विदेश पलायन गराउनकै लागि बाबुआमाले छोराछोरी जन्माउने, हुर्काउने, पढाउने र छोराछोरीले चाहिँ विदेशिनकै लागि पढ्ने जुन अवान्छित संस्कृतिको विकाश गरिएको छ यसले अन्ततः नेपाल रित्त्याउने भन्दा पनि नेपाल नै नरहने या गैरनेपालीको देश बन्ने सम्भावनालाई निकट तुल्याइरहेको छ ।
✍ देवप्रकाश त्रिपाठी
दार्शनिक दृष्टिमा संसार एउटै सारवस्तु हो, बाहिरी आँखाले देखेका सबै भ्रम हुन् ! हामीले नियमित र अविच्छिन्न रूपले देख्दै आएका बादल, पानी, धुलो, ढुङ्गा, माटो, जनावर, कीट, पन्छी, वस्त्र, मान्छे, वनस्पति, कम्प्युटर, जहाज, साइकल, मोटरकार, अन्न, फल, फूल आदि वस्तुलाई टुक्र्याउँदै जाँदा अन्तिममा देखिने/भेटिने एउटै तत्व हो, इलेक्ट्रोन, प्रोटोन न्युट्रन या गड पार्टिकल (ईश्वरतत्व), जे नामले चिनिएपनि अन्ततः तत्ववस्तु एउटै हो । यस अर्थमा जगतमा देखिएका – भेटिएका सबै एकै हुन् भन्न पनि मिल्यो र देखिएजस्तो होइन रहेछ संसार भनेर जगत मित्थ्या अर्थात् भ्रम हो भन्दा पनि भयो । समग्रमा विश्व ब्रह्माण्डलाई ईश्वरतत्वको उपहारका रूपमा बुझ्दा पनि भयो, इलेक्ट्रोन प्रोटोन र न्युट्रनका रूपमा बुझे पनि भयो र भ्रममात्र रहेको ठान्दा पनि भयो । तर दार्शनिक आँखामा संसारका सबै रूपमा देखिने वस्तु समानमात्र नभएर सारमा एउटै पनि हुन् । यसरी बुझ्दा हामीले खडा गरेका मूल्य मान्यता, नाता सम्बन्ध, भौतिक-अभौतिक धरोहरहरू पनि केही होइनन् भन्ने लाग्न सक्छ । तर भ्रमलाई एउटा सत्य मानेको अवस्थामा भ्रमभित्र हामी भएको र हाम्रो अस्तित्व रहेको पनि एउटा सत्य हो, अनुभूत गर्नसक्ने हामी छौँ – यो एउटा यथार्थ हो । त्यसैले हाम्रा मूल्य-मान्यता छन्, नाता सम्बन्ध छन्, सामाजिक व्यवहार छन्, इतिहास सभ्यता र संस्कृति छन् र हाम्रो पहिचान छ । यसरी विषयलाई बुझ्दा हामी छौँ र हाम्रा वङ्श छन् ।
प्रविधि र सुविधाको विकाशले आम मानिसलाई देहसुखको अतृप्त इच्छाले पूरै गाँजेको छ । त्यसैले संसार साँघुरो हुँदै गएको छ र भौतिक सुखको खोजिमा मानिस चौतर्फी भौंतारिएका छन् । सु – (अनुकुल), ख – (सिङ्गो आकाश) सिङ्गो आकाशलाई आफूअनुकुल बनाउने सोच नै सुखप्राप्तिको चाहना हो, जुन भयङ्कर खतरनाक छ । सुख जुन कहिल्यै स्थायीरूपले प्राप्त हुन सक्दैन त्यसैको प्राप्तिमा सारा मानिस दौडिइरहेछन् । जुन स्तरको सुखप्रप्त भएपनि खुशी नमिलेसम्म त्यसको कुनै अर्थ रहन्न, हो त्यही बिनाअर्थको अवस्था प्राप्तिलाई मूल साध्य बनाएर मानिस कुँदिरहेका छन् र यसले अब हामीलाई वङ्श बिसर्जनको अन्तिम सङ्घारमा पुऱ्याएको छ । कुलका निम्ति वङ्श आफैमा एउटा सभ्यता, पहिचान र संस्कृतिको मानक हो । हामी जो आज अस्तित्वमा छौँ हाम्रा पुर्खा को थिए र के गर्थे ? सभ्यताको विकाशमा तिनको योगदान कुन प्रकारको थियो भन्ने तथ्यबोधका निम्ति पनि वङ्शीय पहिचानको अपरिहार्यता रहन्छ । पशुपन्छी अर्थात् जनावरले आफ्नो वङ्शको वास्ता नराखिकन पनि जीवन चलाइरहेको तर्क दिएर वङ्श विस्मृतिको सोच राख्नु मानव सभ्यताका निम्ति कदापि उचित होइन ।
