संसारमा यति सजिलै राजाले गद्दी त्यागेको इतिहास छैन । उनले चाहेको भए सेना प्रयोग गरेर आफ्नो प्रतिरक्षा गर्न सक्थे । मुठभेडमा हजारौँ जनता मर्न सक्थे । आफू राजा नै बन्ने उनको प्रमुख लक्ष्य हुन्थ्यो भने भारतीय दूतको ‘भुटान’ बन्ने प्रस्ताव स्वीकार गर्थे । उनको यो राष्ट्रवाद र त्यागको इतिहासले कदर गर्ने नै छ ।
✍ महेश्वर आचार्य
१२बुँदे दिल्ली सम्झौताको जगमा देशमा गणतन्त्र घोषणा गरेको १६ वर्ष र त्यसलाई नयाँ संविधान बनाएर संस्थागत गरेको ९ वर्षमै नयाँ संविधानले लागु गरेका ४ मुद्दाहरू चरम विवादमा परेका छन् । ती हुन् संविधानको प्रस्तावना, सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र ।
व्यवस्थाका पक्षधरहरू व्यवस्था ठिक छ अवस्था मात्रै बदले पुग्छ भन्दैछन् भने विरोधीहरू अवस्थालाई सधैं यस्तै रहोस् भनेर नै विदेशी योजनामा यो व्यवस्था ल्याइएको ठोकुवा गर्दछन् । सत्ताको एकमुष्ठ जिम्मा लिएको १७ वर्षसम्म पनि आर्थिक, सामाजिक, सार्वभौमिक, न्याय र सुशासन कुनै पनि क्षेत्रमा जनतालाई महसूस हुनेगरी प्रगति देखाउन नसक्दा आम नागरिक आजित छन् ।
सङ्घीयता र धर्मनिरपेक्षता टिकाउन पश्चिमा लगानी रहेको तथ्यहरू उजागर हुँदैछन् । दैनिक विदेश पलायन हुने नागरिकको सङ्ख्या बढ्दो छ । जनताको आक्रोश बेला-बेलामा हुने आन्दोलनमा व्यापक रूपमा देखिँदैछ भने गत भदौमा भएको जेन्जी आन्दोलनका कारण निर्वाचित सरकार अपदस्त भएको छ । अन्तरिम सरकारको भरमा देश चलेको छ ।
आफूले काम गरेर जनता प्रभावित पार्न नसकेका गणतन्त्रवादी दलहरू र यिनका कार्यकर्ता भने राजाको चर्को विरोध गरिरहेका छन्, राजाले २५० वर्ष के गरे भनेर प्रश्न गरिरहेका छन् । आउनुहोस्, राजाले २५० वर्ष के गरे हिसाबकिताब खोजौं । नामको आधारमा होइन कामकै आधारमा मुल्याङ्कन गरौँ ।
२६५ वर्षको नालीबेली :
कतिपयले हचुवाको भरमा राजाले ३०० वर्ष शासन गरे भनिरहेका छन् भने कसैले २५० वर्ष । वास्तवमा विक्रम सम्बत १७९८ मा गोर्खाका राजा बनेका पृथ्वीनारायण शाहदेखि लिएर राजा ज्ञानेन्द्रले सत्ता छोडेको मिति २०६३ सालसम्म जोड्ने हो भने आधुनिक नेपालमा राजाहरूले जम्मा २६५ वर्ष राजगद्दीमा बसेको देखिन्छ । त्यसमा राणाले कब्जा गरेको १०४ वर्ष घटाउँदा राजसंस्थासँग १६१ वर्षको मात्र हिसाब खोज्नु जायज हुन्छ ।
पृथ्वीनारायण र बहादुर शाह कालखण्ड :
पृथ्वीनारायण शाहले आफ्नो पूर्ण जीवन नेपाल एकीकरणमै बिताए । राजगद्दीमा बसेलगतै नुवाकोट आक्रमण सुरु गरेका शाहले नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, किर्तिपुर, मकवानपुर, तनहुँ, विजयपुर, मोरङ आदि बाइसी चौबिसी राज्यहरूलाई एकीकरण गरेर विशाल नेपालको आधार तय गरिदिए । उनको पालामा नेपालको सिमाना पूर्वमा संगलिला पर्वतश्रेणी, दक्षिणमा मोरङ हनुमाननगर, पश्चिममा मर्स्याङ्दी चेपेनदी र उत्तरमा रसुवागढीसम्म बिस्तार भयो ।
भौगोलिक एकीकरण मात्र होइन उनले तत्कालिन समयमा अहिलेको भारतमा अवस्थित विभिन्न हिन्दु राज्यहरूलाई अंग्रेज र मुस्लिमहरूले धमाधम कब्जा गरिरहेको समयमा हिमवत्वखण्डको यस पवित्र सनातनी धार्मिक भूमिको सार्वभौमिक अस्तित्व जोगाउन सफल रहे । मल्ल कालदेखि नै धर्मको आडमा अंग्रेजको लागि सुराकी गर्ने केपुचिन इसाई धर्मप्रचारकलाई देश निकाला गरेर अंग्रेजहरूलाई चुनौती दिए ।
