✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । अर्याल जस्ता होनहार हाँस्यव्यङ्ग्यकार असमयमै अस्ताइहाल्नु भो । झर्रोवादी ताना शर्मा/बालकृष्ण पोखरेल मासछर्न जानु भो । उहाँहरूको अनुपस्थितिमा हाँस्यव्यङ्ग्य र झर्रोवादी फेट अधुरो/अपुरो भो । त्यो खालीपन भर्न हाँस्यव्यङ्ग्य/झर्रोवादी फाँटमा पाइतो सार्दैछु । मैले लेख्ने भन्या ब्यङ्ग्य हो; हाँस्यब्यङ्ग्य होइन । अचेल राष्ट्रसेवी/समाजसेवी त दोषरहित छैनन् भने अरू सेवाको के गर्नु कुरा ? जे होस्, मैले चैं लेखनलाई आफ्नो कर्म ठानें : पशुपतिको जात्रा सिद्राको व्यापार भने झैं आत्मतुष्टि नि मिल्ने, साहित्य सेवा नि हुने । यस निबन्धका पात्रहरू काल्पनिक हुन्; कहीं-कतै कसैलाई छोएमा काकताली मात्र हो । लेखनकार्य नि पर्वतारोहण जस्तै कठिन पो छ त । पहिलो झमटमा कहाँबाट उठान गर्ने र कहाँ पुऱ्याएर बैठान गर्ने भन्ने ।
अँ, शारीरिक/आत्मिक सुस्वास्थ्यार्थ बच्चुटोलदेखि पिच्चुटोलसम्म प्रभातकालीन मार्च गर्छु । डाक्टरलाई सोध्नै नपर्ने – आफै डाक्टर । ज्वरो आए प्यारासिटामोल, पखाला लागे मेट्रीनिडाजोल, अम्लपित्तले दु:ख दिए रैनिटिडिन, रक्तचाप बढे लोसार्टन र दुखाइ कम गर्न फ्लेक्सन खान कसले सिकाउनुपर्छ र ? कलेजो, मिर्गौलाको खराबी देखिए त डाक्टरकोमा त्वमशरणम् पर्नैपऱ्यो ।
अँ, प्रभातकालीन मार्चको कुरो हुँदै थियो; कथनले लिक छोडेछ क्यारे । बाटोमा जिउँदो लास, जिउँदो मान्छे, बौलाहा, सन्काहा, भौंजा, व्यभिचारी, सानो मान्छे, ठुलो मान्छे, गुनिलो मान्छे र बैगुनी मान्छे भेटिने । दुई-चारजना मान्छे बारे टिपोट गरिहालूँ है ।
म फटाफट हिँड्दै थिएँ । पहिलो मोडमा ट्वाक्क भेटिए – एकजना बडादमी । नाम निर्गुणानन्द काम चैं सम्पूर्णानन्द । जे भने नि उनी गौप्राणी हुन् है । उनी अर्काको निन्दोचर्चो नगर्ने स्वावलम्बी मान्छे । केही बेरपछि भेट्टियो यमु ठकुरी । मैले अरू ठकुरी त सभ्य/शालीन पाएको थिएँ । यो चैं ठ्याहा/मठ्याहा के हो ? कुन क्याटेगरीको ठकुरी परेछ ? जखमले पो छ । बातैपिच्छे मुख कुल्ला गर्नुपर्ने गरि यसको थुतुनोबाट आमाचकारी गाली खसिरहने । उतिबेला बाऊबाजेले भन्नुभएको कुरा – ‘इष्ट बढा, दुष्ट नबढा’ ! कानमा बतास लाइएन, अहिले पछुताउनु परिरहेछ । हलो, चलो, दलो र ढलोसित संगत गरिएछ; भलो साथी नभेटिएसि मैले हाललाई साथी बढाउ अभियान स्थगित गऱ्या छु ।
हिँड्दै गर्दा तोरीलाउरेसित टुप्लुक्क भेट भो । ऊ बाल्जाकको चेलो जस्तो । हुटेलमा दुई चारजना लाटागाँडा बथानेर बेतुक गफ लडाउनुपर्ने । कसले एक कप चिया ख्वाउला भनेर घण्टौंसम्म हुटेल रुङिरहने । उसले सापटी लिएको रिन तिरेको भन्ने कसैलाई थाहा छैन । आफू मासु च्युरा खान्छ; स्वास्नी छोराछोरीलाई भोको राख्छ । उसले उधारो नतिऱ्याले हुटेलवाल्नी/भट्टीवाल्नी आक्रोशित छन् ।
