चटके जेलेन्स्कीलाई पत्याउनाले युक्रेनको के हविगत भो ? कतै हाम्रोमा नि जनताले विवेक नपुऱ्याउँदा युक्रेनकै नियति भोग्नुपर्ने त होइन ? कोही देशघाती नबनुन्; सगरमाथा, लुम्बिनी र वीरहरूले धानेका ख्यातीको विराशत नढलोस्; शिर निहुऱ्याएर हिँड्नु नपरोस् ।
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । कलियुग बितेकै ५,१२६ वर्ष भो । द्वापरको अन्त्यमा कुरुक्षेत्रको रणसङ्ग्राम । यस्तै द्वापर, त्रेता र सत्यको समेत आयु जोड्दा कति हुन्छ होला, हचुवा त बोल्न भएन नि । कोही कोहीले तथ्याङ्क मिचेर मिथ्याङ्क हवाला दिएको देख्दा दया लाग्छ । पदीय गुण/आचरण छैन; गफ उसकै ठुलो । कुर्व्यसनीलाई अर्ति नदिनु । सतिको श्राप बिस्तुर खेर जान्न पो । जलन हुने जलेर मर्छ, खाँच्चैसिती ।
भाइरल हुने नाममा हुने/नहुने काम । भाइरल भन्या त पानीको फोको । माफिया एकातिर ओखती अर्कोतिर बिख दिंदो । परदेशमा नेपालीले नेपालीको हुर्मत लिएको सुनेर कान पाक्यो । ईश्वरले हिसाबकिताब राख्नुभएकै होला । सत्याचारी अचाडु; मिथ्याचारी बिकाउ ।
नवक्रिस्तानीले बिनासित्तीमा किन सनातनीको खोइरो काढ्या होला ? वास्तविक ईसाइ त पूर्वीय दर्शनको अनुशरण गर्दो । बहुसंख्यकको थिचोमिचो कहिलेसम्म अल्पसंख्यकले सहनुपर्ने हो ? न्यायपालिकाको के दोष ? न्यायमूर्तिले विवेकपूर्ण ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपरो नि । तत्-तत् अङ्गले तत् तत् कार्य सम्पादन गरे त बखेडा कहाँ निस्किन्छ र ? पदपैसाको पासोले वरत्र सुधारे नि परत्र बिगार्छ है । आशाको झिल्को फोहोर राजनीतिले निभाउँदो । दल बदल नाटक । कुरा कुथुराउने कुरौटे/बथुरीहरू कुन नरकमा जाकिएलान् ?
स्वास्नीको मुखेन्जी छोरो भने भइगो नि, किन मेरो छोरो भनेर चेपारो घस्नुपऱ्या छ र ? घुँयत्रोले कुँयत्रो ताक्ने हो कि । चोर चोर मौसेरे भाइ – परिणाम शून्य । कति गिजोल्न सक्या हो ?!
फिरिङ्गीले फुटायो भन्दैमा हामी किन फुट्ने हो र ? मोल अकासिएसि नकिने भैगो नि, के को गुनासो ? मुलुकको समृद्धि त आयात घटाउनु निर्यात बढाउनुमा छ । दिव्योपदेशको ख्याल कसलाई ? युयुको सिता घिच्ने ब्याक्टेरिया पाजीहरू मुर्दावाद । हाम्ले होली वाइनेहरूलाई किन पत्याइदिनुपर्ने ?
