अथ: नेपाल देशे नेता महात्म्यम् !

अथ: नेपाल देशे नेता महात्म्यम् !


श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । सात/पन्ध्र साले दल, नेता र मन्त्रीबारे दाताराम शर्मा/भैरव अर्यालले लिखितम् गरेकै हुन्; बकितम् किन गर्नुपर्यो  र ? विषय र प्रसंगले अनर्थ नलागे, म नि बखान्दैछु – ०४६ देखि ०८२ सम्मका दल, नेता र मन्त्रीको नालीबेली । यो ऊ किन भन्नु छ र ? सबैका सबै भागशान्ति जय नेपाल, राज्यप्रति उदासीन । कोशी, गण्डकी, टनकपुर, महाकाली सन्धिबाट नेताको फलिफाप; जनताको उँधोफाल । सुगौली सन्धिताकाको  मुख्तियार,  भारतीय विभाजन पश्चातको बापु/पण्डित र  जलसम्पदा बेच्ने नेता ठिक लाग्न छोडे ।

गोरा हाम्लाई अनियन्त्रित लेखनको आरोप लाउँछ; उसले चैं के पो बखाऱ्या छ र ? सुमर्नुपर्ने डाम्नाहरू । पराई देशमा पानी पर्दा यहाँ छाता ओढ्ने धेरै । बंगलादेशमा हिन्दु मारिंदा चुँइक्क नबोल्ने तरमाराहरू  भेनेजुएलाको माम्लामा रोइलो गर्दा छन् । आफ्नो मौलिक सिद्धान्त मरु, विदेशी वादहरू आयात गरेको गऱ्यै ।

अँ, नेता नम्बर ४२० को कुरो हुँदै थियो, लिक त छोडेछ है । हात्तीछाप चप्पल मार्काहरू एकाएक कुर्सी चढे, अनि ओइरो लाग्यो काण्डहरूको : पजेरो, लाउडा, बिगबडी, चाइनावेस्ट, बतास, गिरीबन्धु, बालुवाटार, भुटानी शरणार्थी, ३३ केजी सुन आदि । नेता नि हेरिरहुँ खाले : भ्यागुते, छ्याकटे, बारुले, लाम्घारे, तिल्के,  मिल्के, भोगटे, बाँकटे ।  ठेलीका ठेली प्रजातान्त्रिक/लोकतान्त्रिक काण्डहरू । कसले रोक्ने कसले छेक्ने ? जो अगुवा उही बाटो हगुवा । पञ्चेहरूले औंलाभरिका काण्डहरू घटाउँदा  ‘उड्ने र गुड्ने पञ्चका घर धेरै लगाए जनतालाई कर’ भनेर उड्किने यिनै हुन् । भुँइफुट्टाको शासन हेरि नसक्नुको ।

जनकल्याणर्थ दोटा/तीन्टा दल भए पुगि गो नि; सितिकसो डेढ सय दल किन चाहियो र ? अम्रिकालाई रिपब्लिकन/डेमोक्रेटिक, बेलायतलाई ह्वीग/टोरीले चलाउन हुने; हाम्रोमा दुई दलले शासन चलाउन किन नहुने ? यहाँ त दल पनि कस्ता कस्ता । कुनै केन्द्रीय कुनै प्रादेशिक कुनै क्षेत्रीय कुनै नश्लीय कुनै पहिचानीय । केही केहीको फेहरिस्त यस्तो छ – नेपाल कमाउनिस्ट पार्टी, जय नेपाल काङ्ग्रेस दल, अराष्ट्रिय पराधीन पार्टी, अराष्ट्रिय अलोकतान्त्रिक दल, अल्पजन समाजवादी काउन्सिल, नेपाल अमंगल मण्डल आदि । यीमध्ये केही त मातृकाले प्रधानमन्त्री चप्काए झैं कतै  लाटाको गोडा बाटोमा परिहाल्छ कि भनेर च्याँखे थाप्न पल्केका । कतिपय दलको त मेनिफेस्टो, नीति कार्यक्रम केही छैन । ताकछोपुवाहरू आफ्नो हितार्थ दाऊ छोप्न बसेका । कुनै दल उत्तराभिमुख त कुनै दक्षिणाभिमुख, कुनै पूर्वाभिमुख त कुनै पश्चिमाभिमुख – कमाण्डरको आदेश पर्खेका पर्तेली तोर्मे सिपाही झैं ।

