‘पुराना’बाट लुटिएका नेपाली ‘नयाँ’बाट भुटिन्छन् !

‘पुराना’बाट लुटिएका नेपाली ‘नयाँ’बाट भुटिन्छन् !


जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनावको मिति तोकेको छ । चुनाव घोषणासँगै देशले फेरिपनि ठूलो खर्च जुटाउनुपर्ने भएको छ । चुनावमा २७ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । त्यो रकम जनताले तिरेको कर र वैदेशिक ऋणबाट जोहो गरिँदैछ ।

अबको चुनावबाट विजयी भएर आउने जनप्रतिनिधिको काम गर्ने अवधि पाँच वर्षको हुन्छ । एक जना सांसदको तलब–भत्ता र सेवा-सुविधामा मासिक झण्डै तीन लाख रुपैयाँ रुपैयाँ खर्च हुन्छ । २०४६ मा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था पनि फालेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइयो । आगामी फागुन २१ सहित यो ३६ वर्षको अवधिमा आठ पटक चुनाव हुँदैछ । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ सालमा निर्वाचन भयो ।

निर्वाचनको इतिहास पल्टाउँदा नेपाली कांग्रेसले दुई पटक बहुमत ल्याएको छ । माओवादीले एक पटक प्रत्यक्ष १२० क्षेत्रमा निर्वाचन जित्यो । २०७४ सालमा नेकपा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेको थियो । दुई पार्टी एक भएर दुई तिहाईनजिकैको मत प्राप्त गरेको थियो । रोचक प्रसंग के भने, अहिलेसम्म पुरै कार्यकाल अर्थात् पाँच वर्ष निर्वाध रुपमा संसद् चलेको छैन । कहिले संसद् विघटन हुन्छ, कहिले के ! जसका कारण जनताले दिएको मत खेर जाने गरेको छ । यस्तै, निर्वाचन गर्दाको खर्बौं लगानी पनि बालुवामा पानी हुन्छ । लक्ष्यअनुरुप ऐनकानुन पनि बन्दैन । जनताले तिरेको कर र वैदेशिक ऋण चुनावमा लगानी गरिँदैछ । तर, उपलब्धि के ? न जनप्रतिनिधिले पूरै कार्यकाल काम गर्छन् न त देशमा आवश्यक र उपयुक्त कानुन बन्छ । जसका कारण चुनावमाथिबाट जनताको विश्वास उठ्दै गएको छ ।

चुनाव आएसँगै नेताहरु पुनः उही पुराना नारा लगाउन थालेका छन् । ‘हामीलाई एकपटक फेरि विश्वास गर्नुस्, हामी देश बनाउँछौं’ – यो नारा अहिले व्यापक सुनिन थालेको छ । जनताले पटक-पटक मौका दिँदा ३६ वर्षसम्म केही नगरेकाहरुले अब के गर्लान् ? उदाहरणका लागि – २०४८ सालदेखि ८२ सालसम्म डडेल्धुराबाट निरन्तर शेरबहादुर देउवाले निर्वाचन जितिरहेका छन् । उनी पाँच पटक त देशको प्रधानमन्त्री बनिसके । त्योभन्दा अगाडि उनी गृहमन्त्री पनि भए । दुई पटक उनले पार्टीको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । यसैगरी, भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ देखि नेमकिपाको रजगज छ । तर, न नेमकिपा सरकारमा जान्छ न विकास गर्छ । तैपनि, उसैलाई जिताउने काम भइरहेको छ । तसर्थ अब जनताले नेता वा दलको अनुहार हेरेर होइन, क्षमता, कार्ययोजना हेरेर मत दिऔं ।

किनकि, देश लथालिङ्ग बनिसकेको छ । युवा कोही देशमा बस्न चाहँदैन । १८ वर्ष पुग्नेबित्तिकै विदेशिने तरखर गर्छन् । यसरी यहाँको जनशक्ति सकियो, देश पनि रित्तियो । न यहाँ रोजगारी छ न त स्वास्थ्य र शिक्षामा सुविधा नै । जनताले तिरेको कर, विदेशबाट पठाएको रेमिट्यान्स, वैदेशिक ऋण भ्रष्टाचारमै स्वाहा भएको छ । समयोचित विकास भएको देखिँदैन । देशको अवस्था दिन–प्रतिदिन नाजुक बन्दै गएको छ ।

