जिल्ला प्रहरी काठमाडौंद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु

जिल्ला प्रहरी काठमाडौंद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु


जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले ‘हाम्रो प्रहरी’ अभियान सुरु गरेको छ ।

वसन्तपुर दरबार क्षेत्रमा आइतबार (१३ पुस) आयोजित एक समारोहबीच उक्त अभियानको शुभारम्भ गरिएको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विशेष समारोहबीच अभियानको उद्घाटन गरेका थिए ।

नेपाल प्रहरीप्रति नागरिकको विश्वास बढाउनु नै अभियानको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै महानिरीक्षक कार्कीले रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली युवालाई अब उप्रान्त नकारात्मक छविमा नचिनियोस् भन्ने चाहना व्यक्त गरे । उनले भने, ‘अब कसैले पनि नेपाली नागरिकलाई सिंहदरबार, प्रहरी कार्यालय जलाउने, सवारी साधनमा आगजनी गर्ने नागरिकका रूपमा नबुझुन् भन्ने हाम्रो इच्छा हो । देशमा तोडफोड, आगजनी र अराजक गतिविधिको अन्त्य होस् भन्ने हाम्रो चाहना हो ।’

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ भन्ने नारासहित अघि बढाइएको अभियानले देशभित्र शान्ति सुरक्षा कायम गर्नुका साथै अन्तरराष्ट्रियस्तरमा पनि नेपाली नागरिकको पहिचान सकारात्मक बनाउने महानिरीक्षक कार्कीले विश्वास व्यक्त गरे ।

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाकी नगरउपप्रमुख सुनिता डङ्गोलले ‘हाम्रो प्रहरी’ अभियानले प्रहरी र समुदायबीचको सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको उल्लेख गर्दै कुनै पनि विपद् वा आपत् पर्दा प्रहरी नै नागरिकको पहिलो सम्पर्क बिन्दु बन्ने गरेको बताइन् ।

photo: rss