त्वो ल्होछारै आशिमलाँ : यसकारण ‘पौष १५’ सबैको साझा पर्व !

त्वो ल्होछारै आशिमलाँ : यसकारण ‘पौष १५’ सबैको साझा पर्व !


‘ल्होसार’ तिब्बती शब्दबाट आएको शब्द हो । ल्हो भन्नाले वर्ष तथा उमेर जनाउँछ भने सार भन्नाले नयाँ भन्ने जनाउँछ । तसर्थ ल्होसार ले नयाँ वर्ष भन्ने जनाउँछ । तर, गुरूङ अर्थात तमुहरूले ल्होछार भन्ने गर्दछन् । कतिपय नयाँ पुस्ताले भने ‘ल्होछार’ भन्दा ‘ल्होसार’ भन्न नै रुचाउँछन् ।

खासगरि तिब्बती-बर्मेली समुहले मनाउने ल्होसार तीन प्रकारको रहेको पाइन्छ । जसमध्ये तोल ल्होसार पौष शुक्ल प्रतिपदामा मनाउने गर्दछन्, सोनाम ल्होसार माघ शुक्ल प्रतिपदामा तथा ग्याल्बो ल्होसार फाल्गुन शुक्ल प्रतिपदामा मनाउने गरिन्छ । तर तमु ल्होछार जुन वास्तवमा तोल ल्होसार नै हो तर यो गुरुङ समुदायले विशेष रुपले मनाउने गर्दछन् र यसलाई पुस १५ गते मनाउने गर्दछन् । पौष शुक्ल पूर्णिमा विशेष पात्रो हेरेर ठम्याउनुपर्ने तर नेपालमा प्रचलित गते परम्परामा फेरबदल हुने हुँदा एकरुपता तथा सहजताका लागि गतेमा मनाउने गरिएको हो । अर्को खस समुदायमा पुस १५ लाई दिन लम्बिने तथा रात छोटिन थाल्ने दिनका रुपमा लिइने र सूर्य दक्षिणायनबाट उत्तरतर्फ लाग्ने हुँदा पनि यस दिन दिनलाई वर्ष परिवर्तनको पहिलो दिनका रुपमा गुरुङ समुदायले ल्होछारका रुपमा मान्न थालेको देखिन्छ । यसर्थ, नेपालका तमुहरूले पौष १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।

तर, ज्योतिषिय गणनाअनुसार पौष शुक्ल प्रदिपदाका दिन दिन छोटो तथा रात लामो हुने गर्दछ । जुन दिनदेखि नयाँ वर्ष लाग्ने भन्दै पश्चिम तिब्बत तथा पश्चिम नेपालका हिमाली समुदायले तोल ल्होसार मनाउने गर्छन् । तीन प्रकारको ल्होसारमा यो ल्होसार सबैभन्दा पुरानो पनि हो ।

दोश्रो सोनम ल्होसार भने अधिकांश तिब्बत तथा पश्चिम नेपालको हुम्ला बाहेकका हिमाली समुदाय तथा तामाङहरुले मनाउने गर्दछन् । माघ शुक्ल प्रदिपदाका दिन मनाइने यस ल्होसार नेपालमा पनि तामाङ समुदायले विशेष गरेर मनाउने गर्दछन् ।

तेश्रो ल्होसार, ग्याल्बो ल्होसार हो जुन खासगरि नेपालका शेर्पा समुदायले मनाउने गर्दछन् । साथै पूर्वी तिब्बतमा पनि मनाउने गरिन्छ । यसै दिनबाट चिनिया नयाँ वर्ष पनि शुरु हुन्छ । तर चिनियाहरु ल्होसार भन्दैनन् । बसन्तोत्सवका रुपमा छुञ्जी भन्ने गर्दछन् । यसै दिनबाट बसन्त ऋतुको शुरुवात हुने गर्दछ । चिनियाहरु नयाँ वर्ष धुमधामले मनाउँछन् ।

नेपालमा रहेका तमुहरुले पनि पहिले-पहिले तोल ल्होसार नै मनाउने गर्दथे । सोही दिन अर्थात पौष शुक्ल प्रतिपदाका दिन नै मनाउने गर्दथे । तर पछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले पर्व तथा पात्रो सुधारका क्रममा वि.सं. १९६१ बैशाख १ गतेबाट नयाँ वर्ष शुभारम्भ हुने र सरकारी कामकाजको पात्रो विक्रम सम्वत नै हुने घोषणा गरेपछि सरकारी कामकाजका साथ-साथ धेरै कुराहरु विक्रम सम्वतका मितिका आधारमा परिवर्तन हुँदै गए । यसै कारणले हुन सक्छ तमुहरुले पनि अन्य समुदायले पुसे पन्ध्र मनाए झैं यसै दिनलाई उपयुक्त मान्न पुगेको हुन सक्छ ।