यस्तो परिवेशमा रहश्यमयी ढङ्गबाट प्रधानमन्त्रीको कुर्सीमा आसन जमाउनपुगेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले फागुन २१ गतेका लागि चुनावको मिति तोकेकी छन् । कार्की नेतृत्वको मन्त्रिमण्डलले ५५ अर्ब ३६ करोड रुपैयाँ ऋण स्वीकृत गरिसकेको छ । निर्माण व्यवसायीको ४५ अर्ब, दूध र उखु किसानको सात अर्ब, कोरोना बीमा गरेका अस्पतालको २४ अर्ब बक्यौता भुक्तानी बाँकी छ । अघिल्लो सरकारले काम गराएकोमा अहिलेसम्म चुक्ता गर्न सकिएको छैन । देशभर जति सरकारी, सार्वजनिक, हदबन्दीभन्दा बढीको, ऐलानी, गुठीको जग्गा थियो, त्यो खाने सबै राजनीतिक दलका नेता र कर्मचारी हुन् । पटक-पटक सरकारमा जाने र प्रधानमन्त्री खाने अनुहार एउटै छ । पुष्पकमल दाहाल तीन पटक, केपी शर्मा ओली चार पटक र माधवकुमार नेपाल एक पटक प्रधानमन्त्री भए । तर, के गरे ? देश धितो राखेर ऋण लिए, मोजमस्ती गरे । सरकारी सम्पत्ति दोहन गरे । अझैपनि यिनीहरु जनतालाई झुक्याउन खोज्दैछन् ।

माधवकुमारले केही दिनअघि एउटा कार्यक्रममा आफूहरुलाई एक पटक मौका दिन आग्रह गरे । जनताले उनलाई मौका दिएका थिएनन् ? मौका पाएको बेलामा उनले के लछारे र जनताले फेरि मौका दिने ? जब प्रधानमन्त्री भए, तब हजारौं रोपनी सरकारी जग्गा व्यक्तिलाई दिने निर्णय गरे । त्यसको मुद्दा अहिले खेप्दैछन् ।

यसरी पुरानाले लुटे, अब देश लुट्नलाई फेरि बालन्द्र साह र रवि लामिछानेजस्ता सातिर तथा चतुर व्यक्तिहरु निस्किएका छन् । जोमाथि दुनियाँलाई ठगेको आरोप छ, उ देश बनाउँछु भन्दै हिँडेको छ । योभन्दा लज्जास्पद कुरा के होला ? नेपालीमा एउटा उखान छ- ‘जुन जोगी आएपनि कानै चिरेको’ ! पुरानाले लुटे, नयाँले गर्ने पनि त्यही नै हो । वास्तवमा भन्ने हो भने यहाँ देश र जनताको निम्ति सोच्ने कोही पनि छैन । सबैलाई कुर्सी चाहिएको छ । कुर्सी पाएपछि सबैलाई देश लुट्नु छ, जनताको रगतपसिना चुस्नु छ । बालेन्द्र भन्ने ब्यक्ति नयाँ भएपनि पुरानाभन्दा खत्तम छन् भन्ने कुरा क्रमशः खुल्दै गइरहेको छ । जनताले उनलाई राम्ररी अझै चिन्न बाँकी छ ।

पछिल्लो समय ‘लुसिफर’का रूपमा समेत चिनिन थालेका साहले महानगरलाई आफ्ना मान्छे भर्ती गर्ने थलो बनाएका छन् । उनका एक जना स्वकीय हाल गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा छन् । महानगरमा हुँदा उनीमाथि ठूलै आर्थिक हिनामिना गरेको आरोप छ । आर्थिक हिनामिना गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुको साटो आफ्नै कानुनी सल्लाहकार रहिसकेका अर्यालको सचिवालयमा पठाएका छन् । आखिर साहले मेयर भएर के गरेका छन् ? सामाजिक सञ्जालमार्फत पुराना नेतालाई गाली गर्दैमा उनी ठीक हुन्छन् ? जनता अहिले नै सचेत होऔं । नत्र देशले ठूलो मूल्य चुकाउनुपर्ने हुनसक्छ ।

यस्तै, लामिछानेमाथि अमेरिकामै विभिन्न मुद्दा छ भनिन्छ । राहदानी दुरुपयोगमा सर्वोच्च अदालत र सहकारी ठगीमा पाँच वटा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उनी ठीक नियत र स्वच्छ छवि भएका व्यक्ति होइनन् । जनतालाई उल्लु बनाउन जानेका उनले अहिलेपनि त्यही गर्न खोज्दैछन् । त्यसैले जनताले ख्याल गरौं । देश सकाउने होइन बनाउनेलाई छानौं । नत्र फेरि पनि जनताले तिरेको कर स्वाहा हुन्छ, जनता परिवार पाल्न विदेश गइरहनुपर्नेछ, मौलिक हकका लागि लडिरहनुपर्नेछ । नेता मोटाउने छन्, जनता फेरि सेक्टिने छन् । अब जे छ, जनताको हातमा छ । समयमै बुझौँ ।