अरूले किन लेख्छन्, थाहा भएन । मैले चैं आत्मतुष्टि हेतार्थ लेख्छु । समाज/मुलुक उद्याउनु कर्तव्य । नकारात्मकता छिमल्नुपर्छ; सकारात्मकता गोड्नुपर्छ । बुद्विमा पाइन हाल्न सके राम्रै हो; यहाँ त बुद्विविहीन पशु: भएर पो माऱ्यो ।
दलहरूले समानुपातिकता/समावेशिताको नाउँमा आफ्नो इष्टमित्र/आसेपासेलाई (Elite) सांसद बनाउँदा नि बहत्तरे चुँइक्क बोल्दैन । राज्यको संयन्त्र अक्षुण्ण हुनुपर्नेमा दलीय भइदिनाले निष्पक्षता, पारदर्शिता र भ्रष्टाचारमुक्तता स्यालको सिङ झैं गायब भए ।
कोरली गाईको बाच्छीलाई ओगट्छ बुढो साँढे । हाँस्यव्यंग्यको ठेकेदार पिंडाली, अर्याल, पाँडे ।। (टीका : केशवराज पिँडाली, भैरव अर्याल र रामकुमार पाँडे ।) साहित्यको मिठो अचाररुपी हाँस्यव्यंग्य क्षेत्रमा अर्याललाई उछिन्ने उम्दा कोही माइकालाल अझसम्म जन्म्या छैन । गोहीको आँशु बगाउने राज्य छऊन्जेल यस्ता होनहार अर्यालहरू अपहत्तिरहन्छन् ।
राम, श्रीकृष्ण र पाण्डवको सहयोगी नबनेर मान्छेहरू किन रावण, कंश र कौरवहरूको पछि लाग्या होलान् भन्या त अहिले नि त्यस्तै पो रहेछ । नियन्त्रित त हुनुपर्ने हो क्यारे । हात नदिने, गोडा तान्ने समाज हो हाम्रो । आफू, परिवार, समाज, देश र जगत सुधार्नुपर्ने भो । स्वदेशको माया : आमाको काख; परदेशको शौकत : अरूको लाख । अर्बौंलाई लत्याएर मुट्ठीभरलाई मत्याउने साहित्य हुन सक्दैन । वाङमय त समाजको दर्पण बन्न सक्नुपरो नि ।
रेगन ठानेर चटके जेलेन्स्कीलाई पत्याउनाले युक्रेनको के हविगत भो ? कतै हाम्रोमा नि जनताले विवेक नपुऱ्याउँदा युक्रेनकै नियति भोग्नुपर्ने त होइन ? जे भए नि कोही देशघाती नबनुन् । सगरमाथा, लुम्बिनी र वीरहरूले धानेका ख्यातीको विराशत नढलोस्; शिर निहुऱ्याएर हिँड्नु नपरोस् ।
‘छिनम् रुष्टम् छिनम् पुष्टम्’को चेताभाव भएर हो कि क्या हो; ऐश्वर्यको तुजुक बढ्या । यसको पुष्टियार्थ सत्य घटना प्रस्तुतित –
ग्रीसको घटना । अल्बाइडिस अट्टिका प्रदेशको सम्पन्न जिम्दार थिए । उनीलाई आफ्नो सम्पत्ति र बिर्ताको ठुलो घमण्ड थियो । एक दिन सोक्रेटसकोमा गएर उनले आफ्नो श्रीसम्पत्तिको बखान गरे । उनको कुरा ध्यान दिएर सुनेका सोक्रेटसले केही बेरपछि विश्वको नक्शा मगाए । उनले नक्शा टेबुलमा फिजाएर जिम्दारसित सोधे , ‘यो नक्शामा हाम्रो ग्रीस कहाँ छ ?’
‘यो ग्रीस’ – जिम्दारले नक्शामा औंलोले देखाउँदै भने ।
‘अनि अट्टिका प्रदेश कहाँ छ ?’ – सोक्रेटसले पुन: सोधे । जिम्दारले बडो मुश्किलले अट्टिका प्रदेश देखाउन सके ।
सोक्रेटसले जिम्दारलाई फेरि सोधे – ‘यसमा तपाईंको बिर्ता कहाँ छ ?’
जिम्दारले अन्कनाउँदै भन्यो – ‘यो नक्शामा मेरो बिर्ता कसरी देखाउन सकिन्छ र ?’
यो कुरा सुनेसि सोक्रेटसले भने, ‘यस नक्शामा थोप्लोको रुपमा देखाउन नसकिने बिर्ताको किन अहम् गर्नुहुन्छ ? यत्रो विश्व ब्रह्माण्डमा तपाईं र तपाईंको सम्पत्तिको स्थान कहाँ छ ?’
सोक्रेटसको जवाफ सुनेर जिम्दार अल्बाइडिस नाजवाफ भो ।
सद्बुद्वि फिरोस्; विवेक फुरोस् । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया