विदेशले त्यति राम्रा पाउँदा हामीकहाँ किन कुलङ्गार ?

विदेशले त्यति राम्रा पाउँदा हामीकहाँ किन कुलङ्गार ?


संसारभर महिलाले नेतृत्व गरेको अधिकांश देश वा संस्थाले प्रगति गरेका छन् । यसका धेरै उदाहरणहरू छन् ।

२०१७-२०२३ सम्म न्युजिल्यान्डकी प्रधानमन्त्री बनेकी ज्यासिन्डा आर्डर्न नेतृत्वलाई आधुनिक शासनको प्रभावकारी नमुनाका रूपमा लिइन्छ । कोभिड-१९ नियन्त्रणमा उनको स्पष्ट निर्णयका कारण न्युजिल्यान्डले न्यूनतम मानवीय क्षति ब्यहोर्नु पऱ्यो । क्राइस्टचर्च आतंकवादी आक्रमणपछि तुरुन्तै कडा बन्दुक नियन्त्रण कानुन लागू गरियो, जुन विश्वमै द्रुत कानुनी प्रतिक्रियाको उदाहरण बन्यो । ‘Wellbeing Budget’ मार्फत आर्थिक वृद्धिभन्दा नागरिकको मानसिक स्वास्थ्य र सामाजिक सुरक्षा केन्द्रमा राखियो । भ्रष्टाचारमा निकै कमी आयो । उनको नेतृत्व शैली सहानुभूतिपूर्ण, पारदर्शी र निर्णयसक्षम रहेको अन्तर्राष्ट्रिय मिडियाहरूले चर्चा गर्छन् ।

त्यस्तै, सन् २००५-२०२१ सम्म जर्मन चान्सलर रहेकी एन्जेला मर्केल युरोपको सबैभन्दा शक्तिशाली महिला नेतृका रूपमा चिनिन्छिन् । सन् २००८ को विश्वव्यापी आर्थिक संकट र युरोजोन ऋण संकटमा जर्मनीलाई आर्थिक रूपमा स्थिर राखिन् । भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चालिन् । उनको नेतृत्व शैली स्थिर, दीर्घकालीन र संस्थागत थियो ।

यसैगरी, ताइवानकी राष्ट्रपति साई इङ-वेनले २०१६–२०२४ सम्म सीमित स्रोतका बीच पनि उल्लेखनीय प्रशासनिक क्षमता देखाएकी थिइन् । कोभिड–१९ महामारीको सुरुआती चरणमै डिजिटल ट्र्याकिङ, पारदर्शी सूचना प्रवाह र सार्वजनिक विश्वास कायम गरिन् । चीनको दबाबका बाबजुद लोकतान्त्रिक संस्थाहरू सुदृढ राख्न सफल भइन् । सेमिकन्डक्टर उद्योगमार्फत रणनीतिक आर्थिक शक्ति निर्माण गरिन् । उनको नेतृत्व शैली प्रविधिमैत्री, राष्ट्रिय सुरक्षा–केन्द्रित थियो ।

फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनले २०१९ देखि २०२३ सम्म शासन गरिन् । ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेकी उनले नीति–केन्द्रित शासन गरिन् । उनले कोभिड–१९ संकटमा सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै अर्थतन्त्र सन्तुलनमा राखिन् । फिनल्याण्डको नेटो सदस्यता प्रक्रियामा निर्णायक भूमिका निर्वाह गरिन्, जसले राष्ट्रिय सुरक्षा संरचना नै परिवर्तन गऱ्यो । र उनले शिक्षा, श्रम अधिकार र लैङ्गिक समानतामा निरन्तर सुधार गरिन् ।

२०१९ देखि निरन्तर युरोपियन सेन्ट्रल बैंककी अध्यक्ष रहेकी क्रिस्टिन लगार्ड पनि सुधारवादी महिला हुन् । क्रिस्टिन लगार्ड राष्ट्र प्रमुख नभए पनि विश्वकै शक्तिशाली वित्तीय संस्थामध्ये एकको नेतृत्व गरिरहेकी छन् । कोभिड–१९ पछि युरोपेली अर्थतन्त्र स्थिर राख्न मौद्रिक नीतिमा लचकता ल्याइन् । मुद्रास्फीति नियन्त्रण र वित्तीय बजारमा विश्वास कायम राखिन् भने केन्द्रीय बैंकिङमा जलवायु जोखिमलाई नीतिगत बहसको केन्द्रमा ल्याइन् ।

तर, नेपालमा भने चीज ठिक उल्टो बगिरहेको छ । प्रधानमन्त्री भएको ४ महिनामा पनि सुशीला कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरिनन् । देशको शान्ति सुरक्षा ध्वस्त छ, अर्थतन्त्र लयमा छैन । नागरिक सरकार प्रमुख भनिएकी कार्कीको काम बिर्सनलायक छ ।

अर्को बिर्सनलायक उदाहरण महान्यायाधिवक्ता सविता भण्डारी हुन् । उनको आफ्नै कम्पनीले ‘डिम्ब तस्करी’ गरिरहेको छ । यो चार महिनामा उनले तीन अति विवादास्पद निर्णय गरिन् । जसबाट आफ्नै कम्पनी, बलात्कारको अभियुक्त र सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेका रविमाथिको अदालती परीक्षण नै रोकिन् ।

विदेशले त्यति राम्रा महिला पाउँदा हामी यहाँ किन कुलङ्गार परे ? महिलाहरू नेतृत्वमा पुग्नु एकदमै राम्रो र खुसीको कुरा हो, तर यी दुई पात्रका कारण त्यो खुसी कायम रहन सकेको छैन । एकपटक सोचौं त !

(अर्यालको फेसबुकबाट)