त्यतिमात्र होइन सन् १७६७ अक्टोबरमा कप्तान किनलोकको नेतृत्वमा नेपाल हान्न आएका अंग्रेज सेनालाई सिन्धुलीगढी पहाडमा गोर्खालीले हराइदिए । कैयौं अङ्ग्रेज सेना मारिए कप्तान किनलोक भने भागेर बाँच्न सफल भयो । यो युद्धमा नेपालीले धेरै आधुनिक हतियार समेत अंग्रेजसेनाबाट कब्जा गरे । मकवानपुरमा बंगाली मुस्लिम फौजलाई पराजित गर्दा पनि हतियार हात परेको थियो । स्वोदेशमै हतियार उत्पादन समेत गरिन्थ्यो । उनले हतियार निर्माण गर्न २ जना भारतीय मुसलमान कालिगरहरूलाई गोर्खासेनामा भर्ती गरेका थिए ।
युद्ध कौशलताका अलावा उनमा त्यो कालखण्डमा समेत निकै दूरदर्शिता थियो भन्ने उनका दिव्योपदेशबाट थाहा हुन्छ । नेपालीले यिनै दिव्योपदेशको समय सान्दर्भिक केही परिमार्जन गरेर पालना मात्र गर्ने हो भने पनि थप कुनै वाद आयात गर्नु पर्दैन । समावेसिताको सिद्धान्त उनले त्यो बेला नै कार्यान्वयन गरेका थिए ।
सबै जातको तथा छोटा बडा सबैको साझा फुलबारी हो भन्नुले बडामहाराजले कसैलाई काखापाखा नगरेको तथा गर्न नहुने समावेसिताको उच्चतम प्रयोग गरेको देखिन्छ । आफ्ना सेनामा समेत उहाँले गुरुङ, मगर, खस, ठकुरी, ब्राह्मन, तामाङ आदिको समिश्रण गरेर निर्माण गरेको तथ्य छ । मनिराम गाइनेले सारङ्गी बजाउँदै दुस्मन राज्यमा डुलेर उनीहरूको सुराकी गर्ने गुप्तचर थिए । विशे नगर्ची दरबारमा बाजा बजाउने काम गर्थे यद्यपि उनि बडामहाराजका विशेष सल्लाहकार थिए । बेखा सिंह विश्वकर्मा, कालु सार्की र जसवीर कामी घरेलु बन्दुक बनाउने र सेनाको पोशाक तयार पार्ने जिम्मेवारीमा थिए ।
बडामहराजको मृत्युका केही वर्षमै उनका जेठ छोरा राजा प्रताप सिंह शाहको समेत मृत्यु भएपछि वि.सं. १८३४ देखि १८४२ सम्म करिब ८ वर्ष प्रताप सिंहकी श्रीमती महारानी राजेन्द्र लक्ष्मी शाहको नायवीकालमा कास्की र लम्जुङ्ग एकीकरण सम्भव भयो । १८४२ देखि १८५० करिव ८ वर्षकै बहादुर शाहको नायवीकालमा देशको सिमाना दक्षिणमा गङ्गा नदी किनार, पूर्वमा टिष्टा नदी, उत्तरमा तिब्बत र पूर्वमा सिक्किमको सिमाना कुमाउ-गढवालसम्म पुगेको थियो । यो उनका पिता बडामहाराजले एकीकरण गरि छोडेको तत्कालिन नेपालभन्दा झन्डै ३ गुणा बढी हो ।
बहादुर शाहले धेरै वर्ष अंग्रेजले कब्जा गरेको भारतीय भूमिमा निर्वासित जीवन बिताउन परेको थियो । त्यो समयमा उनले अंग्रेजबाट धेरै युद्धसम्बन्धी रणनीति बनाउन सफल भएको देखिन्छ । उनले नेपालमा हतियार, बम गोला बारुत उद्योगहरू खोलेका थिए भने हतियारविज्ञको रूपमा माइकल डास्क्लप नामका फ्रेन्च नागरिकलाई नियुक्त गरेका थिए । उनको नेतृत्वमा २०० जति तोप निर्माण गरिएको थियो । उनले करिब १०० ओटा जति नेपाली सेनाका गण, गुल्म पल्टन बनाएका थिए ।
(नायव बहादुर शाहको प्रमाणित इतिहास : शमशेर बहादुर थापा)
सो कालखण्डमा नेपाल छिमेकी राष्ट्रहरूको तुलनामा बलियो राष्ट्र थियो । नेपालले तिब्बतलाई युद्धमा हराएर सो वापत तिब्बतले नेपाललाई प्रतिमहिना पचास हजार एक मोहर तिर्नुपर्ने सम्झौता भएको थियो । केही वर्ष खुरुखुरु पैसा तिरेको तिब्बतले पछि झुलाउन थाल्यो । यस्तै, कारणमा अर्को शरणार्थी फिर्ता सम्बन्धी कारण थपिँदै गर्दा वि.सं. १८४६ मा नेपाल र तिब्बतबीच युद्ध भयो । यसमा नेपालले शानदार विजय हासिल गऱ्यो । फेरि यसको तीन वर्षभित्र दोश्रो युद्ध भयो । यसपटक चिनिया सेनापतिको नेतृत्वमा तिब्बतलाई साथ दिन ठुलो संख्यामा सेनाहरू आएका कारण नेपाललाई युद्ध जित्न सम्भव भएन, तर केही भूभाग गुमाएर देश जोगाउन चाही सफल रहे । यो युद्धमा नेपाली सेनालाई पछि सार्दै चिनिया सेना बेत्रावतीसम्म आइपुगेको थियो । सयौं नेपाली सैनिकले ज्यान गुमाउनुपरेको थियो भने हजार भन्दा बढी चीन र तिब्बतको संयुक्त सेनाको मृत्यु भएको थियो । यो लडाइँलाई चीन र नेपाल दुवै देशले ‘गौरवपूर्ण जित’ भनेका छन् । चीनले आफ्नो इतिहासको ठुला १० विजयहरूको सूचीमा यसलाई राखेको थियो । (श्री ५ रणबहादुर शाह : चित्तरञ्जन नेपाली)
पृथ्वीनारायण शाह, बहादुर शाह र राजेन्द्र लक्ष्मी शाह यिनै तीन सपुतको नेतृत्व तथा हजारौँ वीरहरूको बलिदान र शाहसले यो मुलुक बन्यो र आज हामीले नेपाली भन्न पाएका छौँ । पृथ्वीनारायण शाह राजा बनेको वर्ष वि.सं. १७९८ देखि बहादुर शाहको मृत्यु भएको वर्ष वि.सं. १८५० सम्मका ५२ वर्षको हिसाब सायद सबैलाई चित्तबुझ्दो लाग्यो होला ।
रणबहादुर र गिर्वाणयुद्ध कालखण्ड :
वि.सं. १८५० देखि १९०३ मा देश राणाशासनको कब्जामा पर्नुअघिका ४९ वर्ष देशको खासै उन्नति हुन सकेन । यद्यपि शासकहरू देशको रक्षा गर्न भने सफल रहे ।
बहादुर शाहको मृत्युपछि राजा बनेका रणबहादुर शाहलाई शाह बंशको इतिहासमा पागल, निष्ठुर र असक्षम राजा भनेर चिनाउने गरिएको छ । तथापि उनले केही विवादास्पद क्रियाकलाप देखाएपनि देशको सार्वभौमिकता जोगाउन आफ्नो प्राण आहुति दिएका थिए ।
उनको अनुपस्थितिमा भारदारहरूले अंग्रेजसँग गरेको राष्ट्रघाती सम्झौता असफल पारेर देशलाई अंग्रेजको सामन्त राज्य हुनबाट जोगाएका थिए । यो षडयन्त्र चिर्न भनेर राजा हतार–हतार स्वदेश फर्किन्छन् र वि.सं. १८६३ बैशाख ७ शनिबारको दिन षड्यन्त्रकारी र राजा पक्षको बैठक बस्छन् । षड्यन्त्रकारी रणबहादुरका सौतेनी भाइ शेरबहादुर शाहले राजासँग माफी माग्ने प्रयास गर्छन् ।
राजाले ‘तैँले मेरा जिउलाई गरेको बिराम माफी हुन्छ तर ढुंगा (देश) उपर गरेको बिरामको माफी हुन्न’ भने । आत्तिएका शेरबहादुर ‘एकछिन पानी पियर आउँछु’ भनेर निस्कियो । यतिकैमा बाहिर स्याल कराएको सुनियो । महाराज स्याल कराएको सुन्दै हुनुहुन्थ्यो तत्काल शेरबहादुर फर्केर आइ महाराजमाथि तरबार प्रहार गऱ्यो र महाराजको हत्या गऱ्यो । तत्काल रणबहादुरका विश्वासपात्र काजी बालनरसिंह कुँवरले शेरबहादुरलाई पनि हत्या गरेपछि अंग्रेजको षडयन्त्र असफल भएको थियो । (रणबहादुर शाह – चित्तरंजन नेपाली)
१८५४ फाल्गुन २८ गते राजा बनेका डेढ वर्षीय बालक राजा गिर्वाणयुद्धको १९ वर्षकै उमेरमा बिफर रोगले मृत्यु भयो । उनको शासनकालमा उनको नायवीस्वरुप महारानी ललितत्रिपुरा सुन्दरी र काजी भीमसेन थापाले शासन चलाए । अंग्रेजले वि.सं. १८७१ मा बुटवल र शिवराजक्षेत्रमा सिमा मिचिएको बहाना बनाउदै नेपालमाथि हमला गऱ्यो । युद्धमा नेपालमाथि ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहन, जैथक, मलाउँ, देउथल तथा नालापानी लगायत क्षेत्रमा आक्रमण गर्दा नेपालीले पनि वीरताका साथ युद्ध लडे । कतै नेपालले जित्यो, कतै हाऱ्यो । बुटवल पाल्पा क्षेत्रमा कर्नेल उजिर सिंहको नेतृत्वमा सानदार युद्ध भयो । तिनाउ नदी तर्ने क्रममा नेपाली सेनाले ७-८ सय अंग्रेज सेना मारिदिए ।
