भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ ।
बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र राष्ट्रको गरिमामाथि कुनै पनि प्रकारको अपमान अस्वीकार्य हुने स्पष्ट गरेका छन् ।
“हामी कुनै पनि परिस्थितिमा बङ्गलादेशी क्रिकेट, क्रिकेटर र बङ्गलादेशको अपमान स्वीकार गर्दैनौँ, दासत्वका दिनहरू समाप्त भइसकेका छन्”, उनले भनेका छन् । नजरुलका अनुसार छिमेकी राष्ट्रहरूबीच बढेको तनावको पृष्ठभूमिमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले आइपिएल टोलीहरूलाई ‘सल्लाह’ दिएपछि बङ्गलादेशका फास्ट बलर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले शनिबार रिलिज गरेको थियो ।
नजरुलले बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई औपचारिक पत्र लेख्न निर्देशन दिइएको जानकारी दिए । उनले भनेका छन्, “यदि कुनै बङ्गलादेशी क्रिकेटर अनुबन्धित भएर पनि भारतमा खेल्न नसक्ने अवस्था सिर्जना हुन्छ भने सम्पूर्ण बङ्गलादेशी क्रिकेट टोलीले विश्वकपमा खेल्न आफूलाई सुरक्षित महसुस गर्न सक्दैन ।” यही कारण देखाउँदै उनले बङ्गलादेशका विश्वकप खेलहरू श्रीलङ्कामा आयोजना गर्न अनुरोध गर्न पनि बोर्डलाई निर्देशन दिएका छन् । ।
भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुने तय भएको छ । तालिकाअनुसार बङ्गलादेशले आफ्ना चारवटा समूह चरणका खेल भारतमा खेल्ने कार्यक्रम रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना सबै खेल श्रीलङ्कामै खेल्नेछ, जुन भारत र पाकिस्तान दुवैलाई बहुराष्ट्रिय प्रतियोगिताहरूमा तटस्थ स्थल प्रयोग गर्न दिने सम्झौताअन्तर्गत गरिएको व्यवस्था हो ।
सन् २०२४ मा ढाकामा भएको जनविद्रोहपछि भारतको निकट सहयोगी मानिने तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युत भएसँगै भारत र बङ्गलादेशबीचको राजनीतिक सम्बन्धमा तिक्तता आएको बताइन्छ । भारतको विदेश मन्त्रालयले गत महिना मुस्लिम बहुल बङ्गलादेशमा ‘अल्पसङ्ख्यकहरूविरुद्ध निरन्तर शत्रुता’ भएको भन्दै आलोचना गरेको थियो । तर बङ्गलादेशका अन्तरिम नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले भारतले हिंसाको परिमाणलाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाएका छन् ।
बिसिबीका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले आइतबारपछि बोर्डको आपतकालीन बैठक बस्ने जानकारी दिँदै भनेका छन्, “हाम्रा क्रिकेटरहरूको गरिमा र सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो र यही आधारमा हामी उचित समयमा निर्णय गर्नेछौँ ।”
यसअघि आइपिएलका विभिन्न टोलीबाट खेलिसक्नुभएका मुस्ताफिजुरलाई कोलकाताले गत डिसेम्बरमा १० लाख अमेरिकी डलरभन्दा बढी रकममा अनुबन्ध गरेको थियो । तर बिसिसिआईका सचिव देवजित साइकियाले ‘हालैको घटनाक्रमलाई ध्यानमा राख्दै’ कोलकातालाई ३० वर्षीय खेलाडीलाई ‘रिहा गर्न’ सल्लाह दिइएको बताएका छन् । सन् २०२६ को आइपिएल मार्च २६ बाट सुरु हुने तय छ ।
प्रतिक्रिया