निकोलस मदुरोको मौनताले आगामी दिनमा भेनेजुएला-अमेरिका सम्बन्ध कुन दिशातर्फ जान्छ भन्ने चासो थप बढाएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले संयुक्त राज्य अमेरिकासँग लागुऔषध तस्करीविरुद्ध सहकार्य गर्न आफ्नो देश खुला रहेको स्पष्ट पारेका छन् । तर, गत साता भेनेजुएलाको एक डक क्षेत्रमा भएको कथित सीआइए नेतृत्वको ड्रोन हमलाबारे भने उनले तत्काल टिप्पणी गर्न अस्वीकार गरेका छन् । बिहीबार (१ जनवरी) राज्य टेलिभिजनमा प्रसारित नयाँ वर्षको पूर्वसन्ध्यामा रेकर्ड गरिएको अन्तर्वार्तामा मदुरोले आफ्नोधारणा सार्वजनिक गरेका हुन् ।
स्पेनी पत्रकार इग्नासियो रामोनेटसँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले अमेरिकाले भेनेजुएलामा सरकार परिवर्तन गराउने उद्देश्य राखेको र त्यसका लागि महिनौँदेखि दबाब अभियान सञ्चालन गरिरहेको आरोप लगाए । उनका अनुसार अगस्टदेखि क्यारिबियन सागरमा गरिएको ठूलो सैन्य तैनाथी त्यसैको हिस्सा हो, जसको अन्तिम लक्ष्य भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँच प्राप्त गर्नु हो ।
“उनीहरूले के खोजिरहेका छन् भन्ने कुरा स्पष्ट छ, धम्की, दबाब र बल प्रयोग गरेर आफूलाई थोपर्ने प्रयास भइरहेको छ” भन्दै उनले अब दुवै देशले भावनामा होइन, तथ्य र तथ्याङ्कका आधारमा गम्भीर रूपमा वार्ता गर्नुपर्ने समय आएको धारणा अघिसारे ।
राष्ट्रपति मदुरोका अनुसार यदि अमेरिकी सरकार साँच्चिकै लागुऔषध तस्करीसँग लड्न चाहन्छ भने भेनेजुएला सहकार्यका लागि पूर्ण रूपमा तयार छ । उनले भनेका छन्, “अमेरिकी सरकारलाई यो कुरा थाहा छ, यदि उनीहरू इमानदारीपूर्वक सम्झौता गर्न चाहन्छन् भने हामी तयार छौँ ।” साथै, अमेरिकालाई तेल आवश्यक परेमा भेनेजुएला अमेरिकी लगानीका लागि पनि खुला रहेको उनले स्पष्ट पारे । “शेभरनजस्ता कम्पनीहरू जब, जहाँ र जसरी चाहन्छन्, लगानी गर्न सक्ने वातावरण हामी दिन सक्छौँ”, उनको भनाइ थियो ।
हाल शेभरन कर्पोरेसन भेनेजुएलाबाट कच्चा तेल अमेरिका निर्यात गर्ने एकमात्र प्रमुख कम्पनी हो । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको छ ।
यो अन्तर्वार्ता टेप गरिएको दिन नै अमेरिकी सेनाले पाँचवटा कथित लागुऔषध तस्कर डुङ्गामाथि आक्रमण गरेको घोषणा गरेको थियो । ट्रम्प प्रशासनका अनुसार यस्ता आक्रमणको कुल सङ्ख्या ३५ पुगेको छ र कम्तीमा ११५ जनाको मृत्यु भइसकेको छ, जसमा भेनेजुएलाका नागरिक पनि परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमणलाई अमेरिकामा लागुऔषधको प्रवाह रोक्न आवश्यक कदम भन्दै औचित्य पुष्टि गरेका छन् । उनले अमेरिका लागुऔषध गिरोहहरूसँग ‘सशस्त्र द्वन्द्व’मा रहेको दाबी पनि गरेका छन् । प्रारम्भमा भेनेजुएलाको क्यारिबियन तटबाट सुरु भएका यी आक्रमणहरू पछि पूर्वी प्रशान्त महासागरसम्म विस्तार भएका छन् ।
यसैबीच, गत साता भेनेजुएलाका लागुऔषध गिरोहहरूले प्रयोग गर्ने विश्वास गरिएको एक डकिङ क्षेत्रमा भएको ड्रोन हमलाको पछाडि सीआइएको भूमिका रहेको दाबी गरिएको छ । अपरेसनबारे जानकारी भएका दुई व्यक्तिले विषय संवेदनशील र वर्गीकृत भएकाले नाम नछाप्ने सर्तमा यस्तो बताएका हुन् । डुङ्गामाथि आक्रमण सुरु भएयता भेनेजुएलाको भूमिमा भएको यो पहिलो प्रत्यक्ष अपरेसन मानिएको छ, जसले अमेरिकी प्रशासनको दबाब अभियानलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ । यसअघि नै मदुरोमाथि अमेरिकाले नार्को–आतङ्कवादको आरोप लगाउँदै आएको छ ।
भेनेजुएलाको भूमिमा गरिएको उक्त अपरेसनबारे सोधिएको प्रश्नमा राष्ट्रपति मदुरोले ‘केही दिनमा यसबारे बोल्न सक्ने’ मात्र प्रतिक्रिया दिएका छन् । उनको यो मौनताले आगामी दिनमा भेनेजुएला-अमेरिका सम्बन्ध कुन दिशातर्फ जान्छ भन्ने चासो थप बढाएको छ ।
प्रतिक्रिया