- द्रोण अधिकारी, झापा
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा विधिवत रूपमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार निर्वाचन गतिविधि सञ्चालन गर्न शुक्रबारबाट निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो ।
जसअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर–३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ । यस कार्यालयको नेतृत्व मुख्य निर्वाचन अधिकृतका रूपमा झापा जिल्ला अदालतका मुख्य न्यायाधीश उमेशप्रसाद लुईँटेलको रहने छ ।
यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकाको कार्यालयमा रहेको छ । निर्वाचन सम्पन्न गर्नका लागि गोपी विश्वकर्माको नेतृत्वमारहने छ । क्षेत्र नम्बर-२ मा निर्वाचन अधिकृतको कार्यालय अर्जुनधारा नगरपालिकाको प्रशासनिक भवनमा राखिएको छ । क्षेत्र नम्बर-२ मा महेश खत्रीलाई निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ ।
तुर्सा हेमरम प्रतिष्ठान कन्काई नगरपालिका-१ मा झापा निर्वाचन क्षेत्र नम्बर-४ को निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । निर्वाचन अधिकृत भिमप्रसाद भुर्तेललाई निर्वाचन अधिकृत तोकिएको छ । दमक-८ मा रहेको अग्र्यानिक कृषि केन्द्रलाई झापा निर्वाचन क्षेत्र नम्बर-५ को निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । त्यसक्षेत्रको निर्वाचन अधिकृत बिदुरकुमार कार्की रहेका छन् ।
निर्वाचन कार्यालय झापाको अभिलेख अनुसार २०७९ मा जिल्लामा तीन लाख ३१ हजार ४४ पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र आठ अन्य गरी कुल मतदाताको संख्या छ लाख ६३ हजार तीन सय ११ जना रहेको थियो । २७ हजार तीन सय दुई पुरुष २२ हजार नौ सय २४ महिला गरी यसपटक ५० हजार दुई सय २६ जना मतदाता थपिएका छन् । त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन-२०७९ मा जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा दुई सय ८५ मतदान स्थल र सात सय ६६ मतदान केन्द्र थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन -८२ मा ४९ वटा मतदान केन्द्र थप गरिएको छ ।
प्रतिक्रिया