तीन करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर रास्वपा सभापति लामिछाने रिहा

तीन करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर रास्वपा सभापति लामिछाने रिहा


रास्वपाका सभापति रवि लामिछाने रुपन्देही अदालतबाट शुक्रबार (४ पुष) रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो ।

आदेशअनुसार उनलाई रुपन्देही जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । उनले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो । लामिछानेलाई चितवनको भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक मार्ग हुँदै करिब साढे ५ बजे रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

अदालतका सूचना अधिकारी पदम अर्यालले रविलाई शुक्रबार नै रिहा गर्नुपर्ने भएकाले साँझसम्म अदालत खुलेको खुलासा गरे ।

रिहा हुँदै लामिछानेले भने, ‘न्याय पाउन बाँकी नै छ । म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ । मैले बोल्ने समय आउँदै छ । मैले धेरै कुरा भन्न बाँकी छ ।’

लामिछानेले यसअघि जिल्ला अदालतमा जमानत लिएर रिहा गर्न माग गर्दै बैंक ग्यारेन्टी बुझाएका थिए । जिल्लाले त्यसरी छाड्न नमिल्ने बताउँदै अस्वीकार गरेको थियो । त्यसपछि सोही माग लिएर उनी उच्च अदालत पुगेका हुन् । उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

आदेशअनुसार रवि लामिछानेले जिल्ला अदालतले सुरुमा माग गरेको बिगोवापतको दुई करोड ७४ लाख ८४ हजार र एक करोड धरौटी गरी तीन करोड ७४ लाख ८४ हजार प्रभु बैंकमा जमानत बुझाएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । पछि फैसला हुँदा धरौटी र बिगोवापतको जमानतभन्दा बढी फैसला भएको खण्डमा स्वीकार गर्नुपर्ने अदालतको शर्त छ ।

ज्ञातव्य छ, सुप्रिम सहकारी ठगी प्रकरणमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको रु ५५ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोग छ ।

रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए, जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।

photo: rss