विदेशी दूतावास वा वैदेशिक संस्थाको मुखौटामा युवाको रगतकै बलमा राज्य कब्जा गर्ने कुकर्मलाई शताब्दीकै महान् उपलब्धि ठान्नु र पश्चिमी शक्तिद्वारा पालित पात्रलाई पृथ्वीनारायण शाहभन्दा माथि राखी बाह्य शक्तिद्वारा फण्डित मिडिया, कथित सामाजिक अभियन्ताले अनेकौं रवैया देखाउँदै सत्तामा पुऱ्याउन लाग्नु सार्वभौम देशका नागरिकमाथिको ठाडो हस्तक्षेप हो ।
✍ काशी पौडेल आयुष
यतिबेला नेपालमा निर्वाचनको विषयले मिडियादेखि सामाजिक सञ्जाल र पूरै समाज तातेको छ । यही प्रणाली यही व्यवस्थामा नेपालीले आर्थिक उन्नति र स्थाई विकास खोज्नु कोरा कल्पना बाहेक केही होइन । पुरानो पात्रलाई दानवीकरण र नयाँ पात्रलाई भगवान् बनाउने दूषित पश्चिमा-स्वार्थको राजनीतिमा गिजोलिएको नेपाल आजभोलि आर्थिक सङ्कट, सांस्कृतिक संक्रमण, क्षत्रिय, भाषिक, सामाजिक द्वन्द्वको भुमरीमा फस्दै गएको भान हुँदैछ । राज्य बाह्यशक्तिको प्रयोगशाला बन्दै जाँदा यहाँ वैरीद्वारा परिचालित केही पात्रको कारण नेपाली एकता, राष्ट्रिय पहिचान नै मेटिने दोसाँधमा पुग्दै गरेको आभाष हुन्छ ।
वर्तमान आधुनिक युगमा कुनैपनि राष्ट्र नास गर्न हातहतियारधारीको युद्ध नै हुनुपर्छ भन्ने जरुरी हुँदैन । तत्कालीन ब्रीटिश-इन्डियाको गभर्नर-जनरलको कार्यकारी परिषद्का कानुनी सदस्य थोमस बबिङ्टन म्याकले ई.सं. १८३५ मा माइन्युट लेख्दै दक्षिण एसियाको अस्तित्व समाप्त पार्न ती देशको राष्ट्रिय भाषा, संस्कृति, धार्मिक परम्परा, दर्शन, मातृभुमि र राष्ट्रिय एकताको चैतन्यलाई विभिन्न दल, अधिकार, समावेशी, जात र वादको मुकुण्डो भिराएर नास गर्न सकिएको खण्डमा ती देशको अस्तित्व समाप्त पार्न सकिन्छ अर्थात् ती देशलाई हामिले वैचारिक गुलाम बनाउन सकिन्छ भनेर तत्कालीन ब्रिटेनको प्रमुखलाई प्रेषित गरेको यथार्थलाई आज पल-पल स्मरण गर्नुपर्ने अवस्था आएको छ ।
नेपालमा हालै घटेका राजनीतिक उतारचढाव भनौं वा तराईमा भएको हिन्दु मुस्लिम द्वन्दलाई मलजल दिने व्यवस्थापकीय प्रणाली गणतन्त्र, संघीयता र धार्मिक निरपेक्षलाई आम नेपालीको हितकर ठान्नु सन् २०११ मा स्थापना भएको अमेरिकी युथ काउन्सिल, सन् १९७४ मा स्थापना भएर राजनीतिक कुटनैतिको काम गर्दै आए पनि औपचारिक रुपमा सन् १९९५ देखि हस्तक्षेपकारी भूमिकामा रहेको युरोपेली युनियन साथै २०४७ सालदेखि प्रत्यक्ष रुपमा आफ्नो मिसन चलाउँदै आएको भ्याटिकन र सन् १९९९ मा नेपालमा स्थापना गरिएको कोरियन चर्च मिसनलाई आफ्नो अभिभावक ठान्ने पात्रलाई छानी-छानी एउटै नयाँ दलको छत्रछायामा उतार्ने प्रपञ्च वा पुरानोलाई रोक्न नयाँ-नयाँ ‘जेलेन्स्की-गठजोड’को क्रियाकलापलाई सुक्ष्म रुपले नियाल्दा नेपालीलाई आफ्नो अस्तित्व, नेपाली पहिचान ध्वस्त पार्नु नै आजको राजनीतिक उद्देश्य रहेछ भनेर स्विकार्न कर लाग्छ । अथवा भनौँ, क्षणिक स्वार्थपूर्तिका लागि पदीयलाभ भए नेपाली राजनीतिक दलका नेता-कार्यकर्ताले जस्तोसुकै निकृष्ट कर्म गर्न पनि पछि नपर्ने प्रष्टिएको छ ।
