थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको हिन्दू देवता विष्णुको मूर्ति हटाएको पुष्टि गरेको छ । थाई सरकारका अनुसार यस कदमको उद्देश्य धर्म वा विश्वासको अनादर गर्ने नभइ सीमा क्षेत्रमा नियन्त्रण कायम गर्नु र सुरक्षा सुनिश्चित गर्नु थियो ।
छिमेकी दुई देशबीच दुई हप्ताभन्दा बढी सैन्य झडपपछि सो मूर्ति ध्वस्त भएको थियो । कम्बोडियाका अधिकारीहरूले यसमा आपत्ति जनाए । प्रेह विहार प्रान्तीय प्रवक्ताले मूर्ति सन् २०१४ मा निर्माण भएको र सोमबार हटाइएको बताए ।
थाई सरकारले उक्त संरचना कुनै आधिकारिक धार्मिक स्थलको रूपमा दर्ता गरिएको नभइ केवल सजावटी तत्वको रूपमा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ, ‘अझ महत्त्वपूर्ण कुरा, यस क्षेत्रको प्रभावकारी नियन्त्रण सुनिश्चित गर्ने उद्देश्यका साथ मूर्ति हटाइएको थियो ।’
सो मूर्ति ध्वस्त पारिएको भिडियो यस हप्ता थाई सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो । गुगल नक्सा अनुसार मूर्ति कम्बोडियाको सीमाबाट करिब ४०० मिटर टाढा रहेको थियो ।
यो क्षेत्र लामो समयदेखि सीमा द्वन्द्वको केन्द्र रहँदै आएको छ । यस महिनामा सुरु भएको पछिल्लो झडपमा थाइल्यान्डमा २३ जना सैनिक र कम्बोडियामा २१ नागरिकको मृत्यु भएको सरकारी तथ्याङ्कले जनाएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले ‘नष्ट भएको मूर्तिलाई सैनिकहरूको जीवन वा अङ्गहरूसँग तुलना गर्न सकिँदैन’ भन्दै विवाद नियन्त्रणमा राख्न सरकार सक्रिय रहेको बताएका छन् ।
प्रतिक्रिया