लण्डन । बेलायतमा रहेका नेपाली सेफहरुको संस्था नेप्लिज सेफ एशोसियसन यूकेले नेपालका भूकम्प पीडितहरुको लागि दुई लाख पचहत्तर हजार नेपाली रुपैंया सहयोग पुर्याएको छ । सेफ एशोसियसन यूकेका अध्यक्ष कृष्ण तिमल्सिना सहितका पदाधिकारीहरुले बुधबार बेलायतस्थित कार्यवहाक नेपाली राजदूत तेज बहादुर क्षेत्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । एशोसियसनका उपाध्यक्ष दधि आचार्यका अनुसार उक्त सहयोग रकम प्रधानमन्त्री राहात तथा उद्दार कोषमा जम्मा हुनेछ ।
बेलायतमा कार्यरत नेपाली सेफ तथा शुभचिन्तकहरुबाट उक्त रकम संकलन गरिएको एशोसियसनले जनाएको छ । बेलायतलाई कर्मथलो बनाएका सेफहरुलाई एकत्रित गर्न तथा उनीहरुको हक अधिकार सुनिश्चित गराउन सन् २०१२ मा स्थापित सेफ एशोसियसन यूकेले स्थापना कालदेखि नै नेपालका हरेक विपत्तिहरुमा सक्दो सहयोग पुर्याउँदै आइरहेको छ । उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले सेफ एशोसियसन यूकेले प्रशंसनीय कामहरु गरेको स्मरण गर्दै उक्त रकम तत्काल नेपाल पठाउने बताएका थिए । बेलायतमा सेफहरुको पेशा अत्यान्तै सम्मानजनक रहेको बताउंदै क्षेत्रीले सामाजिक काममा अझै बढी सक्रिय भएर लाग्न आग्रह गरे । अहिलेको अवस्थामा ब्रिटिश गोर्खापछि बेलायतमा सेफ पेशा बढी सुरक्षित रहेको क्षेत्रीले बताए ।
एशोसियसनका अध्यक्ष तिमल्सिनाले देश रोइरहेको बेला सानो भए पनि सहयोग गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताए । उनले रकम संकलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सेफहरुप्रति आभार प्रकट गरेका थिए । बेलायतको टाढा टाढा रहेर पनि मातृभूमिको सेवामा सहयोग गर्ने सेफहरुलाई धन्यवाद दिंदै उनले आगामी दिनहरुमा पनि सहयोग गर्न आव्हान गरे । एशोसियसनले संकलन गरेको बांकी रकम सेफहरु आफैं उपस्थित भएर भूकम्पबाट क्षतिग्रस्त स्कूलको पुननिर्माणमा खर्च गर्ने जनाएको छ । अध्यक्ष तिमल्सिनाका अनुसार छिट्टै बस्ने कार्यसमितिको बैठकमा स्कुल पुननिर्माणबारे स्पष्ट योजना सार्वजनिक गरिने छ ।
सहयोग रकम हस्तान्तरणका अवसरमा एशोसियसन यूकेका अध्यक्ष तिमल्सिना, उपाध्यक्ष आचार्य, सदस्यहरु ठाकुर ढुंगाना, धर्मा चापागाईं, रामसिंह थापा, दिपक आचार्यलगायत सहभागी थिए ।

प्रतिक्रिया