नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवं नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग विशेष भेटवार्ता गरेका छन् ।
काठमाडौंको सोल्टी होटलमा बिहीबार (१० पुस) भएको भेटमा नेपालको उच्च शिक्षाको विद्यमान अवस्था, विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान, शैक्षिक गुणस्तर सुधार र समग्रमा युगानुकूल शिक्षा नीतिका विषयमा गहन छलफल भएको नेता महरको सचिवालयले जनाएको छ।
भेटका क्रममा नेता महरले विश्वविख्यात वैज्ञानिकको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूमा नयाँ ऊर्जा र प्रेरणा थपिने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालको जेठो विश्वविद्यालयका रूपमा रहेको त्रिविको शैक्षिक गुणस्तर उकास्न र अबको शिक्षालाई अनुसन्धानमूलक बनाउन यहाँको सुझाव हाम्रा लागि मार्गदर्शक हुनेछ।’ साथै, महरले विज्ञान र प्रविधिको क्षेत्रमा जापानले हासिल गरेको चमत्कारिक प्रगतिबाट नेपालले धेरै सिक्न सक्ने धारणा समेत राखेका थिए ।
भेटमा प्राध्यापक काजिताले नेपालको शैक्षिक तथा वैज्ञानिक क्षेत्रको उन्नतिको यात्रामा आफ्नो र जापानको तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
काजिता त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौं आएका हुन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनलाई ‘न्यूट्रिनो ओसिलेसन’को खोजका लागि उक्त प्रतिष्ठित पुरस्कार प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा महामन्त्री पदको सशक्त उम्मेदवार रहेका नेता महरले पछिल्लो समय बौद्धिक तथा प्राज्ञिक व्यक्तित्वहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । शिक्षा विभाग प्रमुख समेत रहेका उनले नेपालको शैक्षिक सुधार र नीति निर्माणका बहसहरूमा सक्रियता बढाउँदै आएका छन् ।
प्रतिक्रिया