भेनेजुएला विदेशी नियन्त्रणमा नभएको रोड्रिगेजको जिकीर

भेनेजुएला विदेशी नियन्त्रणमा नभएको रोड्रिगेजको जिकीर


भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेकी छन् । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यस्तो प्रतिक्रिया आएको हो ।

उनले भनेकी छन्, ‘हामी जनताको साथमा शासन गरिरहेका छौँ । भेनेजुएलाको सरकारले देश चलाउँछ, अरू कसैले होइन । भेनेजुएलालाई शासन गर्ने कुनै बाह्य एजेन्टहरू छैनन् ।’ उनको भनाइ राज्यसञ्चालित टेलिभिजन भेनेजोलाना डे टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पदच्युत गरिएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भइरहेको प्रदर्शनको पनि उल्लेख गरेकी छन् । गत जनवरी ३ को बिहान काराकासमा भएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो दम्पतीलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो । रोड्रिगेजका अनुसार त्यसपछि भेनेजुएलाली जनताले सडकमा उत्रिएर आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

यद्यपि, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेजको वैधानिकतामाथि विपक्षी पक्षले गम्भीर प्रश्न उठाइरहेका छन् । विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना मचाडोले उनमाथि भ्रष्टाचारमा संलग्न भएको तथा रुस र इरानसँग निकट सम्बन्ध रहेको आरोप लगाएकी छन् । एक अन्तरवार्तामा मचाडोले रोड्रिगेजलाई भेनेजुएलाको दमनकारी संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा चित्रित गरेकी छन् ।

यसबीच रोड्रिगेजले पछिल्ला घटनाक्रमका बाबजुद देश अझ बलियो बनेको दाबी गर्दै भनेकी छन्, ‘चुनौती, आक्रमण र खतराहरूको सामना गर्दै हामी आध्यात्मिक रूपमा अझ सबल भएका छौँ ।’

रोड्रिगेजको प्रतिक्रिया ट्रम्पले भेनेजुएलामा ‘सङ्क्रमण प्रक्रिया’ अमेरिकी अधिकारीहरूले निरीक्षण गर्ने घोषणा गरेको एक दिनपछि आएको हो । ट्रम्पले भेनेजुएलाका अन्तरिम अधिकारीहरू अमेरिकासँग सहकार्य गर्न तयार रहेको पनि दाबी गरेका थिए ।

हालैको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा रोड्रिगेजले सात दिनको राष्ट्रिय शोक घोषणा गरेकी छन् । राज्य प्रसारकसँग कुरा गर्दै उनले देशको रक्षा गर्ने क्रममा ज्यान गुमाउने युवा पुरुष र महिलाको सम्मानमा शोक अवधि तोकिएको जनाएकी छन् । उनलेले अमेरिकी हिरासतमा रहेका मादुरो र उनकी पत्नीलाई फिर्ता गर्न पनि आग्रह गरेकी छन् ।