मुस्ताङको घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रनजिकै गए राति हिउँचितुवाको आक्रमणमा परी १६ भेडा र तीन च्याङ्ग्रा मरेका छन् । स्थानीयवासी सन्तोष परियारको भेडाच्याङ्ग्रा खोरमा हिउँचितुवा पसेर भेडाच्याङ्ग्रा मारेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जानकारी दिएको छ ।
किसान परियारको मार्फास्थित गाउँभित्रको भेडाच्याङ्ग्रा खोरमा ४५ भेडाच्याङ्ग्रा रहेका थिए । तीमध्ये चितुवाको आक्रमणबाट १९ भेडाच्याङ्ग्रा मृत्यु भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । यसबाट करिब रु ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल जाँदै गरेको पनि उनले बताएका छन् ।
पछिल्लो समय मानव र हिउँचितुवाबीचको द्वन्द्व बढ्दै जान थालेको छ । हिउँदयाममा चरन क्षेत्रमा घाँसको अभाव हुने र हिउँचितुवाको आहारा प्रजातिहरु चरन क्षेत्र खोज्दै बस्तीनजिक आउने गर्छन् । हिउँचितुवा पनि आहारा पछ्याउँदै बस्ती नजिक आएर स्थानीय पशुपालकहरुको पशुधनमा क्षति पुऱ्याउने गरेको पाइएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण मानव र हिउँचितुवा बीचको सहअस्तित्व निर्माण गर्न चुनौती देखिएको छ । यसैका कारण जिल्लाका कतिपय किसानहरु पशुपालन व्यवसाय छोड्न थालिसकेका छन् ।
photo: rss
प्रतिक्रिया