आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०८२ शुक्रबार, १६ जनवरी २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०८२ शुक्रबार, १६ जनवरी २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ २ गते तद्अनुसार सन् २०२६ जनवरी १६ तारिख शुक्रवार माघ कृष्ण पक्षको त्रयोदशी तिथि मूल नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा सुस्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः३० मा हुनेछ । प्रदोष व्रत, राष्ट्रिय भूकम्प सुरक्षा दिवस ।

आजको राशिफल

मेष – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुनसक्ने दिन छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिनेछ । तथापि, आज अनावश्यक भ्रमण हुन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा केही खर्च हुने योग छ । आफन्तजनको साथ मिल्नेछ ।

वृष – ब्यस्तता वृद्धिका साथै व्यावसायिक काममा खर्च बढ्ने समय छ । यात्रा सुखद रहेपनि भावी योजनाबारेको चिन्तन र चिन्ताले सताउन सक्छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, तर सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता रहला । स्वास्थ्य सबल रहनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मिथुन – रोकिएका काम बन्नाले उत्साह जागृत भएपनि विगतका समस्या बल्झिन सक्ने समय छ् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । आजको दिन आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । सानातिना काम र घरेलु समस्या देखापर्न सक्छ । तथापि, पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । बौद्धिक कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – आजको दिन मेहनतअनुसार फाइदा कमै होला, तर कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । चिताएको काम समयमा सम्पादन हुन सक्ने सम्भावना कमै देखिएपनि नियमित कार्यबाट उपलब्धि नै मिल्नेछ । स्वास्थ्य केही कमजोर भएको अनुभूति हुनसक्छ । परोपकारका कार्यमा ध्यान दिनु हितकर सावित होला ।

सिंह – कुनै विषयले मनमा त्राासको अवस्था रहेपनि आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै यात्रागत कार्यमा सफलता मिल्ने देखिन्छ । कामको चापबाट फुर्सद पाइएला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।

कन्या – आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

तुला – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । विशेष सभा–समारोहमा भाग लिने अवसर प्राप्त होला । तार्किक क्षमता बढ्नेछ भने बोलीको प्रभाव पनि रहनेछ । तथापि, विशेष प्रयत्नका बाबजुद अवसरको पूरा लाभ उठाउन मस्किल पर्ने योग छ, ध्यान राख्नुहोला । प्रेमभाव वृद्धि र रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगी मित्रको साथ–सहयोग मिल्नेछ ।

वृश्चिक – नियमित कार्यमा ब्यस्तता बढ्नेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको दिन छ । इरेष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, तर रुचिका विषयमा लगानी बढाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा होला । मिष्ठान्न भोजनको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

धनु – सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । आजको दिन स्वास्थ्यमा भने केही कमजोरीको अनुभूति हुन सक्छ । सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुनसक्छ, सचेत रहनुहोला । तथापि, परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । दाम्पत्यसुख बढ्ला । पराक्रम वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, तर अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ला । नियमित काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । कर्मबल वृद्धिसँगै साथीभाइको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण रहनेछ ।

कुम्भ – आजको दिन केही चुनौतीयुक्त रहला, तर राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने समय छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनुहोला । पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । आरोग्यबल रहनेछ ।

मीन – आजको दिन व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग र उपहार पाइने समय छ । आँटेका काम तत्काल सम्पादन हुनसक्ने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएला । व्यस्तताका साथै खर्च केही बढ्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।