नेपाली नागरिकले पनि देश, नेपाली सांस्कृतिक पहिचान, रीतिरिवाज भन्दा ओपन सोसाइटी, युएसएआईडी, ई.जे.एन जस्ता अन्तर्राष्ट्रिय संस्थाद्वारा चल्ने मिडियाले रातारात नायक बनाएको, मिठा भाषणमा मख्ख पार्ने कला भएको व्याक्तिलाई जस्तोसुकै दण्डनीय कर्म गर्दा पनि भगवान् नै ठान्ने नियतिले नेपाली अस्तित्व समाप्त पार्ने निश्चितप्रायः देखिन्छ । नेपालीले न आफ्नो देशको इतिहासमा गर्व गर्ने ल्याकत राख्छन् न भविष्यमा हुने असरलाई नै निर्क्योल गर्न सक्छन् । नेपालीको यही आचरणलाई बुझेर नै एनजीओ/आइनजीओले नेपाली राष्ट्रिय एकता, धार्मिक सांस्कृतिक, ऐतिहासिक पहिचान सामाप्त पार्न वि.सं. २०४८ देखि प्रत्यक्ष वा परोक्ष रूपमा छद्मयुद्ध छेडेको यथार्थ हामीमाझ घामजत्तिकै छर्लङ्ग छ । जसअन्तर्गत अधिकार, समावेशिता, जातिय पहिचान, शिक्षा, स्वास्थ्य, अभिमुखिकरण, रुपान्तरण, सामाजिक अभियान लगायत समाजवाद, कम्युनिस्टवाद साथै दलित, जनजाति, मुस्लिम, आर्य मंगोल जस्ता जहरिला शब्दको राजनीति लादेका छन् ।
विभिन्न भेदी ब्यक्तिलाई प्रयोग गर्दै नेपाली भाषिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक पहिचान, पुर्खाको विरासत र नेपाली एकतालाई समाप्त पार्दै आफ्नो स्वार्थको रणभूमि बनाउन खोज्दैछन् भन्दा अत्युक्ति हुँदैन । राजनीतिक दलका नेता-कार्यकर्ताले पद र सत्ता स्वार्थको लागि जस्तोसुकै कर्म गर्न पछि पर्दैनन् । उदाहरणका लागि जेन्जी आन्दोलनको आगजनी, द्वन्द्व र सत्ता-समीकरण साथै पुरानोलाई धिक्कार्दै हिँड्ने नयाँ राजनीतिक दलको स्वार्थपूर्ण एकीकरण र पदलोलुपता टुटफुटको नतिजालाई नै लिन सकिन्छ । हिजो आम नेपालीलाई द्वन्द्वको चितामा होमेर हजारौँ राष्ट्रभक्त युवाको रगतमा होली खेल्दै सत्ताको भऱ्याङ बनाएको माओवादी हिंसाको रक्तरञ्जित इतिहासलाई बिर्सेर आत्मरतिमा रमाएका हामीले भदौ २३-२४ को षड्यन्त्रलाई सहजै भुल्नु कुनै नौलो स्मृतिहीनता हैन ।
विदेशी दूतावास वा वैदेशिक संस्थाको मुखौटामा युवाको रगतकै बलमा राज्य कब्जा गर्ने कुकर्मलाई शताब्दीकै महान् उपलब्धि ठान्नु र पश्चिमी शक्तिद्वारा पालित पात्रलाई राष्ट्रनायक पृथ्वीनारायण शाहभन्दा माथि राखी आम बाह्य राष्ट्रद्वारा फण्डित मिडिया, कथित सामाजिक अभियन्ताले अनेकौं रवैया देखाउँदै सत्तामा पुऱ्याउन लाग्नु एउटा सार्वभौम देशका नागरिकमाथिको ठाडो हस्तक्षेप हो । नेपालीको राष्ट्रिय चेतनाको अवसानयुक्त आत्मसमर्पण हो । जसको दयनीय अवस्था २०८१/८२ को ‘आइक्यू’ मापनले नेपालीको चेतना स्तर विश्वकै तल्लो तहमा पुगेको कठोर यथार्थले निर्विवाद रूपमा प्रमाणित गर्छ ।
