बुटवलमा श्रम कानुनको पालना विषयक अन्तरक्रिया

बुटवलमा श्रम कानुनको पालना विषयक अन्तरक्रिया


  • पोसकान्त पोखरेल, बुटवल

श्रम तथा रोजगार मन्त्रालयको आयोजना र श्रम कार्यालय बुटवलको सहकार्यमा ‘असल श्रम सम्बन्ध स्थापना तथा श्रम कानुनको कार्यान्वयन’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको सभाहलमा बुधबार (२७ जेठ) आयोजित उक्त कार्यक्रममा श्रम कानुनको प्रभावकारी कार्यान्वयन र औद्योगिक शान्ति स्थापनाका विविध पक्षमा छलफलको साथ सम्पन्न भएको हो । कार्यक्रममा रुपन्देही र आसपासका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका मुख्य वक्ताका रुपमा युवा श्रम तथा रोजगार मन्त्रालय, श्रम सम्बन्ध शाखाका उपसचिव गगन सिंह विष्टले असल श्रम सम्बन्ध स्थापना, अन्तर्राष्ट्रिय अभ्यास, विद्यमान चुनौती र श्रम विवाद समाधानका उपायहरूका बारेमा विस्तृत भनाइ राखे । उनले प्रतिष्ठान र श्रमिक दुवैको हितका लागि प्रचलित श्रम कानुनको अक्षरसः पालना हुनुपर्नेमा जोड दिए । श्रम विवादलाई अदालती प्रक्रियामा लैजानु भन्दा आपसी संवाद, मध्यस्थता र सामूहिक सौदाबाजीका माध्यमबाट कार्यथलोमै समाधान गर्नु उत्तम विकल्प हुने उनको भनाइ थियो ।

उपसचिव विष्टले अन्तर्राष्ट्रिय श्रम बजारका असल अभ्यासहरूलाई नेपाली परिवेश अनुकूल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याए । उत्पादनशीलता बढाउन र श्रम बजारलाई व्यवस्थित गर्न रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण सम्बन्ध हुनुपर्ने उल्लेख गर्दैै उनले कानुनको उल्लंघन गर्दा उद्योग र श्रमिक दुवै पक्ष संकटमा पर्ने भएकाले समयमै सचेत हुन आग्रह गरे ।

त्यसैगरी, श्रम कार्यालय बुटवलका सूचना अधिकृत ऋषिराम पन्थीले श्रम सुरक्षा, कानुनी व्यवस्था र श्रमसम्बन्धी समसामयिक विषयहरूका बारेमा स्पष्ट पारे । श्रम ऐन र नियमावलीमा भएका श्रम अडिट, श्रम विवाद निरुपणका प्रक्रिया र श्रम कार्यालयले खेल्ने समन्वयकारी भूमिकाका बारेमा समेत सूचना अधिकृत पन्थीले सहभागीहरूलाई जानकारी गराए । कानुनी प्रावधानहरूको अज्ञानता वा कमजोरीका कारण सिर्जना हुने समस्याहरूलाई न्यूनीकरण गर्न श्रम कार्यालयले निरन्तर अनुगमन र सहजीकरण गरिरहने प्रतिबद्धता पनि उनले जनाए ।

कार्यक्रमको अन्तिम सत्रमा खुला छलफल (फ्लोर) को आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले श्रम कानुनको व्यावहारिक कार्यान्वयनमा देखिएका जटिलता र व्यावहारिक समस्याबारे जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा श्रम कार्यालय बुटवलको क्षेत्राधिकारभित्रका विभिन्न ट्रेड युनियनका प्रतिनिधिहरू, बुटवल उद्योग वाणिज्य संघका पदाधिकारी तथा रोजगारदाताहरूको उपस्थिति रहेको थियो ।