राजा खुफूको डुङ्गा पुनः एकत्रित

राजा खुफूको डुङ्गा पुनः एकत्रित


ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको विशाल प्रदर्शनी हलमा एक प्राचीन इजिप्टियन फिरऊनको ऐतिहासिक डुङ्गा सार्वजनिक रूपमा पुनः भेला गर्ने काम सुरु भएको छ । गत मङ्गलबार (२३ डिसेम्बर) दर्जनौँ आगन्तुकको उपस्थितिमा राजा खुफूका दुई डुङ्गामध्ये एउटा देवदारको काठबाट बनेको डुङ्गालाई सङ्ग्रहालयका कर्मचारीहरूले सावधानीपूर्वक एक/एक भाग जोड्न थालेका छन् ।

बयालिस मिटर (१३७ फिट) लामो उक्त डुङ्गाको पुनर्संरचना प्रक्रिया यसको पहिले नै भेला भइसकेको जुम्ल्याहा डुङ्गाको छेउमै भइरहेको छ, जुन हाल सङ्ग्रहालयमा प्रदर्शनमा रहेको छ । ग्रान्ड इजिप्टियन सङ्ग्रहालयका पुनःस्थापना प्रमुख इसा जेइडनका अनुसार यस डुङ्गालाई पूर्ण रूपमा भेला गर्न करिब चार वर्ष लाग्ने अनुमान गरिएको छ । उक्त डुङ्गा एक हजार ६५० वटा काठका टुक्राबाट बनेको छ, जसलाई वैज्ञानिक विधि अपनाएर क्रमशः जडान गरिँदैछ ।

राजा खुफूले करिब चार हजार ५०० वर्षअघि प्राचीन इजिप्टमा शासन गरेका थिए र उनकै शासनकालमा गिजाको विश्वप्रसिद्ध महान् पिरामिड निर्माण गरिएको थियो । कार्यक्रममा सहभागी पर्यटन तथा पुरातत्वमन्त्री सेरिफ फाथीले यो पुनःस्थापना कार्यको ऐतिहासिक महत्त्व उल्लेख गर्दै भने, ‘आज यहाँ उपस्थित सबैले २१औँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण पुनःस्थापना परियोजनामध्ये एकको प्रत्यक्ष साक्षी बन्नु भएको छ ।’

करिब एक अर्ब अमेरिकी डलरको लागतमा निर्माण गरिएको जिइएम पनि भनिने ग्रान्ड इजिप्टियन सङ्ग्रहालयको गत महिना भव्य रूपमा उद्घाटन गरिएको थियो । उद्घाटनसँगै यसलाई विश्वकै सबैभन्दा ठूलो सङ्ग्रहालयका रूपमा चिनिएको छ । यस सङ्ग्रहालयमा करिब ५० हजार ऐतिहासिक तथा सांस्कृतिक कलाकृतिहरू सङ्गृहीत छन्, जसमा सन् १९२२ मा फेला परेको प्रसिद्ध राजा तुतानखामुनको समाधिबाट प्राप्त अमूल्य खजाना पनि समावेश छन् ।

कायरोको बाहिरी क्षेत्रमा गिजाको पिरामिडनजिकै अवस्थित यस सङ्ग्रहालयले इजिप्टको पर्यटन राजस्व वृद्धि गर्ने र कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त डुङ्गा सन् १९५४ मा ग्रेट पिरामिडको दक्षिणी भागमा फेला परेका दुईवटा डुङ्गामध्ये एक हो । सङ्ग्रहालयको वेबसाइटका अनुसार यसका काठका भागहरूको विस्तृत उत्खनन कार्य सन् २०१४ मा सुरु गरिएको थियो, जसपछि वैज्ञानिक परीक्षण र संरक्षणको प्रक्रिया अघि बढाइएको हो ।

डुङ्गाहरूको वास्तविक उद्देश्य अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन । यद्यपि, विशेषज्ञहरूका अनुसार ती डुङ्गा या त राजा खुफूको अन्त्येष्टिका क्रममा उनको पार्थिव शरीर ढुवानी गर्न प्रयोग गरिएका हुनसक्ने वा मृत्युपश्चात सूर्य देवता रासँगको आध्यात्मिक यात्राका लागि प्रतीकात्मक रूपमा प्रयोग गरिएको हुनसक्ने सङ्ग्रहालयले जनाएको छ ।

Photo: AP