अहिले नेपालमा देश छोड्ने छोडाउने क्रममा जुन तीव्रता आएको छ, यसले वङ्श बिसर्जनलाई अभियानको रूप दिएको छ । आज नेपाल ठीक छैन, नेपालमा के छ र, नेपालमा बसेर के गर्न सकिन्छ र, यहाँ कुनै अवसर नै छैन, नेपालमा बसेर बर्बाद हुनु छैन भन्नेजस्ता भाष्य ब्याप्त बनाइएको छ । हरेक नेपाली युवा (अपवाद बाहेक) विदेशिनका लागि शैक्षिक प्रमाणपत्र चाहन्छन् र देश छोड्न पाएकोमा गौरव महसूस गर्छन् ! बाबु-आमासमेत छोराछोरीलाई मुलुकबाट पलायन गराउन पाएकोमा गौरवानुभूति गर्छन् ।
हो, पश्चिमी मुलुकमा वङ्श परम्परा छैन, आफ्नो नाममा बाबुको नामसम्म जोड्ने, बाँकी वास्ता नराख्ने उनीहरूको संस्कृति र संस्कार रहेको छ । जोनको छोरा जोनसन, डेभिडको छोरा डेभिडसन, जेफरको छोरा जेफरसन र ज्याकको छोरा ज्याक्सन (आदि/इत्यादि) भनिए पनि तिनलाई गोत्र थाहा हुँदैन र अब गोत्र निर्धारण गरिन पनि सम्भव हुँदैन । पूर्वीय सभ्यताले गोत्र परम्परालाई महत्वका साथ स्थापित गरेको छ । गोत्रले हामी सबैको इतिहास र पहिचान स्पष्ट गर्दछ । आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा, सभ्यता र ऐतिहासिकताबारे चासो र रूचि जनावरले नराखेकै कारण मानिसले पनि राख्नु नपर्ने कुरा तर्कसंगत होइन । विवेकीय चेत र सत्यको खोजप्रति सदा ब्यग्र रहने भएकोले नै मानिस अन्य प्राणी भन्दा भिन्न भएका हुन्, उत्कृष्ट मानिएका हुन् । आफ्नै कुल वङ्शबारे चासो नलिने, चासो राख्न नचाहने, थाहा नपाउने, आफ्नो इतिहास र सभ्यताक्रमबारे वास्ता नराख्ने प्राणी आकारले मानिस भएपनि प्रकारले मानिस भएको पुष्टि गर्दैन । आफ्नो कुल वङ्शबारे अभिरुचि लिनु, जीवन्त राख्नु भनेको हरेकको कुल वङ्शप्रति सम्मानभाव रहनु हो ।
तर, अहिले नेपालमा देश छोड्ने छोडाउने क्रममा जुन तीव्रता आएको छ, यसले वङ्श बिसर्जनलाई अभियानको रूप दिएको छ । आज नेपाल ठीक छैन, नेपालमा के छ र, नेपालमा बसेर के गर्न सकिन्छ र, यहाँ कुनै अवसर नै छैन, नेपालमा बसेर बर्बाद हुनु छैन भन्नेजस्ता भाष्य ब्याप्त बनाइएको छ । हरेक नेपाली युवा (अपवाद बाहेक) विदेशिनका लागि शैक्षिक प्रमाणपत्र चाहन्छन् र देश छोड्न पाएकोमा गौरव महसूस गर्छन् ! बाबु-आमासमेत छोराछोरीलाई मुलुकबाट पलायन गराउन पाएकोमा गौरवानुभूति