदेश सरकारसँग समन्वय नगरिएको गुनासो गरे । उनले भने, ‘मूल आयोजकको तर्फबाट काममा तदारुकता नदेखिए पनि प्रदेश सरकार तयारी अवस्थामै छ । सङ्घ सरकारले निर्धारित मितिमा प्रतियोगिता सञ्चालन गर्न सकेन । त्यसैले होला प्रतियोगिता हुन्छ भन्नेमा नागरिकहरू विश्वस्त छैनन् ।’