नेता कोइरालाद्वारा निर्वाचनको वातावरण बनाउन आग्रह

नेता कोइरालाद्वारा निर्वाचनको वातावरण बनाउन आग्रह


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

विराटनगर महानगरपालिका-६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे । त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उनले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने धारणा राखे ।

नेता कोइरालाले भने, ‘गत भदौ २४ गतेको जेनजी आन्दोलनका समयमा फरार रहेका पाँच हजार कैदीबन्दी करागार बाहिर छन् । प्रहरीबाट लुटिएका करिब पाँचदेखि सात हजार हतियार पक्राउ परेका छैनन् । तसर्थ, आमजनतामा त्रास र भयको वातावरण छ । यस्तो अवस्थामा सरकार, राजनीतिक दल, सरोकार भएका निकाय सबैले निर्वाचनको वातावरण बनाउन समन्वय गर्नुपर्ने हुन्छ ।’

नेता कोइरालाले कांग्रेस एक जिम्मेवार र जनचाहना अनरुप सञ्चालन हुने पार्टी भएकाले निर्वाचनको वातावरणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ रहेको बताए । उनले निर्वाचन र महाधिवेशनको तयारीसँगै शान्तिसुरक्षा कायम गराउनेतर्फ समन्वयात्मक भूमिका निर्वाह गर्न पार्टी सबै नेता कार्यकर्तालाई आग्रह गरे ।

photo: rss