नयाँ भनिएका वा आफूलाई प्रखर विकासको विज्ञ ठान्ने युवा नेताले वैदेशिक हस्तक्षेपलाई नियन्त्रण गर्न, एनजीओ/आईएनजीओलाई नियन्त्रण वा निस्तेज पार्न, नेपालमा विदेशी लगानीमा भइरहेको धर्मान्तरणलाई रोक्न, साथै नेपाललाई आर्थिक भार पार्ने संघीय संरचना हटाउने कुनै राजनीतिक प्रतिवद्धता जाहेर गर्न नसक्नुले नयाँ र पुरानो दलको स्वार्थपूर्ण राजनीतिक उद्देश्य र पृष्ठभूमिमा तात्विक भिन्नता देखिँदैन ।
नेपालीलाई लोभ-लालच, प्रभावमा पार्दै इसाई बनाउने धर्मान्तरणलाई बढावा दिने, सांस्कृतिक पहिचान, ऐतिहासिक परम्परालाई घृणा गर्दै धर्मान्तरण गराउने, जातिय भाषिक, क्षेत्रको आधारमा नेपाली-नेपालीमा घृणा फैलाएर द्वन्द्व सृजना गर्ने पात्रलाई कानुनी कारबाही गर्नु त कता हो कता नयाँ भनिएकै पार्टीले टपक्कै टिपेर आफ्नो दलको नेता बनाउनुले भोलिको नेपालले सिरिया, हैटी, अफगानिस्तान वा युक्रेनको नियति भोग्ने निश्चितप्रायः देखिन्छ । यस्ता अपरधिक पृष्ठभूमिका, देशद्रोही मानसिकता बोकेको नेतालाई राष्ट्रको बागडोर जिम्मा लगाउन होडबाजी गर्ने नेपालीको मगजमा आत्मबोध शून्य स्तरमा छ भनेर स्विकार्नु र स्वयं आफैलाई धिक्कार्नु बाहेक अर्को विकल्प देख्दिनँ ।
आफ्नै ऐतिहासिक धार्मिक परम्परा, नेपाली एकता र पुर्खाको विरासत बिर्सेर नेपाल एकीकरणका विभुतिहरूको सत्तोसराप गर्नेहरू विदेशीवाद बोकेर विदेशी नेतालाई आफ्नै अभिभावक ठान्छन् । अझै भन्नुपर्दा विदेशी मिसनलाई नै नेपाल र नेपालीको आर्थिक उन्नति गर्ने मार्ग देख्छन्, यो भन्दा नालायकीपन हास्यास्पद अरु के होला ?
सन् १९६१ मा अमेरिकी राष्ट्रपति चुनिएका जोन एफ केनेडीले पृथ्वीनारायण शाहको एकीकृत राष्ट्र निर्माण, आर्थिक आत्मनिर्भर नीति सैनिक सुदृढीकरण नीति, धार्मिक संरक्षण नीतिलाई प्रशंसा गर्दै अमेरिकाले अनुशरण गर्नुपर्ने बताएका थिए । तर, नेपालका नेता भने आफ्नो पृथ्वीपथ भुलेर विश्वव्यापी तिरस्कृत समाजवाद, कम्युनिजमवाद, गान्धीवाद जस्ता शब्द बोकेर देशलाई भड्खालोमा हाल्दैछन् । नेपालका दल र तिनका नेता पृथ्वीपथ, गोरखनाथ योगी नरहरिनाथको मार्ग पछ्याउँदै अविलम्ब योग, आयुर्वेद, शैव, बौद्ध, पूर्वीय दर्शन र सनातन संस्कृतिलाई विश्वव्यापी चिनाउँदै नेपाली भाइचारा, शान्ति, एकतालाई आत्मसात गरी धार्मिक, सांस्कृतिक पर्यटनलाई देश विकासको मेरुदण्ड ठानेर राजनीति गर्नु पर्नेमा पद र पैसाको लागि विदेशी हितलाई आफ्नो राजनीतिक एजेन्डा बनाएका छन् । यस्तो नीतिले वैरीलाई त लाभ पुग्छ नै, कालान्तरमा नेपालका नागरिकले पनि अफ्रिकी विपन्न देशका नागरिकको जस्तै हविगत भोग्ने निश्चितप्रायः छ ।