शास्त्रिय पद्धती तथा ज्योतिष विज्ञानमा भने विक्रम सम्वत त्रुटीपूर्ण रहेको हुँदा पञ्चाङ्ग तैयार गर्दा चन्द्र वर्षकै आधारमा तैयार पारिन्छ । हुन त चन्द्रमास अनुसार पौष शुक्ल प्रतिपदाका दिनदेखि नै सूर्य नजिकिन र उत्तरायणतर्फ धल्कदै जाने हुँदा क्रमश: दिन लामो हुँदै जाने हुन्छ भने रात छोटो हुन थाल्दछ, तर बोलिचालिमा भने पुस पन्ध्रलाई लिने गरिन्छ । यो प्रथा खासगरी खस समुदायहरुबाट प्रतिपादित हो तर अन्यले पनि स्विकारेको पाइन्छ ।

यसरी तमुहरुले मनाउने पुस १५ को ल्होछार तमुहरुका लागि विशेष पर्व पनि हो । यस दिन तमुहरुले आफ्नो कूल थलोका रुपमा लिइने घ हिमाल अर्थात अन्नपूर्ण दोश्रोमा घामको झुल्को पर्नासाथ ल्होछार शुरू भएको मान्ने गर्दछन् । यसै दिनदेखि सप्ह्री ल्हो अर्थात सर्प वर्षको समाप्ती भएर तो ल्हो अर्थात घोडा वर्षको आरम्भ हुन्छ । यस वर्ष जन्म लिने बालकहरुको गणना तथा वर्ष फल तो ल्हो अनुसार नै गरिन्छ ।

ल्होछारको बिहानै ग्रह-दशा हटाउन तथा शान्ति तथा मंगल रहोस भन्नका लागि घ्यूको बत्ती बालेर फूल अक्षता चढाइ स्युँरीको धूप बालेर सिमेभूमे अर्थात सिल्दोनाल्दो खेमा र फैँलुको पूजा गर्ने गर्दछन् । यसपछि खेगी (पुरेत) लगाएर थासो (ग्रहदशा) फाल्ने गर्दछन् । थासो फाल्दा बेसार दलेर बनाइने काँचो धागोको डोरोलाई पुरूषको लागी नौ सरो र नौ गाँठो तथा महिलाको लागि सात सरो र सात गाँठो पारेर प्हैरू बनाइन्छ । ठूलाले घाँटीमा प्हैरू बाँध्छन् भने बालकहरूको कमरमा प्हैरू बाँध्ने गरिन्छ । श्रीपञ्चमीबाट गर्मी शुरू हुने हुँदा प्हैरूको गाँठो पछाडि बाँधिन्छ भने नागपञ्चमीबाट जाडो शुरू हुने मान्यताले गाँठो अगाडि बाँधिन्छ ।

यसदिन छोरी-चेलीहरुलाई खान बोलाउने पनि गरिन्छ । अचेल आफ्नो जन्मथलो अनुसार सानो-सानो समुहको समाज बनाइएको हुँदा समाज घरमा चेलिबेटीहरुलाई सामुहिक रुपमा नै ल्होछारको खाना खान बोलाइन्छ । यसरी नाचगान गर्दै सबै जम्मा भएर रमाइलो गर्दै ल्होछार मनाउने परम्परा रहेको छ । समय अभाव र धेरै समुह भएको हुँदा अचेल भने ल्होछार अगाडिदेखि नै चेलिबेटीलाई खाना खान बोलाउने गरिएको पाइन्छ ।

आजैको दिन ब्राम्हण तथा क्षेत्रीहरू पुसे १५ को रूपमा उखुको खुदो मिसाएर पकाइने अनदी चामलको लट्टे भात खाने गर्दछन् । मगर समाजमा आजको दिन खुवा खाएर वनभोज मनाउँदै युवा-युवतीहरू आफ्नो जीवनसाथी रोज्ने गर्दछन् र, घरजमको शुरूवात गर्दछन् । पश्चिम नेपालमा भने यस रात निकै लामो हुने हुँदा रात कटाउन गाह्रो हुने विश्वासले गाउँलेहरु मिलेर रातभर आगो बालेर आगो वरपर सबै बसेर नाचगान तथा कथा हालेर कटाउने गर्दछन् ।

यसर्थ ‘पौष १५’ सबैको साझा पर्व बन्न पुगेको छ ।