नालापानीमा बलभद्र कुँवरको नेतृत्वमा करिव ६०० जना नेपाली त्यसमा समेत महिला, बालबालिका लगायत केही सेना ५ हजार अंग्रेज सेनासँग डेढ महिना सम्म युद्ध गऱ्यो । बहादुरीका साथ लडेका नेपालीलाई हराउन अंग्रेजले नालापानिमा पानीको स्रोत बन्द गरायो । पानीसमेत नपाइ अधिकांश नेपाली मरेर ७० जना मात्र बाँकी रहेको इतिहासकार बताउँछन् । तैपनि उनीहरूले आत्मसमर्पण गर्न मानेनन् ।
यो युद्धमा नेपालले जम्मा भूमिको एक तिहाई भूमि गुमाउनु पऱ्यो । अंग्रेजले १५ दिनभित्र सही गरि पठाउनु भनि पठाएको असमान सुगौली सन्धी नेपालले ९३ दिनसम्म सही गरेन । तथापि, अंग्रेजले अब काठमाडौंमै आक्रमण गरिँदैछ भन्नेखालका हल्ला फैलायो, अनेक प्रपन्च रचेर नेपाललाई गलाउन सफल भयो । नेपालले पूरै देश गुमाउनु भन्दा एकतिहाई भूमि छोड्न बाध्य भयो । नेपालका तर्फबाट राजाले नै सही गर्नुपर्ने अंग्रेजको सर्त थियो तर राजा गिर्वाणयुद्ध विक्रम शाहको सही त छैन नै उनको सहमति थियो भन्ने प्रमाण समेत कतै भेटिँदैन । ४ मार्च १८१६ का दिन भएको यो सम्झौतामा नेपाली पक्षबाट राजगुरु पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायको सही भेटिन्छ ।
यो कालखण्डको हिसाबकिताब त्यति उत्साहजनक छैन तर देश जोगिएको छ । राजा पनि सुरुमा नाबालक बिस्तारै बयस्क हुँदै गरेको समय पऱ्यो । बाँकी रहेका नायव, भारदार तथा सेनाहरूको बहादुरी दुस्मन स्वयंले तारिफ गरेको छ । काजि अमरसिंह थापा, काजी बलभद्र कुँवर, सर्दार भक्ति थापा, काजी उजिरसिंह थापा, काजि बंशराज गुरुङ हरूलाई स्वयं अंग्रेजले सम्मान गरेको थियो । यही युद्ध हेरेर अंग्रेज र इंडियाले नेपाली युवालाई आफ्नो सेनामा भर्ति गर्न सुरु गरेको थियो ।
राणा कालखण्ड :
गिर्वाणयुद्धपछिका राजाहरू राजेन्द्र विक्रम शाह, सुरेन्द्र विक्रम शाह, पृथ्वी वीर विक्रम शाहको पूरै समय अर्थात् १०४ वर्ष राणा शासन लागु भयो । राणाकालमा जहानिया शासन लागु भयो । ठुलाबडाले मात्र पढ्न-लेख्न पाए, तथापि उनीहरूले समेत देशको सीमा र धर्म-संस्कृतिको रक्षा चाहिँ एकदम चलाखीका साथ गरेको पाइन्छ । अवान्छित गतिविधि गर्ने विदेशीलाई तुरुन्त देश निकाला गरिन्थ्यो भने शङ्कास्पद व्यक्ति नेपाली सीमाभित्र छिर्न नै पाउँदैनथ्यो । यो कालखण्डमा सबैभन्दा ठोस उपलब्धि जंगबहादुरले देशले सुगौली सन्धिपछि गुमाएको चार जिल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याएका छन् । १८५७ मा भारतमा भएको सिपाही विद्रोहमा अंग्रेजको आग्रहमा जंगबहादुरले नेपाली फौज लियर आफै सघाउन गए । नेपालीले यति बहादुरीपूर्ण युद्ध गऱ्यो कि अंग्रेजले खुशी भएर यी जिल्लाहरू फिर्ता दिएको थियो । साथै त्यसपछि नेपालमाथि आक्रमण गर्ने सोच त्यागेको थियो ।
त्रिभुवन र महेन्द्र कालखण्ड :
राणा शासनको अन्त्य गर्न राजा त्रिभुवनले समेत नेपाली दलहरूलाई साथ दिए । भलै त्यो प्रजातन्त्रको आवरणमा इण्डियाले हामीमाथि के-के लाद्यो – त्यो पनि चर्चा गर्ने छौँ । यद्यपि प्रजातन्त्रका पक्षधर हौँ भन्नेहरूले राजा त्रिभुवनलाई सकारात्मक नमानी सुखै भएन ।
राजा महेन्द्रले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म अर्थात् जम्मा १७ वर्ष १० महिना १७ दिन आधुनिक नेपालको नवौं राजाको रुपमा राजकाज गरे । त्यसमध्येमा उनले करिव १० वर्षमात्र प्रत्यक्ष शासन चलाएका थिए । वास्तवमा यही महेन्द्र कालखण्डमा देशको मेरुदण्ड बन्यो । सोही १० वर्षले हाम्रो देश नेपाल ‘देश’ जस्तो बनेको छ ।
