भ्यालेन्सिया म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान

भ्यालेन्सिया म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान


विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार (२१ मंसिर) नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । यससँगै उनले यसै वर्ष पछिल्लो ८ महिनाभित्र पाँच वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन ९४२.२ कि.मि. पुरा गर्दै गत अप्रिलरबैशाखमा लण्डन म्याराथन (२:४२:५०) मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन् । लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२:४६:२६)मा बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन् ।

यससँगै उनी विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरु सहभागीता रहेको यस म्याराथनमा ८०औं स्थान हासिल गरेकी छन् ।

त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । साथै यही कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

नेपाल युके रनको पहल र प्रवर्दनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन् । ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्याण्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन् । साथै नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छन् ।

सन् २०१९ मा १३औं सागमा नेपालका लागि ऐतिहासिक रुपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रुपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।

मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३औं सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छन्।

नयाँ राष्ट्रिय कीर्तिमान बनाएपछि सन्तोषीले यो कीर्तिमान सम्पूर्ण कर्मठ तथा संघर्षशील महिलाहरुप्रति समर्पित गरेकी छन् । उनले महिला हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान तथा कार्यक्रम चलिरहेको बेला बनाएको कीर्तिमानलाई महिलाप्रति समर्पण गर्न चाहेकी हुन् ।