आफू अहिंसावादी परेर मात्र पो नत्र कति जनाको ढनेसो खुस्काइ सक्थें । बुद्धले जस्तै रिस त नियन्त्रण गर्नैपरो नि । उसबाट छुट्न पाएको थिइनँ, भ्यागुताप्रसाद भेटिए । उनी नि हाम्रो टोलको इनेगिने नेता नै हुन् । अब पुरानो पार्टी त्यागेर नयाँ पार्टीलाई भोट हाल्नुपर्छ । कमिस्ट कमाउनिस्ट भइहाले, धोद्रो रुख ढल्न लागिसक्यो । दोषमुक्त नभए नि नयाँ पार्टी ठिक छ भन्दै थिए; मैले आफ्नो बाटो तताएँ । के अलिपर पुग्या थिएँ, मागुरकान्त भेटिए । उनी तालनतुलको लवारपाँडे स्वघोषित बुद्धिजीवी । उहाँ भने मास्टर डिग्रीधारी, निरक्षरको लहैलहैमा कुद्या पो छन् । आफ्नो सामल नभएको । यस्तो मान्छेसित के बात मार्ने हो र भन्दै पचास पाइला के चाल्या थिएँ, लहडप्रसाद भेटियो । ऊ नि कम्तिको कहाँ छ र ? अछ्युँ बछ्युँ खाएँ झुसे बारुलो भन्दो । उसले तेह्रथुमदेखि तेहरानसम्म, मोवाखोलादेखि मोरिसससम्म घुम्या छु भनेर गफ चुट्दो । नामुद गफाष्टक । यसले वरको सिन्को पर सार्दैन अनि कहाँबाट माखो मारोस् ?
लहडेलाई छोडेर के अघि बढ्याथें, करेलोराजसित भेट भो । ल्याकत परीक्षा फेले विद्यार्थी गोठालो । ८×७ = ५३ घोकाएर तलब घिचेको । नामै करेलो जिब्रै करेलो । कसैको बाऊआमाले कोही-कोहीलाई त कस्तो अपशोच मान्नुपर्ने नाम दिंदा रहेछन् ? यसलाई नि छोडेर के अघि बढ्याथें, भंगेरोप्रसाद भेटियो । ऊ नि महाघमण्डी । जंगबहादुरको पालाको शासन लाद्न खोज्दो । निकृष्टले उत्कृष्टको सत्कार गर्नुपर्छ भन्थ्यो । ऊ शत्रु भन्या छिद्रान्वेषी हो, देखेको भन्दा नदेखेको वैरी खतरनाक हुन्छ, आफ्नै सिरुवार ब्रुटसले कसरी जुलियस सिजरको हत्या गऱ्यो भनेर गडतिलो दृष्टान्त दिन्थ्यो । इष्टको साथी इष्ट हुन्छ; दुश्मनको साथी दुश्मन हुन्छ भन्थ्यो ।
बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ के-के । तेस्रो घुम्तीमा बञ्चरे भेट भो । उसले एकपल्ट (रक्सी नखाने मान्छेको) कोकाकोलाको बोतलमा रक्सी घोलेर ख्वाइदिएछ रे; रक्सीको तालमा खुबै नाच्यो रे । उसले ‘दिलग्गी’ गरेको भन्थ्यो । यस्तो नि हुन्छ दिल्लगी ? यस्तो घाती मान्छेसित के बोल्नु भनेर बाटो तताको त पौने दश बजिसकेछ । त्यसपछि ठाडठाडै छाडतोस कसेर घर फर्क्या त सुवासिनीले हातमा डाडुपन्युँ लिएको देखें । झल्याँस के बिउझ्याँ मात्र थिएँ; उनी त स्वागतार्थ हातमा तात्तातो चिया लिएर/मस्केर पो बसेकी रहिछिन् । क्या मिठो सपना ?! सधैं यस्तै सपना देख्न पाए त जीवन कति जीवनमय हुँदो हो । अस्तु !
प्रतिक्रिया