सात बारको अवधारणा पश्चिमा संस्कृतिबाट आयतित कि वैदिक आविष्कार ?

सात बारको अवधारणा पश्चिमा संस्कृतिबाट आयतित कि वैदिक आविष्कार ?


हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको ‘साप्ताहिक चक्र’ अर्थात् सात बारको अवधारणा आखिर कहाँबाट आयो ? सामान्यतया यसलाई आधुनिक वा पश्चिमा सभ्यताबाट आयातित प्रणाली ठान्ने एउटा तप्का समाजमा विद्यमान छ । वैदिक वाङ्मय, वेदाङ्ग र प्राचीन ज्योतिषीय परम्पराको सूक्ष्म अध्ययन गर्दा यो धारणा अपूरो मात्र होइन, अत्यन्तै भ्रामकसमेत देखिन्छ । सात बारको अवधारणा कुनै आकस्मिक सामाजिक संरचना वा बाह्यप्रभाव होइन । यो त वैदिक ब्रह्माण्डबोध, कालचिन्तन र ऊर्जात्मक विज्ञानबाट क्रमशः विकसित भएको एउटा गहन ज्ञान र संरचना हो । यदि वेदलाई एउटा सूक्ष्म बीउ मान्ने हो भने साप्ताहिक चक्र त्यसैबाट विकसित भएको एक सुव्यवस्थित ज्ञानवृक्ष हो । यही वृक्षका जराहरू ऋग्वेदमा, तना वेदाङ्ग ज्योतिषमा र फलहरू पुराण तथा सिद्धान्त-ग्रन्थहरूमा विस्तार भएका छन् ।

ऋग्वेदमा अदितिका पुत्रहरूलाई आदित्य भनिएको छ । विभिन्न मण्डलहरूमा सात आदित्यहरूको विशेष उल्लेख पाइन्छ । यद्यपि वैदिक चिन्तनको शैली सूत्रात्मक, प्रतीकात्मक र बहुस्तरीय हुने भएकाले नामहरू सिधै सूचीवद्ध नहुन सक्छन् । विद्वान्‌हरूको व्याख्यानुसार यी सात आदित्यहरू वास्तवमा मानव-आँखाले देख्न सकिने प्रमुख सात आकाशीय पिण्डहरूको प्रतीकात्मक अभिव्यक्ति हुन् । यी सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र र शनि ग्रहहरूलाई प्राचीन ऋषिहरूले केवल आकाशमा घुम्ने भौतिक पिण्डका रूपमा मात्र नभइ मानवीय चेतना, काल र जीवनचक्रका नियामक ब्रह्माण्डीय शक्तिका रूपमा आत्मसात् गरेका थिए ।

यसरी ग्रहहरू खगोलीय वस्तु मात्र नभइ कालशक्तिका संवाहक बने । यही दृष्टिबाट हेर्दा, सात ग्रह र सात आदित्यको अवधारणा वैदिक ब्रह्माण्डबोधको केन्द्रीय तत्त्व बन्न पुग्यो । समयलाई सात खण्डमा विभाजन गर्ने साप्ताहिक संरचना यही जगमा विकसित हुनु पूर्णतः स्वाभाविक देखिन्छ। ज्योतिषशास्त्रलाई वेदाङ्ग अर्थात् वेदको आँखा मानिन्छ । वेदमा निहित कालबोधलाई व्यावहारिक जीवनसँग जोड्ने काम वेदाङ्ग ज्योतिषले नै गरेको हो । यही क्रममा पुराणकाल र सिद्धान्तकालमा आइपुग्दा बारहरूको नाम र स्वरूपले औपचारिक रूपमा स्पष्ट आकार ग्रहण गरे ।

यस विकासक्रममा होरा अर्थात् समयको सूक्ष्म एकाइको सिद्धान्तले निर्णायक भूमिका खेलेको देखिन्छ । अहोरात्र (दिन र रात)लाई निश्चित होरामा विभाजन गरी ग्रहहरूको क्रमिक प्रभुत्व निर्धारण गर्ने पद्धति नै बारको जननी हो । जुन ग्रहको प्रभाव दिनको पहिलो होरामा प्रधान हुन्छ । त्यही ग्रहका नामबाट उक्त दिनको नामकरण गरियो । त्यसैले सूर्यप्रधान दिन आदित्यबार (आइतबार), चन्द्रप्रधान दिन सोमबार, मङ्गलप्रधान दिन मङ्गलबार, बुधप्रधान दिन बुधबार, बृहस्पतिप्रधान दिन गुरुबार, शुक्रप्रधान दिन शुक्रबार र शनिप्रधान दिन शनिबार कहलाउन थाले । यो नामकरण प्रक्रियामा गहिरो गणितीय र खगोलीय सूत्र लुकेको छ।

