टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु


टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीहरूका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।

लिबियाका सैन्य प्रमुख, अन्य चार जना वरिष्ठ अधिकारी र तीन जना चालक दलका सदस्य सवार उक्त निजी जेट अङ्काराबाट उडान भरेको केही समयपछि दुर्घटनामा परेको टर्की र लिबियाका अधिकारीहरूले जानकारी दिएका छन् । दुई देशबीच सैन्य सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय रक्षा वार्ताका लागि लिबियाली प्रतिनिधिमण्डल अङ्कारामा रहेको टर्कीका अधिकारीहरूले बताएका छन् ।

लिबियाका प्रधानमन्त्री अब्दुल–हामिद दबीबाहले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै जनरल मुहम्मद अली अहमद अल-हदद र चार जना अन्य अधिकारीको निधन भएको पुष्टि गरेका छन् । उनले प्रतिनिधिमण्डल स्वदेश फर्कने क्रममा भएको यस घटनालाई ‘दुखद दुर्घटना’ को संज्ञा दिँदै यसलाई लिबियाका लागि ‘ठूलो क्षति’ भएको उल्लेख गरेका छन् ।

जनरल अल–हदद पश्चिमी लिबियाका शीर्ष सैन्य कमान्डर थिए । संयुक्त राष्ट्रसङ्घको पहलमा विभाजित लिबियाली सेनालाई एकताबद्ध गर्ने प्रयासहरूमा उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

दुर्घटनामा ज्यान गुमाउने अन्य चार अधिकारीमा लिबियाको स्थल सेनाका प्रमुख ब्रिगेडियर जनरल अल–फितोरी घ्राइबिल, सैन्य उत्पादन प्राधिकरणका प्रमुख जनरल महमुद अल–कतावी, चिफ अफ स्टाफका सल्लाहकार मोहम्मद अल–असावी दियाब तथा चिफ अफ स्टाफको कार्यालयमा कार्यरत सैन्य फोटोग्राफर मोहम्मद उमर अहमद महजुब रहेका छन् । तीन जना चालक दलका सदस्यको पहिचान भने तत्काल खुल्न सकेको छैन ।

टर्कीका अधिकारीहरूका अनुसार फाल्कन ५० प्रकारको व्यापारिक जेटको भग्नावशेष अङ्काराबाट करिब ७० किलोमिटर दक्षिणमा पर्ने हेमानाको केसिक्कवाक गाउँ नजिकै फेला परेको छ । यसअघि मङ्गलबार साँझ अङ्कारास्थित एसेनबोगा विमानस्थलबाट उडान भरेपछि लिबिया फर्कने क्रममा विमानसँग सम्पर्क विच्छेद भएको टर्कीका हवाई यातायात नियन्त्रकहरूले जानकारी दिएका थिए ।

टर्कीका गृहमन्त्री अली येरलिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विमान साँझ ८ः३० बजे उडेको र करिब ४० मिनेटपछि सम्पर्क गुमेको बताएका छन् । सबै सञ्चार बन्द हुनुअघि विमानले हेमानानजिकै आपतकालीन अवतरणको सङ्केत पठाएको बताइएको छ । स्थानीय टेलिभिजन च्यानलहरूले प्रसारण गरेको सुरक्षा क्यामेराको दृश्यमा हेमानाको रात्रि आकाश एकाएक विस्फोटले उज्यालो भएको देखिएको थियो।

अङ्कारामा रहँदा जनरल अल–हददले टर्कीका रक्षामन्त्री यासर गुलेर तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । दुर्घटनापछि अङ्काराको विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो र धेरै उडानहरू अन्यत्र मोडिएका थिए ।

सन् २०११ को विद्रोहपछि लामो समय शासन गरेका मुअम्मर गद्दाफीको पतन र मृत्यु भएयता लिबिया गहिरो अराजकतामा फस्दै आएको छ । देश पूर्व र पश्चिममा आधारित प्रतिस्पर्धी प्रशासन, सशस्त्र मिलिसिया र विभिन्न विदेशी शक्तिको समर्थनमा विभाजित रहँदै आएको छ ।

टर्कीले पश्चिमी लिबियास्थित सरकारसँग गठबन्धन कायम राखेको छ भने पछिल्लो समय पूर्वी क्षेत्रमा आधारित सरकारसँग पनि सम्बन्ध सुधार गर्ने प्रयास थालेको छ । टर्कीको संसद्ले लिबियामा तैनाथ टर्की सेनाको कार्यकाल दुई वर्षका लागि विस्तार गर्ने स्वीकृति दिएको भोलिपल्टै लिबियाली प्रतिनिधिमण्डल अङ्कारा पुगेको थियो । सन् २०१९ मा अङ्कारा र त्रिपोलीस्थित सरकारबीच भएको सुरक्षा तथा सैन्य सहयोग सम्झौतापछि टर्कीले लिबियामा सेना तैनाथ गर्दै आएको छ ।