- आरपी उपाध्याय, नवलपरासी
नेपाल पत्रकार महासंघ नवलपरासी (ब.स.प.)ले सरकारविरुद्धको धर्ना कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाएको छ । सरकारको विभेदकारी विज्ञापन नीति तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधिविरुद्ध धर्नालगायत विरोध कार्यलाई अगाडि बढाएको हो ।
महासंघमा आवद्ध पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासीको मूख्य द्वारअगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम गरेका हुन् ।
नेपाल सरकारले खर्च कटौतीको बहानामा सबै तहका सरकारी सूचना राज्यनियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघ नवलपरासीले धर्ना कार्यक्रमको आयोजना गरेको शाखाका कार्यवाहक सभापति विकास अधिकारीले जानकारी दिए ।
यसअघि ज्येष्ठ २५ गते महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष विभेदकारी निर्णयप्रति असहमति जनाउँदै तत्काल निर्णय सच्याउन माग पनि गरिसकेको छ ।
नेपाल सरकारले गरेको अब्यवहारिक निर्णयले नेपाली सञ्चारमाध्यमको बहुसंख्यक हिस्सा ओगटिएको निजी तथा सामाजिक सञ्चारमाध्यमप्रति गम्भीर विभेद र संघीयताको मर्मविपरीत अन्याय भएको पनि महासंघले निष्कर्ष निकालेको छ ।
महासंघले आफ्नो माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि चेतावनी दिएको छ ।
प्रतिक्रिया