प्रजातन्त्र ल्याउन भूमिका खेलेवापत भारतले नेपाल र चीनको सीमानाका १७ ठाँउमा आफ्नो सैनिक क्याम्प खडा गरेको थियो । साथै नेपाली मन्त्रिपरिषद्को बैठकमा आफ्नो राजदूतको उपस्थिति अनिवार्य गरेको थियो । राजा महेन्द्रले भारतीय सैनिक फिर्ता गरिदिए साथै मन्त्रिपरिषदमा भारतीय राजदूतको उपस्थिति नियम खारेज गरिदिए । उनका अन्य ऐतिहासिक कार्यहरूमा महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, चीन भ्रमण र सगरमाथा र मुस्ताङ फिर्ता, त्रिभुवन विश्वविद्यालय स्थापना, सर्वोच्च अदालतको स्थापना, नेपाल राष्ट्र बैंकको स्थापना, भूमिसम्बन्धी ऐन २०२१, नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता र १५ वटा उद्योग कलकारखाना आदि उनका योगदानमा पर्दछन् । (राजा महेन्द्रले गरेका कामहरू विस्तृतमा यहाँ उल्लेख गर्दा यो आलेख धेरै लामो बन्ने हुँदा त्योसम्बन्धी छुट्टै आलेख हामी छिट्टै पस्कने छौँ) । एउटा नेपालीलाई महेन्द्र कालखण्डको हिसाब–किताब चित्त नबुझ्ने प्रश्न नै रहँदैन । किनभने यही कालखण्डमा नेपाल देश जस्तो बनेको छ ।
वीरेन्द्र कालखण्ड :
राजा वीरेन्द्रका पालामा देशमा धेरै विकासका कामहरू भएका छन् । उनका केही प्रमुख कार्यहरूलाई संक्षिप्तमा चर्चा गरौँ –
आर्थिक विकाश :
२०२७ सालमा आर्थिक विकाशलाई व्यवस्थित राष्ट्रिय विकाश परिषद् गठन गरि योजनावद्ध (पन्चवर्षीय) विकाशको सुरुवात गरियो साथै २०३० सालमा नयाँ औद्योगिक नीति २०३० लागु गरियो ।
२०२७-२०३२ सम्ममात्र ५१० उद्योगहरूको इजाजतपत्र प्रदान गरिएको थियो जसमा ९५७३.३२ लाख लगानी हुने अनुमान गरिएको थियो । यसै योजना कालमा देशमा दर्ता भएका उद्योगहरूको संख्या पब्लिक लिमिटेड कं १३, प्रालि २८०, साझेदारी २५५ र एकलौटी १५०९ गरी जम्मा २०५७ थियो ।
जुट ६५.४५ मे.ट., चिनी ५९६८८ मे.ट., चुरोट १२२०.५ करोड खिल्ली, सलाई २९१६ ग्रुस, जुत्ता ३९१ हजार जोर, चिया ३७७ मे.ट., मदिरा १३२८ हजार लिटर, इँटा १२६९ लाख, बिस्कुट १६९६ टन, साबुन ४३६४ मे.ट., छाला ४९० मे.ट. उत्पादन भएको थियो । यस कालमा उद्योग कलकारखाना खोल्न निजी क्षेत्रलाई पनि प्रोत्साहन गरिएको थियो ।
२०३२-२०३७ पाँचौ योजनामा :
३१९६ वटा उद्योग दर्ता भइ २२६३४ लाख लगानी हुने अनुमान गरिएको थियो । हेटौंडा कपडा कारखाना, भक्तपुर इँटा कारखाना तथा कृषि चुन कारखानाले उत्पादन कार्य सुरु गरेका थिए । भक्तपुर, सुर्खेत र धनकुटामा औद्योगिक क्षेत्र स्थापना गरियो ।
२०३७-२०४२ छैटौं योजनामा :
हिमाल सिमेन्टको उत्पादन बिस्तार गरेर दैनिक ४०० मे. ट. पुऱ्याउने, हेटौंडा सिमेन्टले उत्पादन सुरु गर्ने, भृकुटी कागज कारखाना, अर्को एक निजी कागज कारखाना निर्माणको ७० प्रतिशत काम पूरा हुनुको साथै नेपालगन्जमा दैनिक ३० मे. टन क्षमताको सरकारी कागज कारखाना निर्माण सुरु भयो । साथै बुटवलमा सुती धागो र नवलपरासीमा चिनी कारखाना निर्माण कार्य सुरु भए । खरीढुङ्गा म्याग्नेसाइट, सिसा उद्योग निर्माणाधीन थिए । कपास विकास समिति र सुर्ती विकास समितिलाई व्यापक सुधार गरियो ।
२०३८/३९ मा विभिन्न उद्योगमा रोजगारी प्राप्त संख्या ८१०५० थियो । दोस्रो योजनादेखि छैटौँ योजनाको अन्त्यसम्ममा देशभर प. लि. क. ७५, प्रा. लि. २०१२, साझेदारी १६२२ र एकलौटी ११२६७ गरि जम्मा १४९७६ उद्योगहरू दर्ता थिए ।
