किन निलम्बनमा परे ‘सेलिब्रेटी पाइलट’ विजय लामा ?

किन निलम्बनमा परे ‘सेलिब्रेटी पाइलट’ विजय लामा ?


केही समयअघि सुशीला कार्की नेतृत्वको सरकारले पर्यटनमन्त्री बनाउने भनी चर्चामा ल्याइएका नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा ‘क्यान’को कारवाहीमा परेका छन् । उडान सुरक्षासम्बन्धी नियम उल्लङ्घन गरेको अभियोगमा ‘सेलिब्रेटी पाइलट’ लामाका साथ अर्का क्याप्टेन सोनी राणालाई समेत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निलम्बन गरेको हो ।

क्यानले जनाएअनुसार लामा र राणाले जहाजभित्र फोटो तथा भिडियो खिचेर सार्वजनिक गरेका थिए, जो उडान सुरक्षाका दृष्टिले ‘अपराध’ हो । अन्तर्राष्ट्रिय हवाइ सुरक्षा मापदण्ड र नेपालको उडान सुरक्षा नियमको उल्लङ्घन भएको भन्दै क्याप्टेनद्वय लामा र राणा कारवाहीमा परेका हुन् ।

क्यानका डेपुटी म्यानेजर ज्ञानेन्द्र भुलका अनुसार दुवै क्याप्टेनलाई स्पष्टीकरण माग्नुका साथै प्रारम्भिक निलम्बन गरिएको छ । उनीहरूमाथि नेपाल बायुसेवा निगमले छानबिन गर्नेछ भने छानबिन सकिनुअगाडि उनीहरूलाई जहाज उडाउन पूर्ण रोक लगाइएको छ । निगमले विस्तृत छानबिन प्रतिवेदन क्यानलाई बुझाएपछि मात्र उनीहरूको निलम्बन फुकुवा गर्ने कि जिम्मेवारीबाटै हटाउने भन्ने निर्णय हुने जनाइएको छ ।

ज्ञातव्य छ, क्याप्टेन लामा यसअघि पनि पटक-पटक यस्तै प्रकृतिका ‘उट्पट्याङ’ ब्यवहारका कारण निलम्बनमा परेका थिए । यस्तै, जेन्जी प्रदर्शनको क्रममा भएको विध्वंशात्मक क्रियाकलापको पक्षमा अभिव्यक्ति दिएको भन्दै लामाको आलोचना गरिएको छ ।