गर्छन् । जसले आफ्ना सन्तानलाई विदेश पलायन गराएका छैनन् तिनलाई समाजमा सम्मान नमिल्ने स्थिति बनेको छ । त्यसैले सामाजिक मर्यादाको रक्षाका निम्ति पनि छोराछोरीलाई देशबाट धपाउनुपर्ने बाध्यता बाबु-आमालाई आइलागेको छ । दुःख त जहाँ पुगेपनि साथै रहने हो, तर आफ्नो देशमा दुःख पाउनु या दुःख गर्नुलाई चाहिँ नेपालमा राम्रो मान्न छोडिएको छ । त्यसैले विदेश पलायन गराउनकै लागि बाबुआमाले छोराछोरी जन्माउने, हुर्काउने, पढाउने र छोराछोरीले चाहिँ विदेशिनकै लागि पढ्ने जुन अवान्छित संस्कृतिको विकाश गरिएको छ यसले अन्ततः नेपाल रित्त्याउने भन्दा पनि नेपाल नै नरहने या गैरनेपालीको देश बन्ने सम्भावनालाई निकट तुल्याइरहेको छ । यो ‘अवान्छित संस्कृति’ले बहुआयामिक दुष्प्रभाव पार्दैछ र कालान्तरमा देशको अस्तित्व नै नरहने खतरा पैदा गरेको छ ।
जो विदेश पलायन हुन्छन् या गराइन्छन् त्यो एक पुस्ता मात्र (अपवाद बाहेक) नेपाल सम्झँदै बाँच्ने र मर्ने हुन् । विदेशिएको दोस्रो पुस्ता जो त्यहीँ जन्मिएको हुन्छ – उ सम्मले बाबुआमाबाट देशका बारेमा केही सुन्न/बुझ्न पाएको हुन्छ, तर तेस्रो पुस्ताले देश बुझ्ने चासो पनि राख्ने छैन । आफ्नै हजूरबा र हजूरआमा चिन्दैन, चिनिरहन आवश्यक पनि ठान्दैन ! जनकको सट्टा उ जोन बनेको हुन्छ ! उसले भाषा बुझ्दैन, नेपाली अक्षर चिन्दैन । साकेला, उधौली उभौली, देउडा र दशैँ, तिहारजस्ता चाडपर्व चिन्दैन, क्रिसमस र थ्याङ्क्स गिभिङ डे मात्र चिन्दछ ! मातृदिवस र पितृदिवसको महत्व बुझ्दैन, बाबुआमाको मृत्यु भएमा गरिनुपर्ने अन्त्येष्टीकर्म र श्राद्धकर्म बारे जान्दैन र जान्ने चासो पनि राख्दैन ! उसले शिव, राम, कृष्ण, हरि, नारायण, बुद्ध, र फाल्गुनन्द जस्ता भगवान् र गुरु चिन्दैन, क्रसमा झुण्ड्याइएको चित्रलाई नै भगवान् ठान्न थाल्दछ । उ यसरी अर्कै बन्छ कि हजूरबुबा हजूरआमाले नचिन्ने नाति बन्छ ! देशले नचिन्ने विदेशी बन्छ ! खासमा उ वङ्शच्युत भैसकेको हुन्छ, हामीले उसलाई वङ्श बिसर्जन गराएका हुन्छौँ, वङ्श बिसर्जन गर्न/गराउनमा गौरव महसूस गर्ने निरीह चरणमा हामी नेपाली बाबुआमा पुगेका छौँ !
अध्ययन, तालिम या अन्य कुनै शीर्षकमा एकपटक लामो समयका लागि छोराछोरीलाई विदेश धपाएपछि डलररूपी साङ्लोमा ती जकडिन थाल्छन्, विवाह गरेपछि छोराछोरी उतै जन्माउने लोभ र मोह हुन्छ, त्यसपछि तिनलाई पढाउने नाम र निहुँमा त्यतै बस्नुपर्ने ‘बाध्यता’ आइपर्छ, त्यसपश्चात् छोराछोरीले पढाइ पूरा गरेर या नगरिकन उतै रहने मन बनाएपछि डलरमा प्राप्त हुने वृद्धभत्ताले स्वदेश फर्कने बाटो छेक्छ र उसले आफ्नो इहलीला पनि आफ्नो वङ्शसङ्गै उतै बिसर्जन गर्छ !
