कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनबढी घरपालुवा जनावरलाई मारेको छ ।
निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ । स्थानीय किसान कासी लुहारले आफूले दुई महिनाअघि मात्रै रु ४० हजार ऋण लिएर किनेको दुधालु गाईलाई बाघले मारेको बताएका छन् । त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुऱ्याइ खाएको जानकारी दिए ।
साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन् ।
‘बाघले दिनहुँ घरपालुवा जनावर मार्न थालेपछि हाम्रो रोजीरोटी नै सङ्कटमा परेको छ’, महराको भनाइ छ । साँझ नपर्दै बस्तीमा बाघ पस्ने गरेको र चौपाया मारेर निकुञ्ज जाने गरेको उनले बताए । बाघका कारण मौरीफाँटा क्षेत्रको जनजीवन त्रसित बनेको छ ।
प्रतिक्रिया