भदौ २३ र २४ को घटनाबारे केपी ओलीले यसरी दिए बयान

भदौ २३ र २४ को घटनाबारे केपी ओलीले यसरी दिए बयान


गत भदौ २३ र २४ गते भएको हिंसा, तोडफोड, लुटपाट, आगजनीका विध्वंसात्मक घटनाको कारण पहिचान गर्ने र छानबिनपछि कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी तोकिएको जाँचबुझ आयोगले एमाले अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ ।

आयोगको कार्यालय रहेको स्थान सिंहदरबारमा पुगेर बयान नदिने अडान दर्शाउँदै आएका अध्यक्ष ओलीले ‘बयान दिन उपस्थित हुनुहोला’ भन्ने पत्र बोकेर गुण्डु पुगेको आयोगको टोलीलाई आफ्नो ‘अभिव्यक्ति’ दिएर फिर्ता पठाएका हुन् ।

आयोग सुत्रका अनुसार आयोगले ओलीलाई सोध्ने निश्चित प्रश्नावली तयार गरेपनि केपी ओलीले भदौ २३ र २४ को घटनामा आफू निर्दोष रहेको भन्दै आफ्नै शैलीमा अभिव्यक्ति दिएका थिए । आयोगको टोलीले ओलीको बोली रेकर्ड गराएर फर्किएको छ । सो रेकर्डलाई अब लिखितरुपमा उतारिनेछ र ओलीको बयानको रुपमा प्रतिवेदनमा समावेस गरिनेछ ।

जाँचबुझ आयोगका सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माले आयोगमा केपी ओलीको स्टेटमेन्ट आएको र अब उनमाथि लगाइएको स्थानहदबारे निर्णय लिइने जानकारी दिएका छन् ।

ज्ञातव्य छ, भदौ २३ र २४ को घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले पनि आइतबार केपी ओलीको बयान लिएको छ । आयोगको कार्यालयमै उपस्थित भइ निवर्तमान प्रधानमन्त्री ओलीले बयान दिएका हुन् ।

file photo