आफ्नो पार्टीको निम्ति सडकमा हजारौं जनता उतार्न सक्ने, चुनावअगावै सत्ताको पद बाँडफाँड गर्नेहरूले परापूर्वदेखि चल्दै आएको धर्म, संस्कृति र परम्परालाई परिवर्तन गर्ने कार्यलाई रोक्न किन पहल गर्दैनन् ? राज्यलाई आर्थिक भार पर्ने संरचना, प्रणालीलाई हटाउनुपर्छ किन भन्दैनन् ? देशमा वैदेशिक हस्तक्षेप, एनजीओ/आईएनजीओलाई निस्तेज वा निगरानी गर्नुपर्छ भनेर बोल्न नसक्ने आफ्ना कार्यकर्तालाई सामाजिक कार्य देश विकासमा लगाउन नसक्नेले व्यक्तिगत लाभांश उठाउन सार्वभौमसत्ताको अस्तित्वलाई बर्बाद पार्छन् भन्दा अत्युक्ति हुँदैन ।
दुःखद यथार्थलाई मुटु गाँठो पारेर भन्नुपर्दा सिद्धार्थ गौतम बुद्ध, वेदव्यास, राजा जनकको निष्ठा सीताको मातृत्व, भृकुटीको सांस्कृतिक, कुटनीतिको केन्द्र नेपाल आज नेपालीको नेतृत्वमा हैन विदेशीको हातमा पुगेको छ । अरनिको प्रतिभा, सभ्यता, कला कौशलनीति, पुर्खाको विरासत, देशभक्ति र देशको सार्वभौमसत्तालाई तिलाञ्जली दिएर सत्ता-स्वार्थको बर्को ओढेर बैरीको चंगुलमा फस्नु, कम्युनिस्ट र नास्तिकताको आवरणमा आफ्नै सभ्यता कमजोर पार्ने वैचारिक अभियानलाई देश विकासको कडी मान्नु नेपालीको वैचारिक चेतना हैन । नेपाली सभ्यतामाथिको प्रहार हो ।
जसरी इसाईका लागि भ्याटिकन सिटी र मुस्लिमका लागि मक्का-मदिनालाई मेरुदण्ड मानेर धार्मिक आर्थिक पर्यटनमार्फत तत्-तत् देशले आर्थिक विकासको फट्को मारेको छन् । त्यसरी नै विश्वका १.१६ अर्ब हिन्दूहरूको आध्यात्मिक नाभी पशुपतिनाथ, विश्वशान्तिको पहिलो उज्यालो लुम्बिनी, वेद-विवाह-दर्शनको अमरभूमि जनकपुर, मोक्ष र समन्वयको शिखर मुक्तिनाथ तथा बौद्ध चेतनाको श्वास स्वयम्भू नेपालका साधारण स्थललाई धार्मिक पर्यटनसँग जोडेर नेपालले आर्थिक लाभ लिने नीति अख्तियार गर्नुपर्ने हो । मानव सभ्यताले हजारौँ वर्ष लगाएर बनाएको पूर्वीय दर्शनको जीवनरेखालाई लत्ताएर बाह्यशक्तिको निर्देशनमा राजनीति चल्दा राष्ट्रको दीर्घ स्मृति र नीति बाँच्ने कि मर्ने भन्ने प्रश्न मनमा खट्किएको छ ।
धर्मनिरपेक्षताको अर्थ नेपालीलाई नेपालको सांस्कृतिक मौलिक परम्परा वैदिक सनातन धर्मबाट विमुख बनाएर इसाई वा रोहिङ्या मुस्लिमको चंगुलमा पुऱ्याउनु कदापि होइन । नेपालका बोन जिन, किराँत, बौद्ध, हिन्दु, प्राकृति पुजक सबै आस्थाप्रति सम्मान र संरक्षण गर्नु हो । जब कुनै पनि दल वा संस्थाले वैदिक सनातन, बुद्ध दर्शन, किराँत, बोन र जैन परम्परालाई कमजोर पार्ने बाह्यशक्तिको प्रयास, लगानीको स्वतन्त्रतालाई रोक्ने चेष्टा गर्दैनन् भने त्यस्ता दल र नेतालाई इतिहासले पनि माफी दिनेछैन । किनकि, यस्तो राजनीति र नागरिकको मौन समर्थनले राष्ट्रको सामाजिक र नैतिक मेरुदण्डमाथि प्रहार गरेको छ । अब, राष्ट्र र राष्ट्रियता बचाउन सबै नागरिक, दल र दलका नेताले क्षणिक स्वार्थकेन्द्रित राजनीति, आयातित विचार र मौन समर्थनलाई त्यागेर दीर्घकालीन देशनीतिका रूपमा आफ्नो सभ्यतागत आत्माको रक्षा गर्न दृढ, निष्पक्ष र जागरूक हुनैपर्छ ।
जय मातृभूमि !
प्रतिक्रिया