वेदमा वर्णित देवताहरू कुनै पृथक् अलौकिक सत्ता मात्र नभएर प्राकृतिक शक्ति, गुण र ऊर्जाका प्रतीक हुन् । अग्नि, विष्णु, बृहस्पति, इन्द्र जस्ता देवताहरू क्रमशः मङ्गल, बुध, गुरु आदि ग्रहसँग तात्त्विक रूपमा सम्बन्धित मानिन्छन् । देवताको स्वभाव, सत्त्व, रज र तम गुण, गति र प्रभाव ग्रहस्वरूपमा रूपान्तरण हुँदै अन्ततः बारहरूको चरित्र निर्धारण भयो । सात बारको प्रणाली देवताबाट ग्रह र ग्रहबाट कालचक्रतर्फ विकसित भएको विशुद्ध वैदिक चिन्तनको निरन्तरता हो, कुनै बाह्य आयातित संस्कृति होइन ।

ऊर्जाको वैदिक विज्ञानलाई हेर्ने हो भने, वेदमा सूर्यका ‘सप्त रश्मि’ अर्थात् सात किरणहरूको विशिष्ट चर्चा पाइन्छ । आधुनिक विज्ञानले प्रकाशलाई सात रङमा विभाजन गर्न थालेको धेरै पछि मात्र हो । वैदिक ऋषिहरूले हजारौँ वर्षअघि नै ऊर्जाका यी सात प्रवाहलाई पहिचान गरिसकेका थिए । वैदिक मान्यताअनुसार यी सात किरणहरूले पृथ्वीमा सात प्रकारका मानसिक, जैविक र चेतनात्मक प्रभाव पार्छन् । मानव शरीरका सप्त चक्र, प्रकृतिका सप्त लोक र समयका सप्त बारहरु एउटै ऊर्जात्मक सिद्धान्तका विभिन्न आयाम हुन् । त्यस्तै सुर्यको सप्त अश्व (७ घोडा)को बारेमा ऋग्वेदमा उल्लेख छन् ।

साप्ताहिक समयचक्र कुनै सामाजिक सहमति वा सामान्य क्यालेन्डर मात्र होइन । यो ब्रह्माण्डीय ऊर्जाको आवर्त प्रवाहसँग समन्वित एक प्राकृतिक प्रणाली हो । अन्ततः वेद एउटा यस्तो ज्ञान वा बीउ हो । जहाँ सबै कालिक, खगोलीय र दार्शनिक संरचनाहरू सूक्ष्म रूपमा निहित छन् । वेदमा आज प्रयोग हुने ‘आइतबार, सोमबार’ जस्ता नाम प्रत्यक्ष रूपमा नदेखिनु यसको कमजोरी होइन । यो वैदिक चिन्तनको गहिराइ र सूत्रमय शैलीको प्रमाण हो । वेदले ती सात शक्ति, ग्रह र देवताहरूको पहिचान गरिदियो । यसैको आधारमा कालान्तरमा साप्ताहिक बारको व्यवस्थित संरचना विकास भयो ।

ऋग्वेदका आदित्यहरू, अथर्ववेदका कालसम्बन्धी सूक्तहरू र वेदाङ्ग ज्योतिषका सिद्धान्तहरूले सात दिनको चक्रतर्फ नै स्पष्ट संकेत गर्छन् । अत: आज हामीले प्रयोग गर्ने सात बार कुनै विदेशी उपहार होइनन् । यो त हाम्रै वैदिक परम्परा, ऋषि-महर्षिहरूको सूक्ष्म खगोलीय अनुसन्धान र कालबोधको परिपक्व फल हो ।

वेद नै सात बारको ज्ञानको बीउ थियो । यही ज्ञानको विशाल रुख ज्योतिषशास्त्रमा मौलाएको हो । यो हाम्रो प्राचीन मेधा र आधुनिक समयको यस्तो संगम हो, जसलाई हामीले गर्वका साथ विश्वसामु राख्न सक्नुपर्छ ।

वेदले नाम दिँदैन, लय दिन्छ । वेदमा सूर्य एक छ, तर उसका रश्मिहरू धेरै छन् । वेदमा काल स्थिर छैन, उसले श्वास फेर्छ । ऋषिहरूले आकाश हेरे तर आँखा होइन, चेतना लिएर हेरे । उनीहरूले देखे- सात शक्तिहरू छन्, सात गति छन्, सात लय छन् । त्यसैले वेदले ‘सात बार’ भन्यो भनेर नखोज्नुहोस् । वेदमा लेखिएको छ- ‘सप्त रश्मयः’ ‘सप्त आदित्याः’ ‘सप्त लोकाः’ ।

अत: वेद कुनै क्यालेन्डर होइन । वेद कुनै पञ्चाङ्गको पाना होइन । वेद त चेतनाको महासागर हो । जहाँ समयलाई गनिँदैन, मात्रै अनुभव गरिन्छ । त्यसैले यदि तिमी वेदमा ‘आइतबार, सोमबार….’ खोज्न थाल्छौ भने तिमीले वेद होइन, आफ्नै अधैर्य देख्नेछौ ।