छैटौँ योजनामा जुट ९०८०० मे. ट., चीनी ८३६८४ मे.ट., चुरोट १६०९.२ करोड खिल्ली, सलाई ४१६७ हजार ग्रुस, जुत्ता ३८७००० जोर, चिया २८१७ मे.ट., मदिरा उच्च कोटीको ३४८६ किलो लिटर, इँटा १३५३ लाख गोटा, बिस्कुट १४९७८ मे.ट., साबुन २३०५७ मे.ट., सिमेन्ट १६३७२३ मे.ट. थियो ।
नेपाल औधोगिक विकास कर्पोरेसनको लगानी दोस्रो योजना कालमा १ करोड ९२ लाख रहेकोमा छैटौँ योजनामा आइपुग्दा २५ करोड ८ लाख रह्यो । यो बाहेक बाणिज्य बैँकबाट ठुलो लगानी थियो । सरकारी क्षेत्रमा २० भन्दा बढि उद्योग संचालित रहे केही निर्माणाधीन थिए ।
पर्यटनमा राम्रो सुधार भइ वार्षिक १९ करोड ८० लाख ५८ हजार अमेरिकी डलर आर्जन भएको थियो । २०१८-१९ सालसंम आन्तरिक उडान ११ स्थान र बाह्य उडान २ भएकोमा २०४१÷४२ सम्म आन्तरिक ३७ स्थान र बाह्य भारतका ३ शहर, श्रीलङ्का, थाइल्याण्ड, हङकङ, बंगलादेश, बर्मा, पाकिस्तान, दुबई र सिंगापुर गरि १० स्थानमा उडान भयो । २०१७ सालमा ११९८ किमी सडक थियो भने २०४०/४१ मा ५७१७ किमी रह्यो ।
२०१७ सालअघि नेपालमा कूल विद्युत शक्ति उत्पादन क्षमता ७०३० किलोवाट रहेकोमा २०४१÷४२ मा १७०,०२९ किलोवाट पुग्यो । कुलेखानी, त्रिशूली, देवीघाट, सुनकोशी र पनौती जलविद्युत लगाएत ९ ठुला र ११ साना गरि जम्मा २० परियोजनाहरू पंच्यायत कालमा सुरु भएका थिए ।
१७ सालमा एउटा बाणिज्य बैँक र यसका १६ साखा त्यो पनि १३ वटा शहरमा ३ वटा मात्र ग्रामीण क्षेत्रमा थिए भने २०४१÷४२ सालमा आइपुग्दा ३ बाणिज्य बैँक र ३८१ शाखा बिस्तार भए, ४० प्रतिशत शाखा ग्रामीण भेगमा थिए । (डाटा : पंचायत स्मारिका २०१७-२०४२)
शैक्षिक विकाश :
२०१८ सालमा १६ जिल्लामा ३१ वटा क्याम्पस रहेकामा २०४२ मा ५२ जिल्लामा ११८ वटा पुगे । ३८१७ जना त्रिविविमा शिक्षक थिए भने ५३९९१ विद्यार्थी ।
२०१८ सालमा देशभर १५६ मावि थिए भने २०२९ सालमा ४९४ र २०४१ सालमा प्रावि ११६६०, निमावि ३४२० वटा र मावि १२३५ पुग्यो ।
प्रशासन सुधार :
२०४२ सालमा निजामती सेवामा नयाँ स्वरूप लागु गरियो । जसले निजामती सेवा प्रशासनलाई बढी व्यवस्थित, सक्षम, सुदृढ, मर्यादित र वृत्ति विकास तर्फ डोऱ्यायो । राज्यका तलदेखि माथिसम्म निकायहरूबीच समन्वय, संगठनिक संरचना सुधार, काम कर्तव्य र अधिकार पुनरावलोकन । सन् १९८० मा संयुक्त अधिराज्य भ्रमण गरेर कुशल कुटनैतिक पहल गरी प्राविधिक सहयोग प्राप्त गरेपछि स्टाफ कलेज खुल्यो । कर्मचारी प्रशिक्षण अहिले यहीँबाट हुन्छ ।
विकेन्द्रीकरणको सिद्धान्तबमोजिम नेपाललाई ५ विकाश क्षेत्रमा विभाजन गरियो ।
शान्तिक्षेत्रको अभियान :
राजा वीरेन्द्रले सन् १९७५ फेब्रुअरी २५ मा आफ्नो राज्यभिषेकका लागि विश्वभरबाट उपस्थित उच्चपदस्त पाहुनालाई विदाई गर्न आयोजित कार्यक्रममा नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भनी प्रस्ताव राखे । उक्त प्रस्ताव भारतबाहेक अन्य सबै देशले स्वीकार गरेका थिए । एक इलाकामा स्थापना गरिएको शान्तिक्षेत्रलाई संसारका अरु भागमा बिस्तार गर्दै लैजाने, असंलग्न नीति पालना बढाउने । नेपाल कुनै पनि देशको कुभलो नचाहने राष्ट्र भएको हुँदा विश्वका सबै राष्ट्रहरूसँग मिलेर विश्वशान्तिको पहल नेतृत्व लिने नीति उहाँको थियो । २०३४ सालमा कोलम्बोमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा बोल्दै ‘हाम्रो नदीनालाको उपयोगवापत नेपाललाई समुन्द्रसम्म बाटो चाहिन्छ भन्ने अभिव्यक्ति दिए । उनले सो सन्दर्भमा युरोपमा अष्ट्रीया र स्विट्जरल्यान्डको उदाहरणसमेत पेश गरेका थिए । वीरेन्द्र कालखण्डको हिसाब नेताको तुलनामा अतुलनीय छ ।