पश्चिमी मुलुकमा वङ्श परम्परा छैन, आफ्नो नाममा बाबुको नामसम्म जोड्ने, बाँकी वास्ता नराख्ने उनीहरूको संस्कृति र संस्कार रहेको छ । जोनको छोरा जोनसन, डेभिडको छोरा डेभिडसन, जेफरको छोरा जेफरसन र ज्याकको छोरा ज्याक्सन (आदि/इत्यादि) भनिए पनि तिनलाई गोत्र थाहा हुँदैन र अब गोत्र निर्धारण गरिन पनि सम्भव हुँदैन । पूर्वीय सभ्यताले गोत्र परम्परालाई महत्वका साथ स्थापित गरेको छ । गोत्रले हामी सबैको इतिहास र पहिचान स्पष्ट गर्दछ ।
मुलुकको प्रशासन जनमुखी र नेतृत्व देशमुखी नभएका कारणले पनि वङ्श बिसर्जनको अघोषित अभियान ब्याप्त हुन पुगेको हो । नेपालमा सबै कुरा खराब र विदेशको सबै राम्रो हुन्छ भन्ने नियोजित सन्ददेश तथा हाम्रो शिक्षानीति र अन्तरवस्तुले हरेकलाई आत्मकेन्द्रित बनाएकोले पनि विदेशमोह जागेको हो । मानिस जहाँ रहन्छन् त्यहीँ दुःखको साथ रहने हो, तर आम मानिसलाई ठाउँ सरेपछि दुःख हट्ने विश्वास हुन्छ, दुःख पनि आफूसँगै सर्ने गर्छ भन्ने कुराको हेक्का राख्ने क्षमता प्रायः मानिसमा हुँदैन । संसारका हरेक वस्तु परिवर्तनीय छन्, रूपमात्र बदलिइरहने भएपनि सार स्थायी र स्थीर रहन्छ भन्ने दार्शनिक दृष्टि सही सत्य भएजस्तै विद्यमान जगतमा हामी भएको पनि सत्य नै हो । त्यसैले अध्यात्म विज्ञानसँगै विद्यमान वास्तविकता बारे पनि हरेक पुस्तालाई ज्ञान दिने शिक्षानीति अवलम्बन गर्न सक्नुपर्छ । कम्तिमा माध्यामिक तहसम्म स्वदेशप्रति गौरवान्वित हुने अन्तरवस्तु समावेश गरेर पाठ्यक्रम लागू गराउन सरकारलाई कसैले रोकेको थिएन, छैन ।
संसारका कैयन मुलुकमा असैह्य जाडो हुन्छ र कैयन मुलुक गर्मीले बस्नै नसकिने प्रकारका हुन्छन्, कतिपय मुलुकमा वनजङ्गल देख्न पाइँदैन, मरुभूमिकरण भएका छन्, कति मुलुकमा पहाड मात्र छन् र कतिमा समतल भूमि मात्र । धेरै मुलुकमा नदीनाला, झरना र तालतलैया छैनन् र कतिमा हिमाल देख्न/छुन पाइन्न ! तर नेपाल यी सबै प्राकृतिक उपहारले सम्पन्न छ, त्यसैले मानव बसोबासका निम्ति विश्वमै उत्कृष्ट भूमि नेपाल हो भन्ने ज्ञान-सन्देश बालबालिकामा दिनसके देश छोड्ने मानसिकता नबन्न सक्थ्यो भन्ने आशा गर्न सकिन्छ । इतिहास र इतिहासमा पुर्खाले देश निर्माण निम्ति दिएको वीरतापूर्ण योगदानबारे पनि पाठ्यसामग्रीमा गौरवका साथ समावेश गर्न सकिन्छ । यत्ति ब्यवस्था गर्न त अर्को क्रान्ति गर्नु नपर्ने हो ! नेपालप्रेमी या नेपालमैत्री राज्य प्रणाली या राज्य संयन्त्र नहुँदासम्म वङ्श बिसर्जनको अभियान निरुत्साहित हुने देखिएन ! तर दुःखको कुरा, शासनसत्ता समेत बिसर्जनवादीहरूकै कब्जामा परेको छ, हामी नेपालीको दिमागलाई नै अर्कैले बन्धक बनाएको छ, नीति निर्माण तहमा पुगेका या पुऱ्याइएकाहरू नै मान्छेको चोला छोडेर पुतला अर्थात् ‘डमी’को भूमिका निर्वाह गर्दैछन् । त्यसैले हामी हाम्रै भेषमा रहेका परायाहरूबाट अधीनस्थ भएका छौँ । पुर्खाले खडा गरिदिएको यो पवित्र भूमिको स्वतन्त्र अस्तित्वको रक्षा गर्न हातेमालो गर्न विलम्ब भइसकेको छ ! जय मातृभूमि !
प्रतिक्रिया