प्रहरीले काठमाडौंको बाफलबाट सिएफ-९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरङ, लेटाङ नगरपालिका-४ बस्ने २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘नागार्जुन नगरपालिका-४ बाफलमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाको आधारमा हाम्रो टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरुको साथबाट सिएफ ९८–९००००३३०८२३७ र सिएफ ९८–९०००१११०८२३६ नम्बरको सिएफ-९८ पेस्तोल, उक्त पेस्तोलको म्यागजिन तीन थान, गोली दुई थान तथा गोलीको खोका दुई थान बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया