राजनीतिको ‘फास्ट ट्र्याक’ अराजकता वा हतारो होइन । लौरोले थाम्न नसक्ने शरिरले भत्केको बाटोमा कोशौं दुरी पार गर्छु भन्ने दु:साहसविरुद्ध सहज मार्गको खोज पनि हो । राजनितिक प्रक्रियामा पारदर्शिता, नेतृत्वमा जिम्मेवारी र संगठनभित्र अवसरको न्यायोचित वितरणको खोजी हो ।
✍ रश्मिशेखर सुवेदी
नेपालको राजनीति आज गम्भीर मोडमा उभिएको छ । जनताको अपेक्षा, लोकतन्त्रका मूल्य-मान्यता र राजनीतिक दलहरूको आचरणबीच बढ्दै गएको दूरीले समग्र प्रणालीप्रति नै निराशा जन्माइरहेको छ । यही सन्दर्भमा अब पुरानै ढर्रामा, पुरानै सोच, विचार र अनुहारहरूमा अल्झिएर राजनीति अगाडि बढ्न सक्दैन । परिवर्तन ढिलो भयो भने त्यसको मूल्य देशले तिर्नुपर्छ ।
नेपाल कहिल्यै उपनिवेश नबनेको, आफ्नै ऐतिहासिक पहिचान बोकेको राष्ट्र हो । तर विडम्बना, आज हामी वैचारिक रूपमा परनिर्भर बन्दै गएका छौं । विदेशी चासो, कूटनीतिक दबाब र आन्तरिक कमजोरीका कारण राष्ट्रिय निर्णयहरूमा बाह्य प्रभावको छायां देखिन थालेको छ । यसको मुख्य कारण दलहरूभित्रको कमजोर आन्तरिक लोकतन्त्र, अवसरको असमान वितरण र नेतृत्वको गैरजिम्मेवार प्रवृत्ति हो ।
नेपाली कांग्रेसजस्तो ऐतिहासिक दल, जसले लोकतन्त्र, मानव अधिकार र समाजवादको झण्डा उठाएर यो देशलाई यहाँसम्म ल्यायो, आज आफ्नै कार्यकर्ताको भरोसा गुमाउने अवस्थामा पुगेको अनुभूति धेरैले गरिरहेका छन् । म स्वयं नेपाली कांग्रेसको सिपाही हुँ – यो मेरो गर्व हो । कांग्रेस मेरो राजनीतिक स्कुल हो, जहाँबाट मैले राष्ट्र, समाज र लोकतन्त्र बुझ्न सिकेँ। तर यही दलभित्र युवा आवाजका लागि अवसर क्रमशः सीमित हुँदै गएको तीतो यथार्थलाई अस्वीकार गर्न सकिँदैन । अग्रज पुस्ताले आफू र आफ्ना बाहेकका लागि अवसर सिमित गर्दा पुस्ताको तह-तह जम्मा भएको छ । नेपालका प्रमुख र पुराना दलहरुमा कति तहका युवा छन् ? सधैं तिनै पुराना र ढांट पुस्ताको अनुहार हेरेर कति पटक जनताले मतदान गर्लान् यो डिजिटल साइबर दुनियाँमा ? साम दाम र दण्डले चुनाव जिते पनि देशप्रतिको दयित्व हुंदैन ? सुध्रिनु पर्दैन ? कि हामीले सबै काम राम्रै राम्रो मात्र गरेका छौं भनेर प्रमाणित गर्नु पऱ्यो नि ?
हरेक पुराना पार्टीभित्र योगदान, निष्ठा र क्षमताभन्दा नजिकको घेरा, गुट र शक्ति सन्तुलनले अवसर निर्धारण गर्ने चरित्र व्याप्त छ । यसले स्वाभाविक रूपमा ऊर्जावान् युवालाई निराश बनाएको छ । यही निराशाबाट नयाँ पार्टी, नयाँ अनुहार र नयाँ विचारहरु जन्मनु र त्यसतर्फ आकर्षण बढ्नु अस्वाभाविक होइन । तर, यसलाई युवाहरुको दोष भनेर पन्छिनु आत्मघाती हुनेछ । यो त पार्टीभित्रै गम्भीर आत्मसमीक्षाको माग हो ।
विदेशी चासो बढ्दै जानुको अर्को कारण हाम्रो आन्तरिक कमजोरी हो । जब दलहरू स्पष्ट दृष्टिकोणविहीन हुन्छन्, तब बाह्य शक्तिले खाली ठाउँ भर्छ । राष्ट्रिय स्वार्थका विषयमा साझा न्यूनतम सहमति बनाउन नसक्नु हाम्रो असफलता हो ।
राजनीतिको ‘फास्ट ट्र्याक’ अराजकता वा हतारो होइन । लौरोले थाम्न नसक्ने शरिरले भत्केको बाटोमा कोशौं दुरी पार गर्छु भन्ने दु:साहसविरुद्ध सहज मार्गको खोज पनि हो । राजनीतिक प्रक्रियामा पारदर्शिता, नेतृत्वमा जिम्मेवारी र संगठनभित्र अवसरको न्यायोचित वितरणको खोजी हो भन्ने मेरो बुझाइ हो । युवाले पार्टी छाड्नुपर्ने होइन, पार्टीले युवालाई अँगाल्नुपर्ने समय आएको छ । नेतृत्व पुस्तान्तरण केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।
आजको युवा पुस्ता केवल पदका लागि होइन, अर्थपूर्ण भूमिकाका लागि राजनीति गर्न चाहन्छ । नीति निर्माणमा सहभागिता, संगठन सञ्चालनमा जिम्मेवारी र विचार अभिव्यक्तिको स्वतन्त्रता खोजिरहेको छ । तर जब पार्टीभित्रै प्रश्न उठाउनेलाई अनुशासनको नाममा दबाउने प्रयास हुन्छ, तब विद्रोहको बीउ रोपिन्छ । पार्टीभित्र परिवर्तनको पक्षमा आवाज उठाउनु गद्दारी होइन, त्यो त पार्टीलाई जोगाउने साहस हो ।
विदेशी चासो बढ्दै जानुको अर्को कारण हाम्रो आन्तरिक कमजोरी हो । जब दलहरू स्पष्ट दृष्टिकोणविहीन हुन्छन्, तब बाह्य शक्तिले खाली ठाउँ भर्छ । राष्ट्रिय स्वार्थका विषयमा साझा न्यूनतम सहमति बनाउन नसक्नु हाम्रो असफलता हो । कांग्रेसजस्तो दलले यहाँ नेतृत्वदायी भूमिका खेल्न सक्थ्यो, तर आन्तरिक कलह र अवसरवादले त्यो सम्भावना कमजोर बनाएको छ।
मेरो देशभक्ति, लोकतन्त्र बलियो होस्, संविधान सुरक्षित रहोस् र नागरिकको भरोसा मुल राजनीतिमाथि फर्कियोस् भन्ने चाहनामा आधारित छ।
राजनीतिको फास्ट ट्र्याक भनेको नयाँ पार्टी खोल्दै हिँड्नु मात्र होइन, त्यो त पार्टीभित्रै संरचनागत सुधार, आन्तरिक निर्वाचनको इमानदार अभ्यास, युवालाई निर्णायक तहमा पुर्याउने स्पष्ट नीति र वैचारिक स्पष्टताको बाटो हो ।
अन्त्यमा, म भन्न चाहन्छु- नेपाली कांग्रेस अझै पनि सुध्रिन सक्छ । यो दलको जरा गहिरो छ, इतिहास गौरवपूर्ण छ । तर इतिहासको भरमा वर्तमानको कमजोरी ढाक्न मिल्दैन । परिवर्तनले पार्टीलाई लयमा फर्काउन सक्छ, विदेशी प्रभावलाई सन्तुलनमा राख्न सक्छ र नेपालको लोकतन्त्रलाई सही दिशामा अघि बढाउन सक्छ । यही नै आजको राजनीतिको फास्ट ट्र्याक हो ।
(लेखक नेपाली कांग्रेस झापाका सुचना, संचार तथा प्रचार विभाग प्रमुख हुन्)
प्रतिक्रिया