डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ घोषणा गरे


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । यो स्वघोषणासँगै उनले भेनेजुएलबाट ५ करोड ब्यारेल तेल अमेरिका आउँदैछ भन्ने उद्घोषसमेत गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा आफ्नो तस्बिर पोस्ट गर्दै आफूलाई भेनेजुएलाको ‘कार्यवाहक राष्ट्रपति’ भनेर चित्रित गरेका छन् । पोस्टमा ट्रम्पको आधिकारिक तस्बिर र क्याप्सनमा ‘कार्यवाहक राष्ट्रपति, भेनेजुएला, हालको कार्यकाल जनवरी २०१६’ उल्लेख छ । यसैमा ट्रम्प संयुक्त राज्य अमेरिकाको ४५औं र ४७औं राष्ट्रपति भएको पनि उल्लेख गरिएको छ ।

यद्यपि, भेनेजुएलाको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज हुन् ।

हालैमात्र अमेरिकाले भेनेजुएलाविरुद्ध ‘ठूलो स्तर’को आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको थियो । मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क लगिएको छ, जहाँ उनीहरूलाई लागूपदार्थ-आतंकवाद षड्यन्त्रको आरोप लागेको छ ।

आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट संयुक्त राज्य अमेरिकाका लागि छुट्याइएको ५ करोड ब्यारेल तेल आउँदै गरेको पनि बताए, जसको मूल्य लगभग ४.२ अर्ब डलर बराबर छ ।

भेनेजुएलाको दमनपछि, ट्रम्पले भने कि संयुक्त राज्य अमेरिकाले ‘सुरक्षित, निष्पक्ष र न्यायपूर्ण सत्ता संक्रमणको समय नआएसम्म’ भेनेजुएलाको जिम्मेवारी लिनेछ । उनले थप भनेका छन्- ‘हामी भेनेजुएलाका जनताको हितमा ध्यान नदिने व्यक्तिलाई भेनेजुएलामा सत्ता सम्हाल्ने जोखिम लिन सक्दैनौँ ।’

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले गत हप्ता औपचारिक रूपमा देशको अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएकी थिइन् । यसअघि, ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले ५ करोड ब्यारेल उच्च गुणस्तरको, प्रतिबन्धित तेल संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्ने बताएका थिए । यो बजार मूल्यमा बेचिने र आम्दानी आफ्नो नियन्त्रणमा रहने उनको जिकिर छ ।

ट्रम्पले भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा, म यो रकमलाई भेनेजुएला र अमेरिकी जनताको हितमा प्रयोग गर्न सुनिश्चित गर्न नियन्त्रण गर्नेछु । मैले ऊर्जा सचिव क्रिस राइटलाई यो योजना तुरुन्तै कार्यान्वयन गर्न निर्देशन दिएको छु । यो (तेल) भण्डारण जहाजहरू र अनलोडिङ डकहरू मार्फत संयुक्त राज्य अमेरिका ल्याइनेछ ।’