मदुरोलाई अपदस्थ गरिएपछि भेनेजुएलामा ‘अमेरिकी हस्तक्षेप’

मदुरोलाई अपदस्थ गरिएपछि भेनेजुएलामा ‘अमेरिकी हस्तक्षेप’


भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देशबाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । शनिबार (३ जनवरी) पत्रकारहरूसँग कुरा गर्दै उनले नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गर्नुभयो ।

यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृतिबिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।

मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्कनजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उनलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उहाँलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिएका छन् । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उनी जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् ।

यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेकी छन् । भेनेजुएलाको कानूनअनुसार उनले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एकमात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गरिन् ।

ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताएका छन् । उनले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पुऱ्याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गरे ।

शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।

मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो ।

यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल शहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो ।

अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानूनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन् ।