ज्ञानेन्द्र कालखण्ड :
२०५८ साल जेष्ठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्र र उनको सारा परिवार मरिएपछि अपर्झट र अप्रत्यासित रुपमा राजा बनेका ज्ञानेन्द्र सम्भवतः इतिहासकै सबैभन्दा अलोकप्रिय बनाइएका राजा हुन् । अहिलेसम्म पनि रहस्यको गर्भमा लुकेको दरबार हत्याकाण्डमा विदेशी षड्यन्त्र छ भन्ने कुरा विस्तारै खुल्दैछ, यद्यपि तत्कालिन समयमा देशी-विदेशी तत्वले यो दोष उनमाथि थोपऱ्यो । बाबुराम भट्टराईले त लेख नै लेखेर उनलाई दोषी करार गर्दिए । जनताले हो न हो वीरेन्द्र परिवार नरहँदा ज्ञानेन्द्र राजा बन्न पाउने अर्थात् फाइदा उनलाई नै हुने हुँदा उनमाथि शंका गरे । तर, षडयन्त्रकारी हामीभन्दा बढी बाठो पनि हुनसक्छ, शंकाको सुइ परिवारभित्रै सोझ्याएर आफू बचेको हुनसक्छ भन्नेतर्फ कसैले सोचेनन् ।
अबचाहिँ एक सचेत नागरिकले के विचार गर्न जरुरी छ भने दरबार हत्याकाण्ड यदि ज्ञानेन्द्रले गराएका हुन्थे भने यी दलहरूले उनलाई अहिलेसम्म जेलमा नकोचेर सरकारी दरबार नागार्जुनमा राख्ने थिएनन् । बेला–बेलामा राजाले चुनौती दिँदासमेत सहेर बस्ने थिएनन् । आफ्नो बाटोमा आउने नयाँ दल र स्वतन्त्र मेयरलाई समेत नछोड्नेले व्यवस्था नै बदल्न सक्ने राजालाई दयामायाले छोडेका किमार्थ होइनन् ।
त्यसपछि २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले शासनव्यवस्था हातमा लिएपछि उनलाई थप अलोकप्रिय बनाइयो । तथापि तत्कालिन देशको परिस्थिति भने दयनिय थियो । एकातर्फ मावोवादी युद्ध अर्कोतिर दलहरूको अस्थिर र भ्रष्ट प्रवृत्तिका कारण उनले सत्ता हात लिनुलाई अस्वाभाविक मान्न सकिँदैन । त्यसैले होला प्रत्येक्ष शासनव्यवस्था हात लिँदासमेत तत्कालिन ७ दलका २-४ सय कार्यकर्ता बाहेक कोही पनि सडकमा आएका थिएनन् ।
दलहरूले आफ्नो कर्तव्य पूरा गरेको भए राजाले ‘कू’ गर्नुपर्ने अवस्था नै आउने थिएन । हाल जेन्जी आन्दोलनले ओली सरकारलाई किन अपदस्थ गर्नुपरेको होला ? ओली सरकार जननिर्वाचित लोकतान्त्रिक सरकार नै थियो । यो एउटा गतिलो उदाहरण हो, अब नवयुवाले राजा बारेमा फैलाइएका भ्रम चिर्न सक्नुपर्दछ ।
राजाले आफूलाई नसोधी ज्ञानेन्द्रले सत्ता हातमा लिए भन्ने घमण्डले चिढिएको इण्डिया, तत्कालिन सात दल र माओवादी तीनै पक्षको स्वार्थ मिल्दा दिल्लीमा बाह्रबुँदे सहमति गर्दै कथित जनआन्दोलन २०६२/६३ सुरु भयो । आन्दोलन उत्सर्गमा पुग्दा इन्डियन विशेष दूत आएर राजालाई भेटे । जानकारहरू उक्त भेटमा राजालाई इण्डियाले भुटान बनेर बसे राजसंस्था सधै कायम रहने र आफूहरूले सातदल र माओवादीलाई मनाउने प्रस्ताव राखेको बताउँछन् । यद्यपि राजा ज्ञानेन्द्रले उनको प्रस्ताव ठाडै अस्विकार गर्दै बरु दलहरूसँग झुक्ने निर्णय लिए । २०६३ साल बैशाख १२ गते संसद् पुनर्स्थापना गरेर जनताको नासो जनतालाई बुझाएको घोषणा गरे ।
राजाले यति छिटै सत्ता छोड्ने कसैले अनुमान गरेको थिएन । त्योभन्दा आश्चर्य त यो भैदियो कि दलहरूले गणतन्त्र घोषणा गरेर राजालाई दरबार छोड्न उर्दी जारी गरेपछि मिति २०६५ जेठ २९ गते उनले समयसीमाभित्रै आफैले गाडी चलाएर हाँसी-हाँसी दरबार छोडिदिए । त्यसपछि पनि नेपालमै बसे, जनतासँग भेटघाट/साक्षात्कार गरिरहे । आफू नेपाली जनताको लागि नै बाँचेको देश नछोडेको बताइरहे ।
