फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीमाथि कानुनी जटिलता बढ्दै गएको बताइए पनि गत साता उनी सबैभन्दा बढी बिक्री हुने लेखकको रूपमा स्थापित भएका छन् ।
हालैको जेल अनुभवको बारेमा हतारमा लेखिएको सार्कोजीको ‘डायरी अफ अ प्रिजनर’ (एक कैदीको डायरी) पुस्तकले एक हप्ताभन्दा कम समयमा एक लाखभन्दा बढी प्रति बिक्री भएको बताइएको छ ।
पूर्वराष्ट्रपति सार्कोजी उमेरका हिसाबले ७० वर्षक भएका छन् । उनले अक्टोबर-नोभेम्बरमा आफ्नो तीन हप्ताको जेल जीवनको अनुभवलाई उक्त पुस्तकमा उतारिएको छ । उनी अहिले उत्साही प्रशंसकहरूलाई स्वागत गर्न राष्ट्रव्यापी भ्रमणमा रहेका छन् ।
बजार अनुसन्धान समूह निल्सन आईक्यू जीएफकेको बिक्री तथ्याङ्कलाई उद्धृत गर्दै प्रकाशन गृह फयार्डले ‘डायरी अफ अ प्रिजनर’ पुस्तक पसलहरूमा बिक्रीका लागि खुला गरिएको केही दिनमै अभूतपूर्व सङ्ख्यामा अर्थात् ९८ हजार ६१० प्रति बिक्री भएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ, ।
कुल २१६ पृष्ठको पुस्तकमा जेलको कोलाहलमा सार्कोजीको बसाई र जेलमा दिइने कम गुणस्तरको खानाको साथ सांसारिक संघर्षको वर्णन गरिएको छ । यसको उद्देश्य फ्रान्सेली जेलको यथार्थ चित्रणका साथै समसामयिक राजनीतिक सङ्घर्षका बारेमा पनि सन्देश दिनु रहेको विश्लेषकहरूले बताएका छन् ।
दक्षिणपन्थी रिपब्लिकन पार्टीका पूर्वप्रमुख सार्कोजीले पुस्तकमा उग्र दक्षिणपन्थी नेता मरिन ले पेनसँगको कुराकानीको खुलासा गर्दै परम्परागत दक्षिणपन्थी पार्टी र ले पेनको आप्रवासनविरोधी पार्टीबीच सम्भावित गठबन्धनको सङ्केत गरेका छन् । गठबन्धनको सङ्केत गर्दै उनी पुस्तकमा लेख्छन्, ‘अधिकारको पुनर्निर्माणको बाटो एकताको व्यापक सम्भावित भावनाको साथ बहिष्करण बिना र अभिशाप बिनामात्र सम्भव छ ।’
सार्कोजीलाई सन् २००७ मा लिबियाली तानाशाह मोहमर गद्दाफीसँग सन् २००७ मा राष्ट्रपति निर्वाचित भएको अभियानका लागि अवैध आर्थिक सहयोग मागेको आरोपमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो । उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो तर एक न्यायाधीशले उनलाई सर्तसहित रिहा गर्न आदेश दिएपछि २० दिनमात्र जेल जीवनपछि पेरिसको ‘ला सान्टे’ जेलबाट रिहा गरिएको थियो ।
सार्कोजीलाई अवैध आर्थिक सहयोग मागेको आरोपबाहेक अन्य दुई मुद्दाहरूमा दोषी ठहराइएको छ । लिबियाको चुनावी अभियानको आर्थिक सहयोग मुद्दामा एक प्रमुख अभियोजन साक्षीलाई घुस दिन खोजेको अभियोगमा अर्को सम्भावित मुद्दा उन र उनकी पत्नी कार्ला ब्रुनीमाथि लगाइएको छ ।
यद्यपि, पूर्वराष्ट्रपति र पत्नी ब्रुनीले सबै मुद्दाको खण्डन गर्दै आएका छन् ।
सार्कोजी सत्तामा आफ्नो एक सफल कार्यकालदेखि फ्रान्सेली एक दक्षिणपन्थी प्रभावशाली राजनीतिक खेलाडी र संस्मरण र पुस्तकहरूको एक विपुल लेखक बनेका छन् ।
प्रतिक्रिया