चितवनस्थित देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।
देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो । क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो ।
यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिनहरु राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिए । देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उनको भनाइ छ ।
फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेका उनको भनाइ छ । सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको उल्लेख गर्दै देवघाटको दाहसंस्कार स्थलको फोहर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने अवस्था छ । अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायका कामहरु गरिएको उनको भनाइ छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
प्रतिक्रिया