संसारमा यति सजिलै राजाले गद्दी त्यागेको इतिहास छैन । उनले चाहेको भए सेना प्रयोग गरेर आफ्नो प्रतिरक्षा गर्न सक्थे । मुठभेडमा हजारौँ जनता मर्न सक्थे । आफू राजा नै बन्ने उनको प्रमुख लक्ष्य हुन्थ्यो भने भारतीय दूतको ‘भुटान’ बन्ने प्रस्ताव स्वीकार गर्थे । उनको यो राष्ट्रवाद र त्यागको इतिहासले कदर गर्ने नै छ । ज्ञानेन्द्र कालखण्डको हिसाब–किताब मुल्याङ्कन गर्ने जिम्मा पाठकलाई नै छोडौँ ।
नेता र राजाको तुलना :
वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेपालका ४६औं प्रधानमन्त्री हुन् । अर्थात्, देशले ४६ ओटा प्रधानमन्त्री भोगिसकेको छ । यी ४६ जना प्रधानमन्त्रीले देशलाई के दिए – एउटा जटिल प्रश्न खडा भएको छ, जबकि पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र वीर विक्रम शाहसम्म आइपुग्दा देशमा १३ जना राजा बने । राणा शासनका पालामा खोपीमा बसेका तीन जना राजा घटाउने हो भने १० जना सक्रिय राजा देखिन्छन् । १० जनामध्येमा पृथ्वीनारायण शाह, बहादुर शाह, राजेन्द्र राज्यलक्ष्मी शाह (प्रताप सिंह शाहको सट्टामा), महेन्द्र वीर विक्रम शाह, वीरेन्द्र वीर विक्रम शाह गरि पाँच जना योद्धालाई आज पनि आम नेपालीले गर्वका साथ सलाम ठोक्छन् । राजा त्रिभुवनको प्रजातन्त्रप्रतिको मोह र ज्ञानेन्द्रको राष्ट्रवाद र त्यागको प्रशंसा गर्दछन् । माथि उल्लेखित राजाहरूको तुलनामा ४६ ओटा प्रधानमन्त्रीमध्ये कतिजनालाई जनताले सलाम ठोक्छन् र कतिजनाको त्यागको प्रशंसा गर्दछन् – चिन्तन मनन गरौँ ।
कुरा साँचो हो कि सबै राजाले राम्रो गर्न सकेनन्, तर राजाहरूले केही पनि गरेनन् भनेर २०६२/६३ पछि जन्मिएका, त्यसपछि मात्र राजनीति बुझ्ने बालिग बनेका नागरिक र अब भविष्यमा जन्मने नागरिकमाथि झुटो इतिहास लाद्न मिल्दैन । नाममात्र लोकतन्त्र हुँदैमा त्यो लोकको तन्त्र नहुन सक्छ । राजा भन्दैमा त्यो निरङ्कुश तानाशाह नै नहुन सक्छ । इतिहास भनेको जस्ताको त्यस्तै राख्नुपर्छ यसलाई तोडमोड गर्ने अधिकार कसैलाई छैन । दलहरूले भाष्य निर्माण गरेजस्तो राजाहरूले मोजमस्ती मात्र गरेर बसेका थिएनन् । कतिपय राजाको जीवन रणभूमिमा युद्ध गरेरै बित्यो भने कतिपयले दिनरात देशको लागि खटेरै बिताए । इतिहासले नेतामा भन्दा राजामा अति देशप्रेम हुँदोरहेछ भन्ने प्रमाणित गरिसकेको छ ।
अहिलेका दलहरू भन्दा राणाहरूमा राष्ट्रवाद र दूरदर्शिता देखिन्छ । उनीहरूले चाहेको भए उहिल्यै राजसंस्था हटाएर आफैलाई ‘राजा’ घोषणा गर्नसक्थे । तथापि, इतिहास र संस्कृतिको मूल्य बुझेका, राजा र जनताको नाता चिनेका कारण उनीहरूले त्यस्तो गर्न चाहेनन् ।
इतिहासले सकारात्मक मुल्यांकन गरेका प्रधानमन्त्रीहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी हुन् । यद्यपि उनीहरूले देशलाई दिएको ‘प्रजातन्त्रको लागि लडेको’ बाहेक ठोस परिणाम राजाको बराबर देखिँदैन । यी तीनजना लोकप्रिय प्रधानमन्त्रीको लिस्टमा भविष्यमा प्रधानमन्त्री हुन सक्ने तर हुन नसकेका जनताका लोकप्रिय नेता मदन भण्डारीलाई समेत जोड्ने हो भने इतिहासमा ४ जना लोकप्रिय नेता भेटिन्छन् । स्मरण रहोस्, यी चारै जना नेता राजसंस्थाविरोधी थिएनन् । बिपी कोइराला त विगतमा भन्दा ‘मेलमिलापको नीति’ ल्याएपछि नै जनताका लोकप्रिय बनेका थिए । त्यसैले आजको दिनमा कसैले आफूलाई बीपीको अनुयायी हुँ भन्छ भने पनि राजसंस्थालाई निषेध गरेर त्यो भनाई सान्दर्भिक रहँदैन ।
प्रतिक्रिया