‘समयमा नियमित महाधिवेशन सम्भव नभएपछि विशेष महाधिवेशन नै कांग्रेसको विकल्प’

‘समयमा नियमित महाधिवेशन सम्भव नभएपछि विशेष महाधिवेशन नै कांग्रेसको विकल्प’


नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको जानकारी गराएका छन् ।

महामन्त्रीद्वय शर्मा र थापाद्वारा बिहीबार (१७ पुस) साँझ जारी गरिएको संयुक्त विज्ञप्तिमा जनाइएअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको हो । महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा पाँच लाख ७९ हजार ३९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाका जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुङ्गिएपछि कूल नवीकरण सङ्ख्या करिब ६ लाखभन्दा बढी हुने अनुमान छ । यस अवधिमा एक लाख ९५ हजार ७३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ । अन्य जिल्ला तथा जनसम्पर्क समितिबाट पनि नयाँ सदस्यता ‘इन्ट्री’को काम निरन्तर भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिएको छ । यही पुस २६ गते नियमित १५औँ महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएका कारण सम्पूर्ण कार्यतालिका प्रभावित भइ निष्प्रभावी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ ।

उत्पन्न भएको यस्तो अन्यौल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएको महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन भएको तर नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघिल्तिर आएको महामन्त्रीद्वयले उल्लेख गरेका छन् ।

अतः पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गर्दै महमन्त्रीद्वय शर्मा र थापाले उक्त जिम्मेवारीअन्तर्गतका कार्य सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाउने जनाएका छन् ।

यसैबीच, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज शुक्रबार (१८ पुस) दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरु उपस्थित हुनेछन् ।