राजनीतिक दल भएसि  राजनीतिक गुण हुनुपरो नि । गुणसुण छैन; सम्पत्ति जोर्नेको बथान । मलाई नि दल खोल्ने झोक नचलेको कहाँ हो र ? कट्ठा बेचेर पार्टी खोलूँ जस्तो लाग्याथ्यो तर बकुल्लाको भीडमा चिभे नकटो होइन्छ कि भन्ने डरले दर्ता गरिनँ । यहाँ त सुशासन ल्याउन खोज्नेलाई एक्ल्याउँछन् बृहस्पतिलाई झैं । राजनीतिक दल राष्ट्रिय हुन सक्नुपर्छ; तमाम जनतालाई समेट्नुपर्छ । जातीय/साम्प्रदायिक राजनीति गर्नुहुन्न पो । आफ्नो सांस्कृतिकता, भौगोलिकता सहितको युगाानुकूलीय दल भए पो ठिक हुन्छ । युरेनियम, फिजीकरण विदेशीको लक्ष्य । भएका कलकारखाना बेचिए निजीकरणको नाउँमा । आफ्नो भन्नु केही छैन । आयात बेसी निर्यात कम भएसि – सर्वथोक विदेशी । सुनदेखि लहसुनसम्म आयातित ।

निष्ठाको राजनीति शून्य भएसि त्याग तपस्याको मूल्याङ्कन हुने कुरो भएन क्यारे । कसैले सिद्धान्त फेरेर त कसैले दल फोरेर; कसैले घुस ख्वाएर त कसैले पार्टी फेरेर; कसैले चैं चम्चागिरी गरेर सांसद/मन्त्री पड्काए; कोट/दौरा सुरुवाल पैंचो लिन भ्याए । कोट ह्वार्लाङे, दौरा सुरुवाल टिमिक्क । न हेरि साध्य न कहि साध्य । मन्त्रीत्वको भोलिपल्टबाट मन्त्राणीको भाइभिनाजू जिएम, नजरानाको खात ।

म्लेच्छिनीको ज्यानमा एक मासा सुन छैन, उही अग्रगामी । हामी ढर्रावाल जिरीखिम्ती बेचेर गहना लगाउनुपर्ने  सधैं पश्चगामी । अर्कोलाई देखाउन रिनमा गहना लगाउने हो र ? आफू  छारोमा, गोडा चैं भारमा गर्नुहुन्न है । कम्तिमा रक्सी, चुरट र बजारिया खान्की नखाए औसत आयु बढ्थ्यो कि । निजी अस्पताल पोषाउन त पर्दैन्थ्यो होला ।

सरकारविहीनता भएसि शिक्षा/स्वास्थ्यको गैरेण्टी के हुन्छ र ? कठैबरा ! स्वर्गरुपी मेरो जन्मभूमि कस्तोबाट कस्तो भो आज । विरह जाग्छ; आँशु छचल्किन्छ । निरुपाय । तैपनि एक जुगमा एक दिन एक जना मान्छे जन्मिन्छ कि को आस छ । भन्न त भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ नि – यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

कोही कोही लाउके कोही कोही टाउके नकारात्मकता भो भन्छ । नकारात्मकता समस्या हो भने सकारात्मकता समाधान हो । नकारात्मकताभित्र सकारात्मकता खोज्नु छ । धेरै कुरा क्यार्नु ?

जनता सिटामोल खान नपाएर मर्दा बिनासित्तीमा मन्त्रीगण हेलिकप्टरमा उड्दा छन् । गब्बर जस्ता जब्बर लबस्तराहरू । यिनको महात्म्य क्या कहूँ ? लबस्तरयाइँ र कालको ओखती छैन । मानव दानव नबनोस् । बाउसे सकियो । आजलाई मैजारो । इति नेपाल देशे नेता महात्म्यम् ।