अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका प्रदर्शन हिंसात्मक बन्दै गएर प्रदर्शनकारीहरूको ज्यान लिइएमा संयुक्त राज्य अमेरिका प्रतिक्रिया दिन पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् । शुक्रबार (२ जनवरी) उनले इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि घातक कारबाही गरेमा अमेरिका ‘लक एन्ड लोड’ अवस्थामा रहेको स्पष्ट गरेका हुन् ।
बिहीबार इरानका विभिन्न शहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएपछि अवस्था थप तनावपूर्ण बनेको छ । अशान्ति फैलिँदै जाँदा पहिलो चरणमै कम्तीमा ६ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएका छन् । राजधानी तेहरानमा आइतबारदेखि पसलहरू बन्द गरेर उच्च मूल्यवृद्धि र आर्थिक अस्थिरताको विरोधमा गरिएको हडताल अन्य क्षेत्रहरूमा पनि फैलिएको जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई गोली हानी हिंसात्मक रूपमा मार्छ, जुन उनीहरूको चलन हो, भने संयुक्त राज्य अमेरिका उनीहरूको उद्धारमा आउनेछ, हामी लक र लोड अवस्थामा छौँ र जान तयार छौँ ।’
इरानको फार्स समाचार एजेन्सीका अनुसार बिहीबार छहरमहल र बख्तियारी प्रान्तको लर्डेगन शहरमा सुरक्षा बल र प्रदर्शनकारीबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ । साथै छिमेकी लोरेस्तान प्रान्तको आजना क्षेत्रमा भएका घटनामा थप तीन जनाको ज्यान गएको बताइएको छ ।
यसअघि सरकारी टेलिभिजनले पश्चिमी शहर कौहदास्टमा रातभर भएको विरोध प्रदर्शनका क्रममा इरानको सुरक्षा बलका एक सदस्यको मृत्यु भएको जानकारी दिएको थियो । यी घटनाले देशभर फैलँदै गएको असन्तोष र सुरक्षा चुनौतीलाई झन् गहिरो बनाएको विश्लेषण गरिएको छ ।
हालका प्रदर्शनहरू सन् २०२२ मा देखिएको ठूलो जनआन्दोलनको तुलनामा सानो मानिए पनि अवस्था संवेदनशील बनेको छ । सन् २०२२ मा महिलामाथि लागू कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको हिरासतमा मृत्यु भएपछि देशव्यापी आक्रोश फैलिएको थियो । त्यस आन्दोलनका क्रममा दर्जनौँ सुरक्षा बलका सदस्यसहित सयौँ मानिसले ज्यान गुमाएका थिए, जसले इरानको आन्तरिक राजनीतिक र सामाजिक अवस्थालाई गहिरो रूपमा प्रभावित गरेको थियो ।
प्रतिक्रिया