त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड


कैलालीको त्रिनगर नाकाहुँदै दिनहुँ ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारीको लागि भारततर्फ जाने क्रम बढेको छ । चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू रोजगारीका लागि पुनः भारततर्फ लाग्ने क्रम बढेको हो । उनीहरू चाडपर्वसँगै खेतीपातीको काम सकेर फर्किन थालेका हुन् ।

त्रिनगरसीमास्थित सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीका अनुसार यही एक सातामा तीन हजार ७०१ जना नेपाली भारततर्फ लागेका छन् ।

‘नेपालमा सहजै रोजगारी पाइँदैन, यदि पाइहाल्यो भने पनि यहाँको कमाइले घरखर्च धान्न पनि धौधौ पर्दछ’, अछामको रामारोशनका मङ्ल परियारले भनेका छन्- ‘भारतमा रोजगारी सहजै पाइने र कमाएको पैसा पनि एकमुुष्ट देखिने भएकाले धेरैजसो म जस्ता बेरोजगार भारत जाने गरेका छौँ ।’

त्यस्तै, सोही नाकाबाट मुम्बई तर्फ लागेका चुरे गाउँपालिकाका झलक साउदले पनि आफू घरको सबै काम सकेर फेरि रोजगारीको लागि फर्किएको बताए । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका सर्वसाधारण मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायतका ठूला शहर जाने गर्छन् ।

photo: rss