घट्यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ४.५

घट्यो काठमाडौंको तापक्रम, जुम्लामा माइनस ४.५


काठमाडौंको तापक्रम पुस १५ का दिन यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ ।

यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको हो ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको जानकारी दिए । चिसो अझै बढ्ने अनुमान गरिएको छ । आज जुम्लाको तापक्रम माइनस ४.५ रहेको छ ।

विभागले मंगलबार राति सार्वजनिक गरेको बुलेटिनमा पुस १६ गते तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहने तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । यही पुस १७ गते पनि उस्तै अवस्था रहने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको जनाइएको छ ।